Font   font-increse   font-dicrese

फिल्म समिक्षा : डाइङ क्यान्डल
विष्णु शर्मा, मेरोसिनेमा

 विष्णु शर्मा

सरल कथामा बुनिएको सुन्दर प्रयत्न हो फिल्म निभ्न लागेको दियो । सन् १९९८ को समय, जनजाति बहुल पहाडी बस्ती र गणतन्त्र अगाडिको राजनीतिक भूगोल सेटिङ हो । यथार्थवाद यसको दर्शन हो जसभित्र वर्गीय, लैंगिक, भौतिक र मानवीय द्धन्द्ध समेटिएका छन् । २ घण्टा लामो सिनेमालाई अर्धसहरी दर्शकले रुचाउन सक्छन् । किनभने, यो वर्गका दर्शकसँग पात्रको जीवन गाँसिएको छ ।  
 
 
 
 
 
नारीप्रधान फिल्मको केन्द्रिय पात्रसामु प्रेम र धनमध्ये कुनै एकलाई छान्नुपर्ने विवशता छ । बुवाको निधनपछि सबै जिम्मेवारी काँधमा बोकेकी मुख्य पात्रले रोगी आमा र प्यारो भाइ स्याहार्नुछ । विहेका लागि आइपर्ने सामाजिक र पारिवारिक दबाब झेल्नुछ । तर, विहे नगर्ने मुख्य पात्रको अडान छ । गरिबी, भाइ र आमाप्रतिको प्रेम बाबजुद के उनले विहे गर्लिन् ? उनको अडानमा प्रेमको जित हुन्छ या हार ? 
 
निर्देशक नरेश केसीको लिनियर न्यारेटिभमा पात्र स्थापना, सेटिङ निर्माण र सम्बन्ध विकासको डिटेलिङ उतारिएको छ । यो कथा वाचनको ट्रीटमेन्ट प्रयत्नले दर्शकलाई अन्त्यसम्म इन्गेज गराउँछ र भावनाको प्रवाह पनि । खासगरि, पहाडी भूगोलको गरिब परिवारको यथार्थवादलाई सुक्ष्मतामा पोख्न सक्नु निर्देशकीय खुबी हो । साँघुरो फ्रेममा पात्रको भीड, चाहना र द्धन्द्धलाई उन्न सक्नु डाइङ क्यान्डलको सशक्तता हो । 
 
तर के, पृष्ठभूमि निर्माण मात्र दृश्यभाषाको सशक्तता हो त ? के फिल्मसँग अन्य सौन्दर्य हुँदैनन् ? फिल्मभित्र यथार्थ प्रस्तुत गरिनुपर्छ वा वास्तविकता ? के फिल्म काल्पनिक यथार्थ बन्न सक्दैन ? डाइङ क्यान्डल हेरेपछि प्रश्नहरुको स्वभाविक उठान हुन्छ । किनभने पछिल्लो समय नेपाली फिल्ममा एउटा प्रवृत्ति देखिएको छ, पृष्ठभूमि निर्माण हुने वित्तिकै फिल्मको समाप्ती । पृष्ठभूमि स्थापना भैसकेपछि फिल्मको सुरुआत हुने हो तर, यहाँ, पृष्ठभूमि निर्माण गर्दैमा फिल्म सकिन्छ । 
 
 
 
 
यहाँ पृष्ठभूमि निर्माणको अर्थ : सेटिङ स्थापना, सम्बन्ध विकास र पात्र स्थापनातर्फ औंल्याउन खोजिएको हो । यी तीन कुरा पुरा भएपछि मात्र वास्तविक फिल्म सुरु हुने हो । तर, डाइङ क्यान्डलको क्लाइमेक्स सुरु हुने बेलासम्म निर्देशकीय प्रयत्न पृष्ठभूमि निर्माणमै केन्द्रित छ । यसको अर्थ, पटकथामा समस्या हो । क्राइसिस सिर्जना नगर्दै फिल्म क्लाइमेक्समा जम्प गरेको छ जसले गर्दा द्धन्द्ध जुन उचाइमा आवश्यक पथ्र्यो, त्यो हुन सकेको छैन । हामी यहाँ संरचनाको बहस गरिरहेका छौं । 
 
