Font   font-increse   font-dicrese

सिनेमा समिक्षा : लालटिन
विष्णु शर्मा

विष्णु शर्मा
नोइर जानरामा फिल्म बन्न थालेको धेरै वर्ष भएको छैन । जति बने तिनले आवरण निर्माणमा बुद्धि चलाए । पटकथा, चरित्र चित्रण, द्धन्द्ध स्थापना र निष्कर्षको हिसाबले यस्ता फिल्म भुत्ते हुन्थे । उनीहरु बन्दुक र केटीलाई मात्र सुकिलो पर्दामा चित्रण गर्न चाहन्थे । तर, सहरमा रिलिज भएको फिल्म 'लालटिन'ले मोर्डन नोइर जानराका पछिल्ला घरेलु फिल्मको कमजोरीलाई सच्याउने प्रयत्न गरेको छ ।

 

 



लालबहादुर (दयाहाङ राई) भोजपुरदेखि काठमाडौं खाल्डो आइपुगेको छ । उसको ग्याङस्टर साथी म्याडी (निर्जन थापा)को काम सहरका चार गुण्डा समूहसँग मिलेर पैसा कमाउनु हो । साथीसँग मिलेर सोझो प्रवृत्तिको लालबहादुर त्यस्तै बन्नतर्फ लाग्छ । कसरी सोझो लालबहादुर नायक बन्छ ? नायकत्वका आधार के हुन् ? व्यवस्था कसरी ग्याङस्टर उत्पादन गर्दैछ । लालटिन यही संरचनामा फन्को मार्छ ।

यसअघि एकदिन एकरात र लभसभ निर्देशन गरेका देवकुमार श्रेष्ठ अलग फिक्सन विधामा डेब्यु गरेका छन् । मुलधारभन्दा भिन्न सोच राख्ने निर्देशकले यसमा सीमान्त पात्रको ग्याङस्टर अभ्युदय, राजनीति, प्रशासन, प्रहरी र नागरिकबीचको द्धन्द्धमा नोइर कथावस्तु घोलेका छन् । बन्दुक, केटी, रगत, हिंसा, तनाव, ट्रयाजेडी, मदिरा, चुरोट, शक्ति, षड्यन्त्र यो जानराका विशेषता हुन् । यद्यपी यसमा भावना, समाज र संघर्षका कथा बुनिएका छन् ।

लाल्टिन मिसन हो । डनगिरीलाई सिध्याउने नेपाल प्रहरीको अप्रेसन । मिसनले काठमाडौं खाल्डोलाई फन्को मारेको छैन बरु, बैंककमार्फत अन्तराष्ट्रिय मिसन थाल्छ । यस्तो लाग्छ, लाल्टिनको लाले नेपाली जेम्स बन्ड हो जसको मिसन अब डायस्पोरा बन्न थालेको छ । पछिल्ला अपराधको श्रृंखला हेर्दा डायस्पोराबाटै नेपालमा अपराध निर्देशित हुन थालेका छन् । नेपाली पात्रले भूगोल पार गरिसक्यो । नोइरा र बन्ड फिल्मको संरचना नै निश्चित उद्देश्य सफल तुल्याएर राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउनु हो ।

नेपाली ग्याङस्टर जानराले भन्न भुलेका दुई मुख्य पक्षलाई यसले सच्याएको छ । सेटिङ स्थापनामा लेखकले इमान्दारिता प्रस्तुत गरेका छन् । जसले गर्दा मुख्य पात्र, मनोदशा, द्धन्द्ध र भूगोलसँग संवेदना स्थापित हुन्छ । प्रायः नोइर फिक्सनको आधारभूत पक्षलाई भुलेर आवरण निर्माणमा केन्द्रित हुन्थे । लाल्टिनमा भूल छैन । यसले निष्कर्ष (रिजोलुसन) पक्षलाई सशक्त ढंगले चित्रण गरेको छ । प्रायःमा रिजोलुसन हुँदैन, भइहाले पनि सशक्तता कमजोर हुन्छ ।

