Font   font-increse   font-dicrese

लुट २ : हिरो भर्सेस हिरो (फिल्म समिक्षा)
विष्णु शर्मा

 विष्णु शर्मा

चारवर्षमा देश ठूला परिघटनाको साक्षी बन्यो । भूकम्प, नाकाबन्दी, संविधान जारी, लम्बिँदो संक्रमणकाल, अपराधको राजनीतिकरण भए । अहिले लुटको दोस्रो भाग रिलिज भएको छ । बर्तमान समाज र राजनीतिको मनोदशा र परिस्थिती बाँचिरहेका पात्र एवं द्धन्द्धको चित्रण 'लुट २' ले गर्छ । निश्चल बस्नेत निर्देशित सिनेमा भूकम्प पछाडि र नाकाबन्दी कायमै रहेको कालखण्डको रेप्लिका हो । 
 
 
 
 
बदला 'लुट २' को केन्द्रिय द्धन्द्ध हो । बैंक चोरेर साथीहरुलाई धोका दिएको हाकु काले (सौगात मल्ल)को ग्याङ 'लुट २' मा नाकाबन्दीको फाइदा उठाउँदै कालोधन कमाइरहेको छ । गोफ्ले (दयाहाङ राई) ग्याङ जेलमा छ तर कसरी ऊ जेलबाट उम्किएर आफूलाई धोका दिने हाकु कालेसँग बदला लिन्छ ? बदला लिँदा कसको जित हुन्छ ? बितेको चारवर्षमा फिल्मका मुख्य पात्रको जीवन र सोचमा कस्तो विकास भयो ? यी पक्ष थाहा पाउन सिनेमा हेर्नुपर्छ । 
 
'लुट २' सिक्वेल निर्माणको सुखद प्रयत्न हो । टाइम एन्ड स्पेसमा विशेष सतर्कता अपनाउँदै लेखक एवं निर्देशक बस्नेतले सिक्वेल लिगेसीलाई कायमै राखेका छन् । बदलिँदो समाज, राजनीति, बजार र रुचिलाई चारवर्षको अन्तरालमा ग्याप हुन दिइएको छैन । यसबीच पात्रको विकास र सोचमा परिपक्वता देखिएको छ । उनीहरुको जीवन विष्णुमतिको किनारबाट महल पुगेको छ । अंग्रेजी मोह पलाएको छ । लुट २ का पात्र जति निर्दयी छन्, उति प्रेमिल पनि । मल्टिडायमेन्सन (बहुचरित्रकरण) स्थापना प्रिय लाग्छ । 
 
निर्देशकीय जोड पात्र ट्रीटमेन्टमा ज्यादा देखिन्छ । 'नुसेन्स' खोतल्दै पात्रभित्र मानवीयता पस्कने प्रयत्न छ । तर, सिक्वेलको विशेषता भनेको पात्र र द्धन्द्ध स्थापना घरिघरि गर्न जरुरी हुँदैन । अघिल्लो भागमा मुख्य पात्रको लक्ष्य बैंक चोर्नु थियो । भाग २ मा फिल्मको लक्ष्य बदला लिनुमा रुपान्तरित छ । तर, केन्द्रिय द्धन्द्ध फिल्मभित्र उति बलशाली छैन । मुख्य पात्रबीच जुन उचाइमा द्धन्द्धको सघनता अपेक्षा गरिएको त्यो पुरा छैन । जसले गर्दा भावना प्रवाह पर्याप्त छैन । पछिल्लो समय विश्व सिनेमा गुड भर्से गुड अर्थात ब्याड भर्सेस ब्याड हुन थालेको छ । 'लुट २' गुड भर्सेस गुड हो । लुट्नु हिरोइज्म होइन तर, 'लुट २' भित्र पात्रलाई ग्रे सेडमा स्थापित गरिएको छ । पात्र श्यामश्वेत लाग्छन् । उनीहरु नकरात्मकताबाट सकरात्मकतातर्फ रुपान्तरण हुँदैछन् । 
 
जसले गर्दा ‘लुट २’ लाई हिरो भर्सेस हिरो भन्न सकिन्छ । किनभने, दर्शकीय इमोसन दुबै ग्याङका सदस्यको निजत्वसँग पनि गाँसिएको छ । अर्थात, पात्रसँग हिंसा पनि छ र प्रेम पनि ।
 
 
 
 
ट्वीस्टले दर्शकभित्र थ्रील र इन्गेज सिर्जना गर्छन् । पात्र स्थापनाको सफलता उनीहरुको रिल जीवनसँग दर्शकको रिएल जीवनको सम्बन्ध छ वा छैन भन्ने कुराले पुष्टि गर्छ । न्यारेटिभको मुख्य अपेक्षा भनेको पनि फिल्मसँग दर्शक अन्तक्रियामा सहभागि हुनुपर्छ भन्ने हो । 
 
