Font   font-increse   font-dicrese

सिनेमा समिक्षा : जात्रा
विष्णु शर्मा, मेरोसिनेमा

विष्णु शर्मा

खुबै बिक्री भएको पछिल्लो पुस्तक ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरी’मा फन्सेली अर्थशाष्त्री थोमस पिकेटी भन्छन् –‘पुँजीले शक्तिलाई प्रभावित तुल्याएको छ । विश्व गुरुत्वाकर्षण अब राजनीतिभन्दा अर्थतन्त्रले निर्देशित हुनेछ ।’ पिकेटीको सिद्धान्तअनुसार अहिले मानवीय सम्बन्ध, आकांक्षा र जीजिविषा बजारद्धारा निर्देशित हुन थालेका छन् । भर्खरै पुँजीवादी हाँगा पलाउन थालेको नेपाली समाज यसबाट अछुतो रहने कुरै भएन । फिल्म 'जात्रा' हेर्दा मलाई यही महसुस भयो । 

 

 

 
'जात्रा'ले तीन समानान्तर भुइँमान्छेको कथा भन्छ । पैसाले कसरी उनीहरुको इमान्दारिता, स्नेह र लालित्यलाई बदलेर कृत्रिम बनाउँछ भन्ने चित्रण २ घन्टा २६ मिनेट लामो सोसल ड्रामाले पेश गर्छ । बैंकबाट लुटिएको तीन करोड पैसा बोरामा भेटिएपछि त्यसलाई ‘ह्वाइट मनी’ बनाउन तीन पात्रले गरेको संघर्ष केन्द्रिय द्धन्द्ध हो । यो द्धन्द्धमा पुलिस, डन, भुइँमान्छे, गृहणी, बच्चा उनिएपछि उत्पन्न हुने गोलमाल परिस्थिती 'जात्रा' हो । त्यो जात्राभित्र वर्गीय द्धन्द्ध छ । सिस्टम र सवाल्टर्नको द्धन्द्ध छ । आँसु र हाँसोको द्धन्द्ध छ । इमान्दार र भ्रष्टको द्धन्द्ध छ ।
 
सीधै सहि, 'कालो पोथी'पछि यस समिक्षकले पटक-पटक भन्दै आएजस्तो आख्यान संरचनामा बुनिएको क्राफ्ट हेर्ने मौका पायो । बजार र व्याकरणलाई सन्तुलन मिलाइएको यो फिल्मको सबैभन्दा बलियो पक्ष पटकथा र सेटिङ हो । यी दुई विशेषताले दृश्य मनोविज्ञानमा महत्वपूर्ण भूमिका खेलेका छन् । पटकथाले दर्शकलाई पुरै समय इन्गेज तुल्याउँछ र काठमाडौंको सानो गल्ली र टोलमा बुनिएको भूगोलले तपाईंलाई पात्र महसुस गराउँछ । निर्देशक एवं लेखक प्रदीप भट्टराई बधाइका पात्र छन् । 
 
बलियो सेटिङले उठान गरेको वास्तविक चरित्र, संवाद, आञ्चलिकता अब्बल छन् । भूगोलको आफ्नै खाले भाषा हुन्छ र त्यो भाषा फिल्मले भनेको छ । फिल्मकै लक्ष्य, पात्रको अठोट, द्धन्द्धको अनेक तह अर्थात बहुचरित्रकरणको निर्माण गर्न सेटिङ सक्षम छ । कमेडी र भावना प्रवाहले दर्शकलाई एकछिन मौन रहन दिँदैन । स्पष्ट लक्ष्य र त्यो लक्ष्य हासिल गर्न पात्रले गर्ने संघर्ष सरल छ । दर्शकलाई महसुस गर्न मस्तिष्क कसरत गर्नुपर्दैन । अभिनय र सेटिङमा नाटकीयता छैन बरु, काठमाडौंमा संघर्ष गरिरहेको निम्न मध्यम वर्गको जीवनशैली, सपना र संघर्षलाई दुरुस्तै चित्रण गरिएको छ । 
 