यदि पटकथालाई संरचनामा उभ्याइन प्रयत्न गरिएको भए इमोसन ट्रान्सफर गहिराइमै हुनसक्थ्यो । निर्देशकले आवश्यक द्धन्द्धविनै सम्बन्ध विकास र पंचलाइनकै सहारामा इन्टेन्सिटी (भावनाको प्रवाह) गरेका छन् । त्यो प्रवाहमा रियालिज्म गाँसिएको मात्र हो । तर, नेपाली फिल्मलाई आफ्नै खाले न्यारेटिभ स्टाइल र स्ट्रक्चरकै जरुरी हो । 
 
फिल्म लक्ष्यमा स्पष्ट छ । तर, यससँग उक्त लक्ष्य प्राप्त गर्न आवश्यक द्धन्द्ध अभाव छ । जुन कारणले क्लाइमेक्स सुरुआत हुन्छ, त्यो कारणसँग सेटिङको सम्बन्ध छैन । किनभने, द्धन्द्ध सेटिङभित्रकै तत्वबाट निर्माण हुने हो । फिल्मभित्र जुन कारणलाई युटर्नको रुपमा चित्रण गरिएको छ, त्यो आकस्मिकता हो । उत्कर्षको कारण उक्त घटनालाई मानियो भने, त्यस अगाडिको फिल्मको अर्थ के ? 
 
 
 
 
 
सिर्जना सुब्बा र लाक्पा सिंगे तामाङको दिदीभाइ केमेस्ट्री गजब छ । सौगात मल्ल र अर्पण थापा पात्र फिट छन् । मुख्य पात्रले नेपाली चलचित्रमा महिला पात्रलाई देखाइने गरिएजस्तो स्टेरियोटाइप तोडेको छ । निर्देशकले बाह्य नभएर आन्तरिक द्धन्द्धलाई केन्द्रिय संघर्ष बनाएका छन् जसले गर्दा फिल्मको ग्राभिटी सबै सिर्जनामाथि लक्षित छ । उक्त गुरुत्वाकर्षणलाई सिर्जनाले कुशल ढंगले निर्वाह गरेकी छन् । 
 
निर्देशकले साना विम्व र ब्याकग्राउन्डमा बज्ने नारायण गोपालको चर्चित गीतको माध्यमले भावना प्रवाह गरेका छन् । छायांकार रविन आचार्यले स्थिर र एकल सट्हरुमार्फत भिजुअल साइकोलोजीलाई गहिराइमा लैजाने प्रयत्न गरेका छन् । यसकारण, डाइङ क्यान्डल तत्कालिन नेपाली नेपाली समाज, अर्थतन्त्र, राजनीति र मनोविज्ञान बुझ्ने आँखीझ्याल पनि हो । यस अर्थमा निर्देशक केसी धन्यवादका पात्र छन् । 
 
तपाईं फिल्मभित्र अलग खाले मनोरञ्जन पाउन सक्नुहुन्छ । मेनस्ट्रिमले परिभाषित गरेजस्तो इन्टरटेनमेन्ट यसभित्र छैन । तपाईंलाई नेपाली सीमान्तकृत समाजको रियालिज्म मनपर्छ भने तपाईंका लागि डाइङ क्यान्डल हेर्न योग्य सिनेमा हो । 
 
रेटिङ : ३/५
कास्ट : सिर्जना सुब्बा, लाक्पा सिंगे तामाङ, सौगात मल्ल, अर्पण थापा
अवधि : २ घन्टा
निर्देशक : नरेशकुमार केसी
जानरा : सोसल ड्रामा
 
2 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.