Font   font-increse   font-dicrese

'छक्का पञ्जा' किन चल्यो : फिल्म समिक्षा (भाग २)

विष्णु शर्मा

यो समिक्षा लेख्दासम्म 'छक्का पञ्जा'को गणित १२ करोड ग्रसमाथि छ । बक्सअफिसमा पैसा छाप्ने फिल्मको गतिलाई घरेलु ट्रेड पण्डित ‘म्याजिकल’ बताउँछन् । कसरी यस फिल्मले आम सोचलाई पैसामा बदल्यो भन्ने कुरा जान्न, यसका मूलभूत पक्षमा विमर्श जरुरी छ । समिक्षाको उद्देश्य फिल्मको शिल्पतर्फ होइन, किन चल्यो भन्ने सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्ष उत्खनन गर्नु हो । 
 
 
 
 
कूल गार्हस्थ उत्पादन होस् वा बजेट, मुलुकको आर्थिक परिसूचकमा विप्रेषण योगदान उच्च छ । लाखौं नेपाली विदेशमा छन् । उनीहरुद्धारा प्रेषित विप्रेषणले स्वदेशमा वर्गोत्थान भैरहेको छ । नेपालीको ठूलो हिस्सा मध्यमवर्गमा उक्लँदै छ । यसको अर्थ, मनोरन्जन र विलासी चीजमा यस वर्गको लगानी वृद्धि हुनु हो । विप्रेषणले यो वर्गको जीवनशैली, सोच, अपेक्षा बदलेको छ । 
 
सँगै, विप्रेषणसँग जोडिएका सामाजिक चलन र विचलनका पाटा छन् । विवाहेत्तर सम्बन्ध, स्वतन्त्रता माग, सम्बन्ध विच्छेद, कुण्ठा र नवउदारवादले व्याख्या गरेजस्तो बजार निर्देशित जीवनशैली । विप्रेषणले खडा गरेको दर्शनमै नेपाली समाज अघि बढिरहेको छ । विप्रेषण आधुनिक नेपाली समाजको यथार्थ हो । छक्का पञ्जाको कन्ट्रोलिङ आइडिया विप्रेषण हो । फिल्म हेर्दा लाग्छ, यो आइडियाभित्रै दर्शक छिर्छन् र सिनेम्याटिक अन्तक्रिया गर्छन् । 
 
रेमिटेन्स जीवन बाँच्ने नेपाली समाज वृहत छ । अघिपछि यो वृत्त हातमुख जोर्ने काममा तल्लिन हुन्थ्यो । छक्का पञ्जा यो वृत्तभित्र छिरेको छ । फिल्म कथावस्तुले यो वर्गबीच फिल्म मनोविज्ञान सिर्जना अवश्य गरिदिएको हो । अघिपछिका अधिकांश फिल्म यो वर्गभित्र प्रवेश गर्न कठिन थियो । विषयवस्तुसँग गाँसिएको भावना सम्प्रेषणलाई यस वर्गले जसरी रुचाउन थाल्यो, बक्सअफिसको सुइ उकालो लाग्न थाल्यो । तिहारसम्मै परिस्थिती 'छक्का पञ्जा'मय हुने कुरामा विवाद छैन । छक्का पञ्जाको व्यवसायिक सफलताले केही यक्ष प्रश्न खडा गरिदिएको छ, जसको निरुपण चाँडोभन्दा चाँडो हुनु जरुरी छ । त्यो हो –नेपाली सिनेमाको मास डिफाइन के हो ? कुन तत्वले नेपाली सिनेमालाई गाइड गरिरहेको छ ।’ फिल्ममात्र होइन, अब दर्शकीय समिक्षा पनि जरुरी छ । 
 
छक्का पञ्जाको अर्को गम्भिर सन्देश हो –'कमेडी जानरा बक्सअफिसमा प्रभावशाली बन्दैछ । निकट अतितका व्यवसायिक र क्रिटिकल विवरण केलाउँदा हाँस्य तत्व फिल्म बजार र मेकिङमा जबर्जस्त तत्वको रुपमा स्थापित बन्दैछ । यसो हुनुमा मेरो आफ्नै खाले समाजशाष्त्रीय तर्क छ । दशक लामो सशष्त्र द्धन्द्धबाट तंग्रिएर मुलुक विस्तारै गणतन्त्र संस्थागतको बाटोमा अग्रसर छ । संविधान जारी मात्र भएको हो, लागु होइन । यो संक्रमणको दर्शन पीडा र अवसाद हुन्छ, हाँसो होइन । 
 
पीडा बाँचेको मान्छेको मनोविज्ञान हाँसो प्राप्ती हुन्छ । ऊ अवसाद संवेदनासँग मुस्कान साट्न चाहन्छ । यो मनोविज्ञानले एकखाले हाँसो विक्रीको बजार निर्माण गर्छ । फलस्वरुप, फिल्ममात्र होइन, कलामा हाँस्य जानरा प्रभावशाली बन्छ । छक्का पञ्जा त्यसको प्रतिनिधि रुप हो । दोस्रो विश्वयुद्धको मल्हम लगाउन हलिउडले फेन्टासी र कमेडी फिल्म बनाएजस्तै । दुरुस्तै नभनौं तर, नेपाली फिल्मको मनोविज्ञान छक्का पन्जापछि त्यसतर्फ उन्मुख छ । सोचले बजार बनाउने हो, बजारले सोच होइन । 
 
