Font   font-increse   font-dicrese

फिल्म समिक्षा : लोगन
विष्णु शर्मा, मेरोसिनेमा

 विष्णु शर्मा

'लोगन' हेरेपछि लाग्दैछ, सम्भवतः हलिउड अब फिल्मभित्र आत्मा खोज्दैछ । मार्टिन स्कोरसिजले घोषणा गरेजस्तो फिल्मको मृत्यु भैसकेको चाहिँ होइन कि ? ह्युग ज्याकम्यान स्टारर ड्रामाले मार्भल सुपरहिरोलाई नयाँ जीवन दिएको छ, पूर्णतः ताजा । निर्देशक एवं पटकथा लेखक जेम्स म्यानगोल्ड बधाइका पात्र छन् । 
 
 
 

 
 
लोगन एक्स–मेनको दसौं श्रृंखला हो । वुल्भरिनको रुपमा तेस्रो र अन्तिम । हामीले अघिल्ला मार्भल फिल्ममा टाइम ट्राभलको कथादेखि लुकेका राजनीतिक र सामाजिक रहस्य देख्यौं । तर, लोगनले सुपरहिरोभित्र मानवीयकरणको कथा पेश गर्छ । यहाँ वुल्भरिनको रुपमा लोगन सुपरहिरो विश्वसनिय छ, मान्छे र सुपरहिरो दुबै यथार्थ । दर्शकलाई सुपरहिरो फ्यान्टासी लाग्दैन, बरु वास्तविक लाग्छ ।
 
सन् २०२९ को सेटिङ जतिबेला म्युटन्ट अस्तित्वको संघारमा छन् । चाल्र्स जेभियर (प्याट्रिक स्टेवार्ट)को स्कुलिङ अब रहेन, उनी अहिले लोगन (ह्युग ज्याकम्यान)सँग मेक्सिको सीमानेर लुकेर बसेका छन् । उनीहरु मृत्यु र जीवनको बीचमा छन् । वुल्भरिन यसपटक बेग्लै मिसनमा हिँडेको छ । उसलाई अमानवीय एक्स–मेन प्रोग्राम ध्वस्त गराउनुछ । एक्स–मेन कार्यक्रम जहाँ बालबालिकालाई रासायनिक र भौतिक विधिबाट लडाकुको रुपमा उत्पादन गरिन्छ र सभ्यताविरुद्ध लड्न सिकाइन्छ । लोगनको मिसन अझै सशक्त बन्छ जब लाउरा (डाफ्ने कीन)को प्रवेश हुन्छ । 
 
द्धन्द्धका अनेकौं तह सिर्जना गरिएको छ जहाँ दर्शकले प्रत्येकभित्र आफूलाई महसुस गर्न सक्छन् । मुख्य पात्र आफैमा रोगी र फ्रस्टेट छ । परिवार सम्हाल्नु छ र उसको पछाडि लागेको छ राज्य सत्ता । लोगन इमोसन जर्नी पनि हो जहाँ भावनाका लहरसँग तैरन मजा आउँछ । ज्याकम्यानले १७ वर्षदेखि यही भूमिकामा आफूलाई प्रस्तुत गर्दै आइरहेका छन् र फिल्मको आत्मा उनै हुन् । सुरुदेखि अहिलेसम्म आइपुग्दा उनी अझै खारिएको स्पष्ट देखिन्छ । 
 
 
 
 
 
एक्स मेन सिरिजका दर्शकले लोगनमा अघिल्लाजस्तै पात्र अपेक्षा गर्नु ठीक हुँदैन । यसपटक प्याट्रिक ९० वर्षको बुढा भैसके । उनको दिमाग र शारीरिक अवस्था प्रतिकूल हुँदैछ । लोगन भाडामा लिएको लिमोजन लिएर रक्सी पिउँछ र प्याट्रिकको स्वास्थ्य अवस्थालाई नियन्त्रणमा लिन लडाइ पनि लड्छ । पात्रहरु फ्रस्टेड महसुस हुन्छन् तर कथाको माग यही हो । यी पात्रमा दुबैले ज्यान भरेका छन् । लोगनको फलामे पन्जाकै कारण फिल्मले बढीभन्दा बढी हिंसाको अपेक्षा गर्छ । लाउराको रुपमा देखिएकी डेब्यु बाल अभिनेत्री डाफ्नेले आफ्ना समकालिन एक्टर्सलाई चुनौति पस्किएकी छन् । 
 
कुन विशेषताले लोगनलाई अघिल्ला सुपरहिरो सिनेमाभन्दा भिन्न तुल्यायो, मुख्य पक्ष निर्देशक जेम्स म्यानगोल्डको कथा भन्ने शैली महत्वपूर्ण हो । उनले यति कसिलो पटकथामा कथा भनेका छन्, जहाँ समस्याका लागि ठाउँ छैन । सुपरहिरोभित्र मानवीयता खोज्न सक्नुमा उनले अर्को प्रशंसनीय कार्य गरेका छन् जसले गर्दा क्राफ्टप्रति दर्शकीय विश्वसनियता स्थापित छन् । क्राफ्ट र सिनेमा सौन्दर्य दुबै पक्षमा म्यानगोल्डको प्रयत्न केन्द्रित छ । 
 
ज्याकम्यान रुचि, ध्यान र सशक्तता मिसिएको अभिनय फिल्मको दर्शनीय पक्ष हो । अभिनेत्री डाफ्नेको एक्सन र भावनात्मक दृश्यले दर्शकलाई गहिराइमा लैजान्छ । बाबु र छोरीजस्तै अव्यक्त प्रेमलाई निर्देशकले गजबले चित्रण गरेका छन् । 
 
यो फिल्म इन्जोए गर्न तपाईं सुपरहिरोको फ्यान हुनु जरुरी छैन । ज्याकम्यान, स्टेवार्ट र किनको सशक्त अभिनय हेर्न लोगन हेर्नुपर्छ । लोगन हेरेपछि मलाई लाग्यो : स्क्रिप्ट लेख्नुछ भने सिक्वेल सोचेर नलेख्नूस ।  
 
फिल्म : लोगन
रेटिङ : ४/५
अवधि : २ घन्टा १५ मिनेट
कास्ट : ह्युग ज्याकम्यान, प्याट्रिक स्टेवार्ट, ड्याफ्ने कीन
निर्देशक : जेम्स म्यानगोल्ड
वितरक : ट्वेन्टिथ सेन्चुरी फक्स
38 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.