Font   font-increse   font-dicrese

वर्ष समिक्षा २०७३ : समृद्धिको वर्ष
विष्णु शर्मा, मेरोसिनेमा

विष्णु शर्मा

कूल फिल्म रिलिज संख्या : ९०
कूल लगानी अनुमानित : ६० करोडभन्दा बढी
कूल प्रतिफल : ३० करोड अनुमानित
कूल असफल फिल्म : ८५ प्रतिशत
कूल बजार क्षमता : १ सय १० करोड नेरु
कूल अन्तराष्ट्रिय आम्दानी : झन्डै ६ करोड
कूल सफल वा असफल : २ ब्लकबस्टर, ४ सुपरहिट र १० औषत

माथिको अंकगणितले नेपाली फिल्मको वर्ष २०७३ प्रतिविम्वित गर्छ । यसलाई एक वाक्यमा समृद्धी सूचक वर्षको रुपमा लिन सकिन्छ । बक्सअफिस र कथा भन्ने शैली दुबै कोणबाट वर्ष लाभदायक रह्यो । परिवर्तनका जमर्को भए, बजार ल्यान्डस्केप बदलियो, डायस्पोरा प्रभावशाली बन्न थाल्यो, स्टेरियोटाइप मनोविज्ञानमा गम्भिर धक्का लाग्यो, अग्र्यानिक कथाको खोजी सुरु भयो, घरेलु फिल्मको प्रभाव बक्सअफिसमा जबर्जस्त स्थापित भयो । 
 
 
 
 
 
पहिलोपटक नेपाली फिल्मको बजार आयतनले सय करोड नाघेको छ । बजारसँगै घरेलु सिनेमाले कथावाचन परम्परामा गाम्भिर्यता दर्शाउन थालेको छ । छक्का पञ्जाको १३ करोड ग्रस होस् वा सेतो सूर्य र कालो पोथीको अन्तराष्ट्रिय उचाइ, यी दुबै शैलीका फिल्मले नेपाली राष्ट्रियता र कलालाई विस्तार गरिदिए । न्यूयोर्क टाइम्सको उत्कृष्ट नौ सूचि किन नहोस्, सनडान्स, भेनिस, टोरन्टो, फ्रिवर्ग, सिंगापुरजस्ता ठूला फेस्टिभलको माध्यमबाट नेपालले प्रसिद्धीको प्वाँख थप्यो । 
 
राजनीति र समाजले नेपाली फिल्म र संगीतलाई निर्देशित गरिरहेको अवस्था छ । परदेशी, छक्का पन्जा, साइँली गीत सबैको मुख्य द्धन्द्ध वैदेशिक रोजगारीका पाटा हुन् । रेमिटेन्स नेपाली समाजको न्यारेटिभ हो, यो कथा बुनिएका फिल्म र संगीतले दर्शकीय मन चिमोटे । कथा भन्ने शैलीभन्दा पनि एजेन्डा र कथाले फिल्म हिट रहे । किनभने, समाज र राजनीतिजस्तै नेपाली फिल्म पनि संक्रमणमा छ । हाम्रो दृश्यभाषा, फिल्म ज्ञान र बजारले आकार प्राप्त गरिसकेका छैनन् । विश्व फिल्मजस्तै नेपाली सिनेमा पनि कथा भन्ने शैलीलाई लिएर क्रसरोडमा छ । निराश हुनुपर्दैन, हामी सहि दिशातर्फ उन्मुख छौं, तर हामी कत्तिको प्रतिबद्ध हुनेछौं परिवर्तनका लागि भन्ने यक्षप्रश्न छ । 
 
सेतो सूर्य र कालो पोथीको प्रयत्नले नेपाली फिल्मको परम्परागत बलिउड पाठशालामा गम्भिर धक्का लाग्यो । अन्वेषण र नवीन सोच बोकेका यी दुई क्राफ्टको बक्सअफिस प्रदर्शन र समिक्षाले घरेलु कथावाचनमा ट्रेन्डसेट अवश्य गरेको छ । यो प्रयत्न पचास वर्षदेखि हामीले फलो गरिरहेको भारतीय नाट्य शाष्त्ररुपी स्टोरी टेलिङमाथिका धक्का हो । परिवर्तनको श्रीगणेश हो । क्राफ्टसँगै कालोपोथीको ३ करोड ग्रस व्यापारले बदलिएको दर्शकीय फिल्म सोचाइ र स्वादलाई व्याख्या गर्छ । 
 
 
 
 
 
