Font   font-increse   font-dicrese

नेपालमा आइ म्याक्सको भविष्यबारे सोचेका छौं : नकिम उद्दिन

नेपाली सिनेमामा कर्पोरेट, डिजिटल र मल्टिप्लेक्स संस्कृति निर्माणको श्रेय नकिम उद्दिनलाई जान्छ । प्रदर्शक संस्था चलचित्र संघका अध्यक्ष एवं अग्रणी मल्टिप्लेक्स चेन प्रमुख समेत रहेका उद्दिनको सपना नेपाल र विदेशमा समेत क्यूएफएक्स विस्तार गरि दर्शकलाई आधुनिक सेवा एवं सुविधामा फिल्म देखाउनु हो । उनले हामीसँग नेपालमा आइम्याक्स स्थापनाको भविष्यबारे पनि कुरा गरे । मेरोसिनेमा सम्पादक विष्णु शर्माले उद्दिनसँग यी विविध आयाममा संवाद गरेका छन् ।

 



बजेटले सिनेमालाई सम्बोधन नगर्नुलाई कसरी लिनुभएको छ ?
अहिलेसम्म उद्योगको मान्यता दिएको छैन । चलचित्र क्षेत्र सँधै नेग्लेक्टेड सेक्टर छ । झनै यो बजेटले नेग्लेक्ड फिल गराएको छ । व्यापार हिसाबमा हेर्ने हो भने सरकार र संविधान व्यापारमुखी छैनन् । संसारभर नीजि क्षेत्रलाई नम्बर वान मानिन्छ । नेपालमा नम्बर थ्रीमा राखिएको छ । यसले देखाउँछ कि राज्यको नीजि क्षेत्रप्रतिको नीति उदार छैन ।

बक्सअफिस अर्थात इ टिकेटिङको भविष्य नेपालमा कस्तो देख्नुभएको छ ?
राज्यले नीतिमा पनि ल्याइसक्या कुरा हो यो । आर्थिक रुपमा कमजोर हललाई विकास बोर्डले आर्थिक सहयोग गरेर गर्न पाएको भए यो प्रोसेस छोटिन्थ्यो होला । अन्ततोगत्वा, सबै जना यसमा जानु नै पर्छ । संसारै त्यता गएको बेलामा हामी विपरिततर्फ जाऊँ भन्ने कोही हुँदैन । जुन सिनेमा घर आर्थिक रुपमा कमजोर छन्, ती हललाई सहयोग गर्न विकास बोर्डसँग छलफल गरेर अघि बढ्नुपर्ने देखिन्छ । जबसम्म इ टिकेटिङ हुँदैन, तबसम्म त्यो हलमात्र होइन, इन्डष्ट्रि नै म्यानेज हुँदैन ।

मल्टिप्लेक्स उदयलाई कसरी लिने ?
हिजो भर्खर हेटौंडामा ओम, ओम्याक्स खुले । अर्को मलमा नयाँ हल पनि छ । हामीले हेर्दाखेरि हेटौंडामा शुक्रबार, शनिबार र आइतबार हल चल्ने रहेछ । तर, मंगलबार, बुधबार र विहिबार हल बन्दै हुने रहेछ । भन्दाखेरी, हेटौंडामा फिल्म हेर्ने पपुलेसन नै रहेनछ त । जसले बजार नबुझेर हचुवाको भरमा नयाँ सिनेमा हल खोल्छ, लगानी गुम्ने जोखिम त हुन्छ नै । उनीहरुले बुझ्न चाहे हामीले संस्थाबाटै गाइड गर्न सक्थ्यौं होला । तर, संस्थामा सल्लाह गर्न आउने संस्कार नै छैन । यसले गर्दा आगामी दिन चुनौतिपूर्ण छ । अहिले बिराटनगरमा एउटा हल बन्दैछ, दुईटा नयाँ बन्ने तयारीमा छन् । त्यहाँ पनि ठूलो मार्केट छैन । एकापसमा लडेर मर्ने उपाय देखिन्न । यसो भन्दैमा हामी गएर राज्यलाई पपुलेसन र किलोमिटरको हिसाबले हल बनाउनु परो भन्ने कुरा सान्दर्भिक भएन । व्यापार गर्न स्वतन्त्र छ । लगानीकर्ताले बुझ्नुपर्छ कि यो लगानी उचित छ वा छैन । म संस्थामा आएर सल्लाह गर्न सुझाव दिन्छु ।

