Font   font-increse   font-dicrese

फिल्म समिक्षा : लभसासा
विष्णु शर्मा

 विष्णु शर्मा

तपाईं कस्तो सिनेमा हेर्न चाहनुहुन्छ ? (क) एउटै किकमा दर्जनौं गुण्डा ढलेको (ख) बोल्दा बोल्दै पात्र मर्ने र कृत्रिम महसुस हुने (ग) नवीन चिन्तन र सोचसहितको अग्र्यानिक । यदि तपाईं ‘ग’ श्रेणीमा पर्नुहुन्छ भने लभ सासा तपाईंका लागि योग्य हो । यो पंक्ति नै पर्याप्त छ, लभ सासालाई व्याख्या गर्न । 

 

 

 

 
चिनियाँ दार्शनिक कन्फ्युसियस भन्छन् : ‘सरल कुरा गम्भिर हुन्छन् ।’ लभ सासा कन्फ्युसियस मतलाई समर्थन गर्छ । अर्का चिन्तक डोरिस लेसिङ भन्छन् : ‘कुराहरु श्यामश्वेत हुन्छन् ।’ तर, लभ सासा यस मतलाई खण्डन गर्छ । फिल्म भन्छ : सरल कुराभित्र ग्रे एरिया पनि हुन्छ । मायाको रङ खैरो हुन्छ, श्यामश्वेत होइन ।’ लभ सासाको फिलोसोफी हो यो ।
 
इन्गेजमेन्ट गर्न अष्ट्रेलियादेखि पोखरा आइपुगेकी सासा (केकी अधिकारी)को भेट यात्राको क्रममा पर्ल (कर्म)सँग हुन्छ । बानी र स्वभावले यी दुईलाई निकट तुल्याउँछ र अव्यक्त प्रेमबीच उनीहरु एकअर्कालाई मनपराउन थाल्छन् । सिद (आसिफ शाह) र सासाबीच इन्गेजमेन्ट हुनुछ । त्रिभुज सम्बन्ध कसरी अघि बढ्छ ? केन्द्रिय द्धन्द्धले दर्शकलाई मायाको कस्तो स्वरुपतर्फ लैजाला ? यो थाहा पाउन झन्डै डेढ घन्टा लामो सिनेमा हेर्नुपर्छ । 
 
विश्व फिल्म ‘ब्याक टु नेचर’ हुन थालेको छ । हलिउड, युरोप, बलिउड र पूर्वी एसियाली मुलुकका न्यारेटिभमा एजेन्डा र फेन्टासी कम बरु मानवीय मूल्य र अन्तक्रिया बढी पाउन थालिएको छ । गोल्डेन ग्लोब्समा लाला ल्यान्ड र मुनलाइटको उदय यसको संकेत हो । आगामी अस्कर यही ब्याक टु नेचर सिद्धान्तले प्रेरित हुने सम्भावना छ । त्यो छिटा प्रचण्डमान श्रेष्ठ निर्देशित लभ सासासम्म आइपुगेको हो । 
 
दर्शकले फिल्म हेर्नु महत्वपूर्ण होइन । बरु, पात्र र द्धन्द्धसँग दर्शकीय अन्तक्रिया महत्वपूर्ण हो । लभ सासाका दर्शक र पर्दाबीच संवेदनाको अन्तक्रिया हुन्छ । यसका लागि पटकथा लेखक एवं निर्देशक श्रेष्ठ बधाइका पात्र छन् । दर्शकलाई द्धन्द्धसँग इन्गेज गराउनु र भावनाको प्रवाह तुल्याउनु सफलता हो । सशक्त पटकथा फिल्मको प्रधान पक्ष हो । निर्देशकले सरलता र मिठासलाई न्यारेटिभभित्र जतन गरेका छन् । फिल्म लाउड छैन । 
 