वर्ष २०७३ को नेपाली फिल्म मनोविज्ञान बलिउडलाई पछ्याउने वा छाड्ने भन्ने वरिपरि फन्को मा¥यो । किनभने, झन्डै १० प्रतिशत फिल्मको नियत वा शैलीले बलिउड सूत्रलाई अस्वीकार गरिदिए । यो सीधै बलिउड हेजेमोनी (सांस्कृतिक प्रभुत्व)लाई चुनौति थियो । बलिउड मार्कामा बुनिएका अधिकांश फिल्म फ्लप रहे । बरु, फिल्मभित्र मानवीय मूल्य र मान्यताको खोजी सुरु भयो । जात्रा, सेतो सूर्य, कालोपोथी, डाइङ क्यान्डल, बिजुली मेसिन, लभ सासाजस्ता फिल्मले संवेदना र मूल्यलाई उत्खनन गरे ।
 
हाम्रो थ्रेट पुरानै हो । हामीसँग प्रशस्तै कथा छन्, भन्न चाहन्छौं तर, भन्न सक्दैनौं । हाम्रो आंशिक कथा हलिउडको डक्टर स्ट्रेन्जले भनिदियो, एभरेस्टले भनिदियो, बलिउडको बेबीले भनिदियो, राहुल बोसको पूर्णले भनिदियो तर, हामीले भन्न सकेनौं । वर्ष २०७३ को मुख्य द्धन्द्ध कथालाई कसरी भन्नेमै केन्द्रित रह्यो अर्थात पटकथा लेखनको सुधार प्रयत्न । हामीले विदेशमा फिल्म खिच्यौं, चिल्ला सडक, लिमोजिन गाडी, गगनचुम्बी भवन र सुकिला मानिस देखायौं तर, दृश्यभाषाका आधारभूत अवयवलाई वास्ता गरेनौं । व्याकरणको आधारभूत अन्तर्यमा चुक्यौं । यो अन्तर्य संवेदना, व्याकरण, साहित्य, समाज र सोच हो । हामीले आवरण कपि ग¥यौं तर आफ्नै आवाज उरालेनौं । यी सबै पक्ष कथा भन्ने शैली र लेख्य संरचनामा निर्भर हुन्छ । 
 
कुनैबेलाका लिजेन्ड तुलसी घिमिरेलाई दर्पण छायाँ २ मा दर्शकले गरिदिएको अस्वीकार्यताको गहन अर्थ छ । यो अस्वीकार्यता उनले दुई दशकअघि सापटी लिएको बम्बैया दर्शनको अस्वीकार्यता हो । पुरानो डुङ्गाको असफलता अन्तर्य भुलेर आवरण कपि गर्दा उत्पन्न अस्वीकार्यता हो । यद्यपी, बलिउड स्कुलकै भएपनि छक्का पन्जाको स्वीकार्यता त्यसको बलियो सेटिङ हो । कथा भन्ने शैली होइन, त्यसले निर्माण गरेको घटना, परिस्थिती, पात्र र द्धन्द्धको सेटिङलाई दर्शकले रुचाइदिए । जात्रा त्यसको संरचनामा बुनिएको सेटिङकै प्रारुप हो । 
 
कालो पोथी र सेतो सूर्यको सेटिङ र क्राफ्ट अहिलेसम्मकै उपलब्धी मध्ये मान्न सकिन्छ । वर्ष २०७३ मा नेपाली फिल्मले बल्ल सेटिङ, स्क्रिप्टको मूल्य र क्राफ्ट बुझ्न थालेको छ । हुन त, बजार यति प्रभावशाली बनिरहेको छ कि, बजारले आफूमैत्री उत्पादन खोज्छ अर्थात, फिल्मको सिर्जनात्मक पक्षलाई निर्देशित गरिरहेको छ । बजार र सिर्जनाको दबाबमा उत्पादन हुने अन्यौल सोचका हाइव्रिड फिल्म झन्डै ७० प्रतिशत छन् । यतिबेला दुई खाले फिल्म निर्माणको ट्रेन्ड देखिएको छ ः पपलुर फिल्ममेकिङ र प्योर फिल्ममेकिङ । 
 
यी दुई ट्रेन्डले फिल्मलाई आत्मसात गर्ने दुईखाले वर्ग निर्माण गरिरहेको छ । एकथरी, फिल्मको मानक बक्सअफिस सफलता मान्छ, प्रतिस्पर्धा रुचाउँछ र बजारको पछि लाग्छ । अर्कोथरी, यी मूल्यको विरुद्ध उभिएर विशुद्ध कथा भन्न रुचाउँछ । अघिल्लो सोचको नेतृत्व छक्का पन्जा टीम वा निश्चल बस्नेतले गरिरहेका छन् र दोस्रो सोचको नेतृत्व दीपक रौनियार र मीनबहादुर भाम गर्दैछन् । सांकेतिकरुपमा यी दुई क्लास फिल्मलाई बुझ्ने सिद्धान्तलाई लिएर विभाजित छन् । नेपाली फिल्मको अहिलेको अन्यौलता र द्धन्द्ध नै यही दुई वर्गबीचको सोच हो । अघिल्लो समूहले मूलधार पछ्याउँछ र पछिल्लो वैकल्पिक न्यारेटिभको वकालत गर्छ र विश्व फिल्मसँग प्रतिस्पर्धा गर्न रुचाउँछ । 
 
