Font   font-increse   font-dicrese

सिनेमा समिक्षा : छायाँ
विष्णु शर्मा, मेरोसिनेमा

 विष्णु शर्मा

अक्सफोर्ड डिस्नेरीले बुधबार ‘पोस्ट–ट्रुथ’लाई वर्ष शब्द घोषणा गर्‍यो । यसको अर्थ हुन्छ, कुनै सामाजिक घटनामाथि दृष्टिकोण बनाउँदा वस्तुगतभन्दा भावनात्मक पक्ष हावी हुनु, जसले निर्णय सहि हुन सक्दैन । शुक्रबार रिलिज भएको सिनेमा छायाँले पनि नेपाली समाजमा रहेको पोस्ट–ट्रुथ अर्थात बाल यौन दुराचारको विषयमा कथा भनेको छ । यो गम्भिर कन्टेन्टमाथि नेपाली समाजको ध्यान उति पुगेको छैन, जसमाथि छायाँले दृश्भाषामा कथा भन्ने प्रयत्न गरेको छ । 
 
 
 
 
लक्ष्य, दासढुंगा, बधशाला र ग्रेटर नेपालजस्ता फिल्म निर्देशन गरिसकेका मनोज पण्डितले पुनः सामाजिक यथार्थ उरालेका छन् । पर्दामा यथार्थवाद, राजनीतिक चेत र राष्ट्रवादी सौन्दर्य पस्कने पण्डितले यसपटक अलि फरक खाले सामाजिक यथार्थवाद पस्किए । ठ्याक्कै, पोस्ट ट्रुथ त भन्न नमिल्ला तर, सादृश्य लाग्ने भएकाले छायाँ कन्टेन्टमाथि विमर्श गर्दा यहाँ उक्त शब्द प्रस्तुत गरिएको हो । 
 
डेब्यु बाल अभिनेता साइव्रत आचार्य मुख्य भूमिकामा छन् । जहाँ उनलाई दुराचार पीडित पात्रको रुपमा चित्रण गरिएको छ । अनुप बराल एन्टी पात्र हुन् जुन पात्रमा उनको पोएट्रेलाई साहसिक मान्न सकिन्छ । आफन्त र निकटवर्तीले कसरी मुख्य पात्रलाई फकाएर शोषण गर्न बाध्य पार्छन् भन्ने चित्रण फिल्मले गरेको छ । कसरी पीडित पात्र र उनको परिवारले पीडकबाट मुक्ति पाउन संघर्ष गर्छन् भन्ने चित्रण फिल्मको केन्द्रिय द्धन्द्ध हो । छायाँलाई यसकारण 'इन्फो–एडु–टेनमेन्ट' सिनेमा भन्न सकिन्छ । 
 
 
 
 
छायाँ दृश्यभाषाको सौन्दर्य बोकेको फिल्म हो । व्याकरण, संरचना र नवीन सोचको उत्पादनको रुपमा यसलाई लिन सकिन्छ । सन्देश र सामाजिक दायित्व बोकेको फिल्मलाई बाल दर्शक र तिनका अभिभावकले रुचाउन सक्छन् । अपराधका पछिल्ला तथ्यांक शाष्त्र केलाउँदा नेपाली बालबालिका प्रायः आफन्त र परिवारबाटै यौन शोषणमा पर्ने गरेका छन् । यो यथार्थमाथि आँखा चिम्लने समाज र व्यवस्थाविरुद्ध छायाँ नांगो यथार्थ हो । कमोडिटिज फिल्म बनाउने म्याराथनमा हामीले सामाजिक दायित्बोध र फिल्मको शक्तिलाई बिर्सियौं । 'छायाँ'ले त्यसलाई स्मरण गराइदिएको छ । मूलधारमा भनिनेजस्तो मनोरञ्जनको व्याख्या र पूर्ति छायाँले अवश्य गर्दैन तर, यसभित्र संवेदनाको गहिरो मनोरञ्जन छ । मनोरन्जनको व्याख्या व्यक्तिपिच्छे निर्भर हुने भावनात्मक कुरा हो । 
 
मुख्य पात्र बालक भएकाले उससँग द्धन्द्धका केही तह छन् । उसको द्धन्द्ध परिवार र चाहनाबीच हुन्छ, खेल्ने र खाने कुराको प्राप्तीसँग हुन्छ र त्यो पीडित मनोविज्ञानसँग हुन्छ । द्धन्द्धका यी तहसँग निर्देशकले मुख्य पात्रलाई गजबले प्रस्तुत गरेका छन् र बाल अभिनेता साइव्रतले आफूलाई पात्रमा स्थापना गर्न ज्यान दिएका छन् । थ्री एक्टकै संरचनामा यी बालकको अभिनय उम्दा लाग्छ । घरेलु फिल्मका लिजेन्ड अनुप बरालको भूमिका सशक्त मात्रै छैन, दर्शकले पोख्ने घृणा, उनको सफलता हो । 
 
पटकथाले दर्शकलाई इन्गेज अवश्य गराउँछ तर, क्राइसिसको तह अझै उचाइमा हुनु जरुरी थियो । छायांकन र सम्पादन फिल्मका बलिया पक्ष हुन् । पटकथा संरचनामा हुँदा यसले दर्शकलाई इन्गेज अवश्य तुल्याउँछ । प्रयुक्त थ्रीलर तत्वले फिल्मको इन्गेजिङमा मद्दत गरेको छ । पात्रबीचको सम्बन्ध स्थापना र द्धन्द्धको मनोवैज्ञानिक पक्षको उपचार सकारात्मक छ । फिल्मले कतिपय पटकथामा भावनात्मकरुपमै मन छुन्छ र दर्शक उद्देलित हुन्छन् । 'छायाँ'लाई क्राफ्ट अर्थात वस्तुगत र विषयगत दुबै कोणबाट राम्रो फिल्म भन्न सकिन्छ । 
 
हामीले भर्खर जानरामा रहेर कथा भन्न खोज्दैछौं । समाज र साहित्यबीचको मर्म महसुस गर्दैछौं । सामाजिक द्धन्द्धग्रस्त पात्र खोज्दैछौं र फिल्मभित्रको सौन्दर्य बोध गर्दैछौं । हामीले पछिल्लो समय युरोपेली संरचनाका फिल्म हेर्ने मौका पायौं । कालो पोथीपछि छायाँ उक्त संरचनाको अर्को श्रृंखला हो । खासगरि अभिभावक र छोराछोरीले छायाँलाई हेर्नुपर्छ । किनभने, यसको कथावस्तु समाजले बाँचेको तर, ध्यान नदिएको कुनै गम्भिर कन्टेन्ट हो । छायाँ यसकारण महत्वपूर्ण हुनसक्छ । 

सिनेमा : छायाँ
रेटिङ : ३.५/५
निर्देशक : मनोज पण्डित
कास्ट : साइव्रत आचार्य, अनुप बराल, अरुणा कार्की
जानरा : सोसल ड्रामा
13 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.