Font   font-increse   font-dicrese

फिल्म समिक्षा : दद्या
विष्णु शर्मा, मेरोसिनेमा

 विष्णु शर्मा

फिल्ममा कथा हुनु महत्वपूर्ण हैन, जति कथालाई भन्नु हुन्छ । १७ मिनेट लामो फिल्म 'दद्या' यति जीवन्त छ, यो तहसम्म नेपाली फिल्मले आफूलाई न्यारेसन गर्नु अभूतपूर्व उपलब्धी नै हो । एकादेशमा फिल्म फेस्टिभलमा प्रिमियर भएको विभुषण बस्नेत र पूजा गुरुङ निर्देशित फिल्मलाई नेपाली फिल्मको अहिलेसम्मकै महत्वपूर्ण उपलब्धीको रुपमा व्याख्या गर्न सकिन्छ । 
 
 
 
 
कथा भन्ने शैली, सेटिङ, निर्देशकीय सोच र प्राविधिक सबै पक्षमा यो फिल्म अब्बल छ । सुदुरपश्चिम जुम्लाको सिन्जा उपत्यकाको एउटा दमाइ बस्ती जुन उजाड छ र एक वृद्धा दम्पति बस्छन्, त्यहाँको कथावस्तुलाई फिल्मले उठान गरेको छ । आफ्ना प्रिय मान्छेहरु वस्तीबाट थाहै नदिइ गैसकेपछि कसरी यी दुई वृद्धाले काठमा कुँदिएका मान्छेहरुमा भावनाको महसुस गर्छन् त्यसलाई सचित्र चित्रण गरिएको छ । घरेलु न्यारेसनको यो अभूतपूर्व उपलब्धी नै हो । 
 
 
 
 
सरल कथामा निर्देशकले अपनाएको पोएटिक न्यारेसन शैली गजबको छ । फिल्ममा आवश्यक सौन्दर्य, मूल्य र मान्यतामा संरचित यो फिल्ममार्फत निर्देशकले नीर्जिव वस्तुलाई मानवीयकरण गरिदिएका छन् । एस्थेटिक भ्यालुभित्र रहेर बनाइएको फिल्मले भावनाको यति शक्तिशाली प्रवाह गरेको छ, जसले दर्शकलाई छुन्छ । ती वृद्ध दम्पतिको सोच, अन्यौलता र महसुस निर्देशकीय उपलब्धी हो । 
 
फिल्मको अन्त्यमा नीर्जिव काठका मूर्तिको बीचबाट बाजा बजाउँदै हिँडेको दृश्य दृश्यभाषाको ब्वाइल प्वाइन्ट हो । कम्पोजिसन अफ सट्हरु यति शक्तिशाली छन् कि त्यसले दृश्य मनोविज्ञान निर्माण गरिदिएको छ । एकलास, सौन्दर्य अनि आफन्त हराएको निर्ममताभित्र निर्देशकद्धयले सशक्त विम्व पोतेका छन् । हामीले पहिलोपटक नेपाली फिल्मभित्र यति सुन्दर ल्यान्डस्केप देखेका हौं । 
 
परिमल दमाई र देवी दमाइको अभिनय सजिव लाग्छ । परिमलकै संगीत र बाजाले त्यो द्धन्द्ध र भावनालाई उचाइमा लैजान्छ । हामीले नयाँ कथाको खोजीमा समय बितायौं तर, कथालाई भन्ने शैलीमा सुधार गर्न सकेनौं । निर्देशकको कोणबाट भनिएको सुन्दर रचना हो दद्या । 
 
आइतबार ११ः४५ बजे कुमारी हलमा फिल्म प्रदर्शन हुँदैछ । 
 
सिनेमा : द्दया
निर्देशक : विभुषण बस्नेत, पुजा गुरुङ
कास्ट : परिमल दमाइ र देवी दमाइ
लम्बाइ : १७ मिनेट
निर्माता : आइकोर फिल्मस प्रालि
 
14 dislike 2

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.