Font   font-increse   font-dicrese

फिल्म समिक्षा : बिजुली मेसिन
विष्णु शर्मा, मेरोसिनेमा

विष्णु शर्मा

साइन्स फिक्सन फिल्मले सय वर्ष पुरा गर्‍यो । यो छेकोमा क्रिटिक्स भने एउटै प्रश्नमा अनुत्तरित रहे । त्यो हो -साइन्स फिक्सन विज्ञानसँग सत्य हुन्छ वा हुँदैन ? जवाफमा नासाले भन्यो : 'ग्राभिटी फिल्म मात्र अहिलेसम्म विज्ञानको नजिक छ । साइन्स फिक्सनले विज्ञानलाई बाटो देखाउनुपर्छ, अन्यौलता होइन ।’ सवाल जवाफपछि साइन्स फिक्सन जानराका फिल्मलाई लिएर क्रिटिक्समाझ मतैक्यता बन्यो –'फिल्म विज्ञान र साहित्य दुबै उत्पादन हो ।'

 

 

 
यस सन्दर्भमा, स्वभाविक प्रश्न उठ्छ, के 'बिजुली मेसिन' विज्ञान र साहित्यसँग सत्य छ त ? विश्व फिल्मको कान्छो र नेपाली फिल्मको जेठो साइन्स फिक्सन 'बिजुली मेसिन' सयवर्षपछिको टाइमलाइनमा रिलिज भएको छ । त्यो पनि, आवाजबाट बिजुली निकाल्नुपर्छ भन्ने सैद्धान्तिक मतका साथ । किनभने, ध्वनीबाट विद्युत उत्पादन हुन्छ भन्ने 'थेसिस र एन्टी–थेसिस' विज्ञान जर्नलमा सँधै छापिन्छ र बहस हुन्छ । 'बिजुली मेसिन' उक्त बहसको एक अध्याय हो ।
 
दुई कलेज छात्रले ध्वनीबाट विद्युत उत्पादन हुन्छ भन्ने प्रयोगात्मक ज्ञान कलेजसामु प्रस्तुत गर्नुपर्ने हुन्छ । उनीहरु एउटा समुदायलाई नै यस विधिमार्फत उज्यालो बनाउन चाहन्छन् । के उनीहरु आफ्नो उद्देश्यमा सक्षम हुनेछन् ? यसको उत्तर नै केन्द्रिय द्धन्द्ध हो । मुलुकले लोडसेडिङ खेपिरहेको र लोडसेडिङलाई मुक्त गराउन कुलमान घिसिङको नायकत्व उदय भएको बेला रिलिज 'बिजुली मेसिन'को सान्दर्भिकता अझै गाढा बनिदिएको छ । 
 
राम्रो पक्ष
नवीन सोच र विषयवस्तुमा तन्नेरीले दृश्यभाषा भन्ने प्रयत्न गरेका छन् । फिल्म संरचनामा अवश्य छ । लोडसेडिङको भुक्तमान खेपेका नागरिकलाई परेको प्रभावको थोरै सहि तर, यथार्थ चित्रण छ । पात्रहरुको मनोविज्ञान, बहुचरित्रकरण, सम्बन्ध स्थापनामा निर्देशकीय प्रयत्न राम्रो छ । पात्रलाई श्यामश्वेत होइन ‘ग्रे सेड’ चित्रण गरेर निर्देशकले न्याय गरेका छन् । पात्रसँग द्धन्द्धका अनेक तह छन् । बिजुली निकाल्न गरेको संघर्षसँग मात्र होइन, कलेज, प्रेमिका, परिवार र देशको क्राइसिससँग द्धन्द्धका तह बुनिएका छन । पात्रको मल्टि-डायमेन्सन चित्रण भएको छ । जसले फिल्मलाई इन्गेज अवश्य तुल्याएको छ । 
 
अभिषेक सुवेदी र जीवन अधिकारीको अभिनय सरल तर प्रिय लाग्छ । राजेश हमालको केमियो रोल महानायक ब्रान्डको पटाक्षेप हो । लक्ष्मी भुषाल, कमलमणी नेपाल, रियर राईका सहायक पात्र मनछुने छन् । पन्चलाइनले दर्शकलाई कमेडी तुल्याउन सक्छ । ध्वनी नियन्त्रण बलियो पक्ष हो । ध्वनीले दर्शकलाई नेपथ्य र आवरणबीच भावनात्मक सम्बन्ध विकास गर्छ । 
 