क्यूएफएक्सका आगामी योजना कस्ता छन् ?
क्यूएफएक्सले अहिले दुई किसिमले नेपालभरि लगानी गर्छ । एउटा फ्रेन्चाइज मोडेल र अर्को चाहिँ आफै लगानी गर्ने । यी दुई मोडेलअन्तर्गत हामीले काम सुरु गरेका छौं । जसअनुसार नारायणगढबाट यो मोडेल थालनी गरेका छौं । दर्शकले गृहजिल्लामा क्यूएफएक्समा फिल्म हेर्न पाउनुहुन्छ भन्ने विश्वास हाम्रो छ । नेपालबाहिर हामीलाई अहिले भुटान र सिक्किमबाट प्रस्ताव आइराखेको छ । पहिले हामी नेपालभित्रै काम पुरा गर्ने तयारीमा छौं । एक डेढवर्षभित्र हुनसक्ने नेपालका ठाउँमा हल विस्तार गर्नेछौं ।

नेपालबाहिर लगानीको हिसाबले जान पाइएन । राज्यले लगानी गर्न दिँदैन । चलचित्र नीतिमा एफडीआइ (प्रत्यक्ष वैदेशिक लगानी) अनुमति दिएर विदेशमा पनि लगानी गर्न पाउनुपर्छ भन्ने कुरा हामीले राखेका छौं । यदि यसो भएन भने हामीले फ्रेन्चाइज मोडेलबाट विदेशमा गएर हल खोल्छौं ।

पहिले फिल्म बनाउँदा बनाउँदै प्रदर्शनतर्फै केन्द्रित हुनुभयो । अब फिल्म निर्माणलाई के गर्नुहुन्छ ?
हामीले अस्ती सरसर्ती एउटा हिसाब हेर्दा, एउटा नेपाली फिल्मले क्यूएफएक्समा जति व्यापार गर्छ । नेपालभरि व्यापार गरेको पचास प्रतिशत क्यूएफएक्सबाटै आउने रहेछ अहिले । हामीले आफ्नो एक्जिविसन गोल नेपालभर मिट गर्न सक्यौं भने मात्र बल्ल प्रोडक्सन गर्न मिल्छ । विगतमा हामीले सानो संसार, कागबेनी र मेरो पार्टनर भाष्करले सुन्तली बनाउनुभो । हामीलाई यी तीनै फिल्म मेकिङबाट घाटा लाग्यो । तिनै फम्र्याट र सेरोफेरोमा आज डिजिटल फिल्म बनिरहेका छन् । यद्यपी, एउटा मार्गदर्शन गर्ने काम चाहिँ हामीले गर्दिराख्या छौं । बदलिँदो प्रविधि र अहिलेजस्तै पुनः फिल्ममा संकट आयो भने हामीले बजारलाई जागृत गर्न पुनः फिल्म बनाउँछौं । तर, आफैले कन्टिन्यू फिल्म बनाउने कुरा चाहिँ अहिले भन्न गाह्रो छ । हामी आफै क्रिएटर होइनौं । हामीले गर्न सक्ने भनेको लगानी हो । नेपालभरि क्यूएफएक्स जान्छ र यस्तै मल्टिप्लेक्स आउँछन् भने हामीले सोच्नुपर्ने हुन्छ । अब नेपाली फिल्महरुको व्यापार चाहिँ एकदमै राम्रो भएर आइसक्यो ।

पछिल्लो समय नेपालको अधिकांश जनसंख्या मध्यम वर्गमा उक्लिएको छ । मिडल क्लास दर्शकबाट सिनेमाको रुचि र माग कस्तो पाउनुभएको छ ?
बहुल जनसंख्या मल्टिप्लेक्समै गएर सिनेमा हेरिरहेका छन् । काठमाडौंबाहिर पनि मल्टिप्लेक्स खुल्न थाले भने, सबैजना मल्टिप्लेक्समै फिल्म हेर्छन् । संसारभर प्रमाणित कुरा हो, भविष्यको फिल्म बजार मल्टिप्लेक्सले धान्नेछ ।

आइम्याक्सलाई नेपालमा ल्याउनेबारे केही सोच्नुभएको छ ?
हामीले यसबारे सोचेका पनि छौं । आइम्याक्स भनेको एकदमै महंगो प्रविधि छ । यसको प्रोजेक्सन सिस्टम पेटेन्ट हो, जसलाई आइम्याक्सले मात्र बनाउँछ । मैले ग्लोबल आइम्याक्सका सीइओ चिन्ने भएकोले उहाँले मान्छे पठाइदिएर, नेपालमा सर्भे गरिएको हो । ठूलो लगानी गर्नुपर्ने भएकाले तुरुन्तै नेपालमा आइम्याक्सको सम्भावना म देख्दिँन । तर, भविष्यमा पक्कै हुनसक्छ ।

6 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.