पात्रको भीड बाबजुद पर्दामा ‘टाइम एन्ड स्पेस’ सिर्जना गर्न सक्नु महत्वपूर्ण छ । पात्रको लक्ष्य स्पष्ट छ । पटकथाले दर्शकलाई अन्त्यसम्म रहस्य तुल्याइरहन्छ । दयाहाङको अभिनयमा ‘स्टाटस–क्यो’ (यथास्थिती)  महसुस हुन्छ, नयाँपन अभिनयमा छैन यद्यपी, आफूले काँधमा बोकेको पात्रप्रति न्याय गरेका छन् । लिनियर शैलीमा बुनिएको पटकथाको ट्रीटमेन्टमा सुधार गर्नुपर्ने पक्ष छन् जसले गर्दा इनट्याक्स (लेख्य संरचना) अझै कसिलो बन्न सकोस् ।

ससपेन्सलाई अन्त्यसम्म लुकाउने कुरामा निर्देशकमाथि पटकथा लेखक हावी हुन्थे । लाल्टिनमा निर्देशक श्रेष्ठले फिल्मको मध्य जर्नीमा समेत दर्शकलाई इन्गेज तुल्याउन सकेका छन् जसले गर्दा द्धन्द्ध स्वभाविक लाग्न सक्छ । अर्कोतर्फ पात्रको भीड बढी भइदिँदा स्थापनाले बढी स्क्रिन टाइम लिएको छ जसले गर्दा क्राइसिस सिर्जनामा मिहेनत पुगेको छैन । पटकथाको ६० प्रतिशत समय सेटिङ स्थापनामै खर्च भएको छ । हुनुपर्ने ४० प्रतिशत थियो ।

अर्जुनजंग शाही, भानुप्रताप, प्रियंका कार्की, राज कट्वाल आफ्नो पात्रमा फिट छन् । बीसवर्षपछि शाहीको कमब्याकमा आदर्श पात्र महसुस हुन्छ जो स्वयम नेपाल प्रहरीका अफिसर थिए । शाहीमा अभिनयको सुक्ष्मता देख्न सकिन्छ । जनक बर्तौंला र भानुप्रताप डनमा जमेका छन् । राज कट्वालको डायमेन्सन चित्रण सुखद छ । पत्नी (केकी अधिकारी)सँग कट्वालको पात्रको सम्बन्ध स्थापना सुरुमै आवश्यक थियो । सम्बन्ध छुटिसकेपछि मात्र दर्शकले हेर्दा उनीहरुको जीवनको जर्नी कति रोमान्टिक वा जटिल थियो भन्ने पक्ष महसुस हुन पाउँदैन ।

लालटिन नेपाली व्याकरण र बजारलाई सन्तुलन मिलाएर बनाइएको उत्पादन हो जसभित्र मूलधारको बलिउड र हलिउडले पारिभाषित गरेजस्तो सबै तत्व समावेश छन् । थ्रील, रोमान्स, एक्सन, एड्भेन्चर, मेलोडी, ड्रामा सबै । यति हुँदाहुँदै केन्द्रिय द्धन्द्ध मुल लक्ष्यबाट विचलित छैन जुन लाल्टिनको सौन्दर्य हो । विनोद ढकालको संगीतलाई तन्नेरी दर्शकले रुचाउन सक्छन् । रक र फोक स्वादलाई संगीतमा बुन्न सक्नु उनको खुबी हो । यदि यी स्वाद तपाईंलाई प्रिय लाग्छ भने लाल्टिन हेर्न योग्य सिनेमा हो ।

सिनेमा : लाल्टिन
रेटिङ : ३/५
निर्देशक : देवकुमार श्रेष्ठ
कास्ट : दयाहाङ राई, निर्जन थापा, प्रियंका कार्की, अर्जुनजंग शाही, भानुप्रताप, जनक बर्तौंला
देश : नेपाल
निर्माता : एमसन पिक्चर्स

 


1 dislike 1

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.