छक्का पञ्जाले हाँसो बेचेको अवश्य हो । संवेदनाको विक्री हुन्छ भन्ने कुरा हामीले विश्व बक्सअफिसका ठूला प्रदर्शनबाट जान्न सक्छौं । अहिले पनि दक्षिण छिमेकी भारतमा सान्दर्भिक छेकोमा सान्दर्भिक कन्टेन्टका फिल्म रिलिज हुन्छन् । ठूलो आयतन बोकेको मास पपुलेसनको सोचलाई पैसामा बदल्ने यो आइडिया यद्यावधिक छ । 
 
इटालीका दार्शनिक एन्टोनियो ग्राम्सीको दर्शनमा सवाल्र्टन शब्द निकै चर्चित छ । यसको नेपाली भावानुवाद भुइँमान्छे हुन्छ । गरिबी होस् वा युद्धको विभिषिकबाट भुइँमान्छे बन्न बाध्य पर्ने परिस्थितीबाट गुज्रिएका पात्रको मनोदशा र समग्र रुप हो छक्का पञ्जा । यी पात्रको दैनिक द्धन्द्ध, संवाद, लाइफस्टाइल, प्रेम यही दर्शनबाट गाइडेड छन् । जब यो आञ्चलिकता पर्दामा प्रस्तुत हुन्छ, तब दर्शकले फिल्मभित्र आफूलाई महसुस गर्छन् । त्यसपछि वर्ड अफ माउथ सिर्जना हुने हो । 
 
नेपाली र भारतीय फिल्मको विकास श्रुति परम्पराबाट उद्भव भएको हो । हेर्नेभन्दा पनि सुन्ने परम्परा हाम्रो इतिहास हो । यो सभ्यताले आँखाभन्दा कानको भूमिकालाई महत्व दियो । रामायण र महाभारतजस्ता एपिकले श्रुति परम्परालाई हुर्काए । त्यही परम्पराको जगमा हुर्किएको बलिउड र नेपाली सिनेमा प्रवृत्ति बन्यो –कान । कान भन्ने अंग जोडिने वित्तिकै पंचलाइन अर्थात मौखिक संवाद भन्ने बुझिन्छ । जनजिब्रोमा ट्वाक्क बोलिने र हाँस्यरस सिर्जना गर्ने पंचलाइनलाई दर्शकले रुचाउँदा छन् । छक्का पञ्जाको यो बलियो विशेषता रह्यो । 
 
फिल्म समाजको ऐना हो भन्ने मूल्यलाई म सीधै अस्वीकार गर्छु । बरु, फिल्म समाजको चल्ने चित्र हो, कालखण्डलाई कपि गर्ने कार्बन होइन । फिल्मसँग बदलिएको समाज चित्रण हुन्छ । दशकदेखिको रेमिटेन्स यथार्थलाई छक्का पञ्जाले चित्रण गरेको छ र गति कैंयौं दशकसम्म निरन्तर हुन्छ । छक्का पञ्जाको सकारात्मक पाटो हो यो । यदि फिल्म कार्बन कपि भएको भए, छक्का पञ्जामा सेल्फी कल्चर, फेसबुक खाता, एटीएमजस्ता प्राविधिक शब्दावली सिर्जना हुने थिएनन् । किनभने, फिल्म ऐना होइन, बग्ने नदी हो । छक्का पञ्जा बगेको छ । 
 
केही तात्कालिन कारण छन् छक्का पञ्जा हिट हुनुमा तर यी प्रधान भने होइनन् । जस्तै, टिभी सिरियलका हिट कलाकारको क्रेज, संगीत, जोक्स, बलियो वर्ड अफ माउथ इत्यादी । उत्पादन बिक्न बजारसँग त्यसको सम्बन्ध हुनुपर्छ । त्यो बजारको निर्माण समाजले बनाउने हो । छक्का पञ्जा समाजसँग नजिक थियो । छक्का पञ्जा बुझ्न समाज बुझ्नुपर्छ । समाजको बनोट, अर्थतन्त्र, मानवीय सम्बन्धमा पटकथा बुनिने हो र त्यसको सेटिङ । मान्नूस या नमान्नूस, लगभग सबै देशसँग व्यापार घाटा खेपिरहेको नेपाली भूगोलको यथार्थ विप्रेषण नै हो । यसका लागि राष्ट्रबैंकमा तथ्यांकको ठेली पल्टाए पुग्छ । भूगोलको भाषा हुन्छ । 
 
'छक्का पञ्जा'ले त्यो भाषा बोलेको अवश्य हो । 
28 dislike 2

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.