क्राइसिस सुरु भएपछि कहिँकतै भनिने काव्य (पोएटिक) स्टाइलले फिल्मलाई भावनात्मक सशक्तता पोतेको छ । पटकथाका दुई विशेषता अर्थात इमोसन ट्रान्सफर र इन्गेजिङको कारण लभ सासा क्रिटिक्सका लागि स्मरण हुनेछ । यसले समकालिन नेपाली समाज बाँचिरहेको तन्नेरी पुस्ताले प्रेमलाई हेर्ने दुई भिन्न दर्शनको चिरफार पनि गर्छ । एउटा आदर्श प्रेम र अर्को उपभोगवादी प्रेम । वर्तमान नेपाली समाजको मन र प्रेमको नाडी छाम्ने प्रयत्न पनि हो लभ सासा । 
 
संवाद र पटकथा फिल्मका नायक हुन् । 
 
सेलेव्रिटी लेखक बुद्धिसागरको उपस्थितीको आफ्नैखाले अर्थ छ । यी ठिटा राइटरले आख्यान र समाज जोडे । फिरफिरे र कर्नाली ब्लुजमार्फत उनले घरेलु औपन्यासिकतामा न्यारेटिभको नवीन शैली पेश गरे । कर्म र केकी अधिकारीको अभिनय अहिलेसम्मकै उत्कर्ष हो । नुसेन्स (मानवीय सुक्ष्मता) पस्कने निर्देशकीय प्रयत्नमा यी दुई नामले ठूलो साथ दिएका छन् । केकी र कर्मको अभिनयमा उक्त नुसेन्सको सघनता महसुस गर्न सकिन्छ । आसिफ सरल तर पावरफूल अभिनयमा फिट छन् । थ्री एक्टको यो गजबको उदाहरण हो । 
 
अष्ट्रेलियाबाट फर्किएकी युवती पात्रलाई चित्रण गरेपछि अंग्रेजी र नेपाली भाषा (नेपांग्रेजी) र अष्ट्रेलियाली आन्चलिकताको मनोविज्ञान चित्रण गर्नु जरुरी थियो । मोबाइलमा टेक्स्ट टाइप गर्दाका लामा अंग्रेजी अक्षरलाई नेपाली उपशीर्षक (सब्टाइटल)मा राखिएको भए सामान्य दर्शकलाई सजिलो हुने थियो । नेपाली लेखक बुद्धिसागरको उपादेयता पनि यसबाट प्रष्ट हुन्थ्यो । रेष्टुरेन्टभित्रको परिवेश निर्माण गर्न त्यहाँभित्रको ध्वनी पनि प्रयोग गरेको भए, गजब हुन्थ्यो । पोखरेली र फेवातालको ल्यान्डस्केप सट्हरु प्रिय लाग्छन् । अभिनयले मात्र होइन, कतिपय थालेमा कम्पोजिङ अफ सट् र प्रकाशले नुसेन्स निर्माणमा भूमिका खेलेका छन् । संगीतले दृश्य मनोविज्ञानमा मद्दत गरेका छन् । 
 
भिजागर्लदेखि लभ सासासम्म आइपुग्दा निर्देशक एवं लेखक श्रेष्ठको विकासक्रम देखिन्छ । खासगरि, पटकथा लेखकको रुपमा उनको अब्बलता लभसासा हो । नुसेन्स रचना गर्न उनले जसरी आफूलाई उभ्याएका छन्, यो प्रयत्नलाई अन्य सर्जकले पनि सिक्नु जरुरी छ । लभस्टोरी प्रेमीप्रेमिकाको फ्रेमिङ होइन बरु, ती पात्रमार्फत निर्देशकले प्रवाह गर्ने मानवीय मूल्यको महसुस हो । तपाईंलाई सरल र शान्त मुडमा प्रेमकथामा आधारित फिल्म हेर्न मन छ भने लभसासा योग्य हुनसक्छ । 

सिनेमा : लभसासा
निर्देशक : प्रचण्डमान श्रेष्ठ
कास्ट : केकी अधिकारी, कर्म, आसिफ शाह
जानरा : रोमान्टिक ड्रामा
रेटिङ : ३./५
निर्माता : टि फल्क्स र प्रिन्सेस मूभिज
 
17 dislike 4

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.