केही दृश्यलाई लम्बाइएको छ जसमा कटौती गर्दा केही फरक पर्दैन । जम्प कटिङयुक्त सम्पादनले दर्शकलाई पटकथाको गतिसँग विच्छेद गराएको देखियो । बलियो क्राइसिस नहुँदा क्लाइमेक्स उचाइमा स्थापित छैन । पन्चलाइन, क्यामेरा र पाश्र्वध्वनी 'लुट २' का नायक हुन् । पात्र र सेटिङको डिटेलिङ उतार्न निर्देशकीय प्रयत्न केन्द्रित हुँदाहुँदै कतिपय थलोमा निरन्तरतामा अवरोध छ । सुरुमा फिल्म ढिलिएपनि हाकु काले र गोफ्ले ग्याङको इनकाउन्टरपछि द्धन्द्धको सघनता आवश्यक थियो । 
 
'लुट २' यस्तो फिक्सन हो जहाँ दिनदहाडै बैंक चोरी हुन्छ, खुला सडकमा भागदौड हुन्छ तर, त्यहाँ राज्य (प्रहरी) भूमिका हुँदैन । पुलिस नै चाहिन्छ भन्ने पनि होइन, दृश्यको स्वभाविकता सिर्जना गर्न आवश्यक हुन्छ । फिल्म ग्याङस्टर कथा हो जहाँ बदला लिनका लागि धेरै उपाय रचिएका छन् । हाफटाइम पछाडि हामीलाई कताकता पश्चिमा 'नियो नोइर'को प्रभाव महसुस हुन्छ । 
 
क्लाइमेक्स र समाप्ती 'लुट २' को सशक्तता हो । हाकु कालेलाई पुनः स्थापित गर्दै निर्देशकले तेस्रो सिक्वेलका लागि बाटो खुला गरेका छन् । फिल्मको समाप्ती खुला ढंगले गरिएको छ जसको प्रहार देश चलाउने जिम्मा लिएका दलका नेताप्रति लक्षित छ । अपराधको राजनीतिकरणको यो ज्वलन्त दृश्य हो । यो खुला समाप्तीले हाकु काले पात्रको राजनीतिक नेक्ससलाई गजबले स्थापित गरेको छ । 
 
 
 
 
पुरुषोत्तम प्रधानले चलायमान छायांकन शैली फलो गरेका छन् । कतिपय दृश्यमा जटिल लाग्ने र क्यारेक्टर महसुस हुने सट् पस्किएका छन् । पाश्र्वध्वनीको काम सुखद छ । लुट ब्याकरणीय संरचनामा उभिएको सिनेमा हो जसप्रति निर्देशक बस्नेत बधाइका पात्र छन् किनभने, फिल्मलाई व्याकरणीय संरचनासँग जोड्ने श्रेय उनलाई जान्छ । 'लुट २' साहित्यको नजिक भएको सिनेमा हो । द्धन्द्धको उचाइ नपुग्नु, भावनाको प्रवाह नहुनु ट्रीटमेन्टका अधुरा पाटा हुन् तर, व्याकरण यसको स्तम्भ हो । 
 
यदि तपाईं 'लुट' सिरिजको फ्यान हुनुहुन्छ, नियो नोइर र क्राइम थ्रीलर रुचाउनुहुन्छ भने लुट २ योग्य सिनेमा हुनसक्छ । बैंक चोर्नुपर्छ, डन बन्नुपर्छ र अपाच्य बोल्नुपर्छ भन्नेमा व्यक्तिपिच्छे धारणा होलान् तर, लुट २ ले नेपाली समाज चित्रण गरेको हो । त्यो चित्रणले दृश्यभाषा ग्रहण गरेको हो । लुट भाग एकभन्दा लुट २ उति उचाइमा नभएपनि, अवश्य पनि लुट २ एउटा पर्फेक्ट सिक्वेल चाहिँ अवश्य हो । 
 
रेटिङ : ३/५
निर्देशक एवं पटकथा : निश्चल बस्नेत
कास्ट : सौगात मल्ल, दयाहाङ राई, कर्म, प्रतीकराज न्यौपाने, प्रवीण खतिवडा, बिपिन कार्की, कामेश्वर चौरासिया
लम्बाइ : २ घन्टा १८ मिनेट
निर्माता : प्रिन्सेस मूभिज र ब्ल्याक हर्स पिक्चर्स
19 dislike 151

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.