क्राइसिस र क्लाइमेक्स पाटो मार्मिक र संवेदनायुक्त छ । 
 
 
 
 
नराम्रो पक्ष
द्धन्द्ध सघन नहुनु पटकथाको कमजोर पक्ष हो । एन्टागोनिस्ट फोर्स (परिस्थिती)लाई निरिह तुल्याइँदा केन्द्रिय द्धन्द्ध कमजोर छ । जसले गर्दा दर्शक पुरै समय इन्गेज हुन सक्दैनन् । लोडसेडिङ प्रभावको दृश्य मनोविज्ञान सिर्जना गर्न निर्देशक असफल छन् । सेटिङ र डिटेलिङ उतार्न नसक्नु अर्को समस्या हो । फिल्मभित्र चौविसै घन्टा बिजुली छ, भित्ताको स्वीचको इन्डिकेटर प्रत्येक सट्मा बलेको बल्यै छ, सडक उज्याला छन्, पात्रहरु उज्यालो कोठामा पढेकै छैन, रिसर्च गरेकै छन् । उनीहरु मुखले लोडसेडिङ भन्छन् तर दृश्यमा त्यो देखिँदैन । 
 
'कम्पोजिसन अफ सट्' यति कमजोर छ कि लोडसेडिङ भएको भनिएको बेलामा पनि दृश्य उज्यालो छ । त्यो प्रकाशको स्रोत के हो ? कहाँबाट आयो ? यी साना तर गाम्भिर्य गल्ती हुन् । मुख्य पात्रहरु ध्वनीबाट बिजुली निकाल्ने भन्छन् र निकालेको देखाइन्छ पनि । तर, कुन विधि र प्रक्रियाबाट उनीहरुले बिजुली निकाले, चित्रण छैन । उनीहरु नक्सा र मौखिक शब्दको सहारामा विधिको वर्णन गर्छन् । तर, उनीहरुलाई फिल्म 'सिनेम्याटिक ल्यांग्वेज' हो भन्ने हेक्का सायद भएन । उक्त नक्सामाथि संसारका धेरै विद्यार्थीले सोधका लागि बहस गरिसकेका छन् । अर्थात, निर्देशकले बिजुली बलेको देखाए तर विधि लुकाए । रिसर्च हो भने, उक्त 'साइन्स प्रोसेस'लाई दृश्यमै भन्नु नितान्त जरुरी थियो । किन विज्ञानको प्रक्रिया लुकाइयो ? 
 
एक पात्रलाई सुपरहिरोले जस्तो करेन्ट संचय गर्ने रुपमा देखाइएको छ । यसलाई विज्ञान अस्वीकार गर्छ । विद्युतीय नियमानुसार, मानिसको शरिरबाट करेन्ट प्रवाह त हुनसक्छ (भएको पनि छ) तर, संचय हुँदैन । यसलाई 'सिनेमा लिबर्टी'को रुपमा देखाइएको हो वा होइन, दर्शकलाई निर्देशकले कन्फ्युज तुल्याएका छन् ।  
 
एक वाक्यमा –'बिजुली मेसिन फिल्मभन्दा सोच ज्यादा हो ।' जसमा विज्ञानभन्दा सोच बढी तैरिएका छन् । जसले गर्दा बिजुली मेसिन वस्तुगतरुपमा कमजोर र विषयगतरुपमा सशक्त लाग्छ । परिकल्पना नै आविष्कारको सुरुआत हो भन्दैमा फिल्म निर्माणको आधारभूत सोचलाई बेवास्ता गर्नु हुँदैन । फिक्सनको माध्यमले भएपनि दर्शकलाई निर्देशकीय कन्भिन्स जरुरी हुन्छ । एकपटक यसको वस्तुगत आयाम र तन्नेरीको कथा भन्ने शैली बुझ्न पनि बिजुली मेसिन हेर्नका लागि यस समिक्षक आग्रह गर्दछ । 
 
निर्देशन/पटकथा : नवीन अवल
रेटिङ : २.५/५
कास्ट : अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि तामाङ, अशेष लुइँटेल, जीवन भट्टराई, रेलिजा श्रेष्ठ, लक्ष्मी भुषाल, कमलमणी नेपाल, रियर राई, आकाश मगर
ध्वनी नियन्त्रण : उत्तम न्यौपाने
सिनेम्याटोग्राफी : हरि हुमागाइँ
ब्यानर : युनिभर्सल नेपाल  
16 dislike 5

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.