 
 
 
 
वर्ष ०७३ मा बलिउडका सुल्तान र दंगलले १० करोड ग्रसभन्दा बढी पैसा नेपालबाट लगे । बलिउडका अन्य फिल्मले व्यापार गरेनन् । यसपटक नेपाली बक्सअफिसमा हलिउड प्रभावशाली बन्यो । जंगल बुकले करोड बढी कमायो, डक्टर स्ट्रेन्ज, बेबी बोसले पैसा छापे । हलिउड किन प्रभावशाली बन्दैछ ? मुख्य कारण छन् : अधिकांश नेपाली मध्यमवर्गमा रुपान्तरण हुँदैछन् जसको आकर्षण अंग्रेजी भाषासँग हुन्छ । मोफसलमा मल्टिप्लेक्स निर्माण हुँदैछन्, यसले फिल्म हेर्ने संस्कृति विकास गर्दैछ र हलिउड पहुँच सजिलो भैदियो । नाकाबन्दीपछि नेपालीमा भारतविरोधी भावनाको विकास पैदा भयो जसको फाइदा हलिउडलाई पुग्यो । 
 
नेपाली सिनेमा पहाडबाट मधेश झरेको छ । मधेश आन्दोलन र पहिचानको राजनीतिको एउटा किस्सा हो यो । कैंयन फिल्म मधेशी भूगोलमा सुट भैरहेका छन् भने कतिपय छायांकन तयारीमा छन् । लामो समयदेखि पर्दामा मनोवैज्ञानिक कब्जा जमाइरहेको पहाड विस्तारै हट्दैछ । बरु, अब हिमाल र मधेशको सौन्दर्य पोतिँदैछ । जातिय कन्टेन्टका फिल्म धमाधम बनिरहेका छन् र पात्र एवं चरित्रमा आदिवासी सौन्दर्यको निर्माण उक्लँदो छ । दयाहाङ राई उक्त प्रवृत्तिका एक पात्र हुन् । 
 
कस्तो होला २०७४ ? 
मुलुक संविधान कार्यान्वयनको चरणतर्फ उन्मुख छ । वर्ष २०७४ भित्र तीन चरणको चुनाव गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जसले गर्दा देशको मनोविज्ञान चुनाव हुनेछ । संविधान कार्यान्वयनको अर्थ चुनावमार्फत संघियता हुनु हो । विकेन्द्रित अवधारणा सुरु भएपछि फिल्मको संरचना र कथ्य शैलीमा नयाँ आयाम र क्षितिज खुल्न सक्छन् । जातजाति, भाषाभाषीका फिल्मको प्रभाव आगामी वर्ष बढ्ने अनुमान गरिएको छ । यसो हुनुमा मुलुक संघियतामा जानु पनि हो । 
 
नेपाली फिल्मले बलिउडलाई छाड्ने वा आत्मसात गर्ने द्धन्द्धात्मक मनोविज्ञानलाई फन्को मार्नेछ । आगामी वर्ष मुलधार र बिग बजेटका फिल्मको संख्यामा बढोत्तरी हुने अनुमान छ । मध्यम बजेट र युरोपेली संरचना बोकेका फिल्म नयाँवर्षमा रिलिज हुने त छैनन् तर छायांकनमा जानेछन् । मुलधारका फिल्मले डायस्पोरामा अन्तराष्ट्रिय बजारका सम्भावना खोतल्नेछन् । साथै, कला शिल्पले युक्त फिल्मले फेस्टिभल र घरेलु बजारसँगै आफूलाई स्थापित तुल्याउन प्रयत्न गर्नेछन् । 
 
२५ लाखभन्दा कम बजेटका फिल्म वर्ष २०७४ मा लोपजस्तै हुनसक्छन् । किनभने, नेपाली फिल्मको बजेट अब करोड क्रस भैसक्यो, जसको प्रभाव बजार, प्रतिस्पर्धा, माग र आपूर्तिमा अवश्य पर्नेछ । आउँदो वर्ष प्रगतिको ग्राफ बजारको प्रवृत्ति, संरचना र शैलीमा निर्भर हुनेछ । पछिल्लो समय नेपाली फिल्मको कलामाथि बजार यति प्रभावी छ कि, त्यसले सौन्दर्य शाष्त्रको प्रगतिलाई छायाँमा पारिदिएको छ । यसको सन्तुलनकारी उपाय भनेको, मुलधारकै फिल्ममार्फत आफ्ना मौलिक आवाज भन्नु हो, आयातित लार्जर द्यान लाइफका कन्टेन्ट होइन । 
 
वर्ष ०७४ नेपाली सिनेमाले भारतीय हेजेमोनीलाई फन्को मार्छ वा सम्बन्ध विच्छेद गर्छ, यो प्रश्नको उत्तरभित्र भविष्य लुकेको छ । 
8 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.