Font   font-increse   font-dicrese

सिनेमा समिक्षा : पुरानो डुङ्गा
विष्णु शर्मा, मेरोसिनेमा

विष्णु शर्मा

समिक्षा लेख्दा मैले एउटै मात्र सिद्धान्त अवलम्बन गरेको छु । त्यो हो –‘नेपाली फिल्मलाई बलिउडको जुठो हुनबाट जोगाउने र सृजनात्मक सिनेमा संस्कारको विकास गर्ने ।’ शुक्रबार रिलिज भएको फिल्म 'पुरानो डुङ्गा' हेरिरहँदाको पीडा पाठकसँग साट्न यो समिक्षकलाई आँटै आएन । 
 
 
 
 
उक्त पीडा कथात्मक परिवेशभित्रको प्रस्तुतिबाट सृजित भावनात्मक पीडा थिएन बरु, पर्दामा भैरहेका घटना, परिस्थिती र प्रस्तुतिलाई स्वीकार गर्न नसकेर उत्पन्न पीडा थिए । पुरानो डुङ्गा हेरिसकेपछि, अहिले पनि म आफ्नै स्टेटमेन्टमा अडिग छु । त्यो हो –एकै खाले फिल्म बनाउने र अल्छी बन्ने ह्याङओभरबाट मुक्त हुन जरुरी छ ।
 
जैविक स्वरुप दिने प्रयत्नमा निस्किएको वर्णशंकर उत्पादन हो 'पुरानो डुङ्गा', जसले दृश्यभाषाको आत्मा गुमाएको छ । सिनेमा साहित्य, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक र सांस्कृतिक उत्पादन हो भन्ने सत्यलाई बेवास्ता गरिएको छ जसले गर्दा रामबाबु गुरुङ निर्देशित फिल्म दृश्य मोन्टाजमा परिणत छ । हामी यहाँ फिक्सन संरचनाको बहस गरिरहेका छौं । हामी यहाँ निर्देशकीय अभिव्यक्ति र नियतको बहस गरिरहेका छौं र हामी यहाँ फिल्म किन प्राज्ञिक उत्पादन बन्न सकेन भनेर बहस गरिरहेका छौं । 
 
 
 
 
 
पोखराको बेगनास तालको किनारस्थित एउटा माझी परिवारमा डुंगाको कारण आउने उतारचढाव फिल्मको कन्टेन्ट हो । तर, कथा भन्ने शैली (न्यारेटिभ)ले पुरानो डुङ्गालाई अन्यौल सोचको अन्यौल उत्पादन बनाइदिएको छ । केन्द्रिय द्धन्द्ध पुष्टि छैन, मुख्य पात्र पुष्टि छैन, एन्टागोनिज्म पुष्टि छैन, सेटिङ र द्धन्द्ध कमजोर छ । पात्र, मनोदशा, भूगोल, आन्चलिकता, वर्गीय सोच, चरित्र चित्रण कमजोर छन् । यी सबै समस्याको पाण्डोरा बाकस पटकथा हो । अर्थात, पटकथा आख्यान संरचनामा छैन । गम्भिर प्लटमा बुनिएको दृश्य रुपान्तरणको लुपहोल्ज छल्न यस समिक्षकलाई तनाव भयो ।
 
फिल्मले मन छोएन अर्थात संवेदनाको प्रवाह कम रह्यो । पात्रहरुको अनावश्यक भीडले फिल्मको लयमा अवरोध सिर्जना गरिदिएको छ । हामीले पटक पटक लेख्दै आइरहेको एउटै समस्या पटकथा नै हो जसको शिकार पुरानो डुङ्गा समेत छ । पाठकलाई भन्न चाहन्छौं –पुरानो डुङ्गा रामबाबु गुरुङ निर्देशित कबड्डी सिरिज र झुम्कीकै निरन्तरता हो, नयाँ जोखिम तत्व यसभित्र छैन । क्राफ्ट, अभिनय र संरचनाको हिसाबले यस फिल्म त्यसकै रिसाइकल हो । 
 
केही दृश्यमा नेपाल प्रहरीलाई अमानवीय देखाइएको छ । यस्तो गरिनु गलत थियो । 
 
फिल्मभित्र राम्रा कुरा पनि छन् । पटकथा झुर भएपनि, कथा छनौट राम्रो पक्ष हो । भुइँमान्छे, उनीहरुको जीवन, संघर्ष र सोचलाई पर्दामा ल्याउने प्रयत्न स्वागतयोग्य छ । माओत्से गुरुङ र मेनुका प्रधान आकर्षण हुन् । पति पत्नीबीचको सम्बन्ध स्थापना र संघर्षले एकाध ठाउँमा मन छुन्छ । शैलेन्द्र डी कार्कीको कम्पोजिसन अफ सट् राम्रो लाग्छ । उनले केही ठाउँमा आकर्षक विम्व पोतेका छन् । ब्याकग्राउन्ड स्कोर र संगीत राम्रा छन् तर, रिलिज अगाडि सुनिएको जस्तो गीत फिल्मभित्र हेर्दा भावनात्मक महसुस हुँदैन । 
 
पुनः यस समिक्षक भन्न चाहन्छ : पटकथामा सुधार ल्याउनु जरुरी छ । यदि तपाईं रामबाबु गुरुङका अघिल्ला फिल्म (अनागरिक, कबड्डी र झुम्की)बाट परिचित हुनुहुन्छ त्यही लेभलकै आशा लिएर मात्र जानुहोला । 

रेटिङ : २/५
निर्देशक : रामबाबु गुरुङ
कास्ट : दयाहाङ राई, माओत्से गुरुङ, प्रियंका कार्की, मेनुका प्रधान
जानरा : सोसल ड्रामा
 
8 dislike 2

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.