दर्शकलाई मनोहर तुल्याउन मुस्ताङी ल्यान्डस्केप, चोभारका डाँडा र दरबारमार्गको लाइट इफेक्ट खिच्नु जरुरी छैन । सानो चोक र गल्लीमा हुने नुसेन्स (गतिविधि)बाटै निर्देशकले दर्शकलाई इन्गेज तुल्याउन सक्छन् । पटकथाको प्रभावशाली पक्ष हो यो । जीवन्त अभिनयले सेटिङ स्थापनामा मद्दत गरेको छ । ‘पशुपति प्रसाद’मा हनुमान (रविन्द्र)र भष्मे डन बनेका बिपिन कार्कीले अभिनयमा अध्याय खडा गरेका छन् । मधेशी पात्र रविन्द्र झा मधेशले काठमाडौंलाई हेर्ने वर्तमानका एक दृष्टिकोण हुन् । पर्फमेन्स आर्ट्सको यो आकर्षक पक्ष हो । 
 
दर्शकलाई मनोरञ्जन दिन कथित मसला र गीत चाहिँदैन । गीत विनै 'जात्रा'ले दर्शकलाई आबद्ध तुल्याउँछ । मनोरञ्जन भावनात्मक पक्ष हो । कसरी मनोरञ्जन लिने भन्ने कुरा नीजि मामिला हो । मानवीय 'नुसेन्स'का मसिना पक्षलाई समेत सजिव चित्रण गरिएको छ फिल्मभित्र । जब समाज र साहित्य जोडिन्छ तब हामी पर्दाभित्र आफूलाई महसुस गर्न सक्छौं ।
 
पटकथा बलियो भैकन पनि क्राइसिस र क्लाइक्स छेकोमा केही दृश्य रुपान्तरणका पक्षलाई कटौती गर्नुपर्ने थियो । यी कुरालाई सम्पादन गर्दा फिल्मको लम्बाइ त छोटिन्छ नै, समयको बचत पनि हुन्छ । क्राइसिस तहलाई उचाइमा लैजानुपर्ने जरुरी थियो । कतिपय थलोमा सम्पादन र पाश्र्वध्वनीबीच तादाम्यता मिलेको देखिँदैन । यद्यपी, दर्शक यसलाई नजरअन्दाज गर्न सक्छन् । हामीले लेख्दै आइरहको पक्ष के हो भने, सिनेमा दृश्य भाषा हो तर, जात्रा वाचाल लाग्छ । कतिपय भावनात्मक दृश्यमा मौनता साँध्नु आवश्यक हुन्छ । नेपाली दर्शकलाई बोलेरै बुझाउनुपर्ने जरुरी छ । वाचाल अभ्यासबाट हामी दृश्य भाषाको अभ्यासतर्फ जानु जरुरी छ । 'जात्रा'को सिनेम्याटिक प्रयत्न श्रुति परम्पराबाट निर्देशित लाग्छ । तर, कलाकारको जीवन्त अभिनयले यस पक्षलाई गौण तुल्याइदिएको छ । 
 
यस समिक्षकको मूल्यांकनमा पछिल्लो समय पैसालाई केन्द्रिय द्धन्द्ध बनाइएका फिल्म रुचाइएका छन् । त्यो मेसोमा थपिएको छ, जात्रा । पैसालाई लिएर उत्पन्न द्धन्द्धका कथा दर्शकले चाखे र ती बक्सअफिसमा ब्लकबस्टर पनि भए । ती 'फ्युरी'का कथा 'जात्रा'भित्र अटाएका छन् । 'जात्रा' हेर्दा लाग्छ, हामी क्रमशः साहित्य संरचनामा उभिन थालेका छौं, यो हर्षको कुरा हो । आख्यान र फिल्मबीचको दूरीलाई 'जात्रा'ले नजिक ल्याउने प्रयत्न गरेको छ । किनभने, फिल्म पहिले कागजमा बन्नुपर्छ अनि क्यामेरामा । 
 
मुलुक संघियतामा जाने जमर्को गर्दापनि काठमाडौंको आकर्षणमा रत्तिभर कमी आएको छैन । यो खाल्डोमा जीजिविषाको सपना लिएर पात्रह आउँछन् । 'जात्रा'भित्र ती पात्रको सोच अटाएको छ । त्यो 'टाइम एन्ड स्पेस'लाई फिल्मभित्र जसरी चित्रण गरिएको छ, यो निकै मार्मिक पाटो हो । सेटिङ र पटकथाको बलियो उत्पादन 'जात्रा' हो । तपाईंलाई कमेडी र सोसल ड्रामामा रुचि छ भने, 'जात्रा' तपाईंका लागि योग्य हुनेछ । 
 
सिनेमा : जात्रा
रेटिङ : ३.५/५
कास्ट : बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत
लम्बाइ : २ घन्टा २६ मिनेट
जानरा : सोसल ड्रामा
19 dislike 5

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.