Font   font-increse   font-dicrese

सम्पादकीय : बक्सअफिस भविष्यमा बजेटको प्रहार

सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेट प्रस्तुत गरेको छ । चलचित्र विकास बोर्डले बक्सअफिस स्थापनाका लागि सात करोड प्रस्ताव गरेको थियो । संचारमन्त्रीले सार्वजनिक समारोहमै बक्सअफिस बनाउने प्राथमिकता सुनाएका थिए । तर, बजेट आएसँगै यसले हर्ष होइन, सिनेमालाई निराश तुल्याएको छ ।

 



चलचित्र विकास नीति र उद्योगको मान्यता दिलाउने जस्ता ठूला निर्णयको पर्खाइमा बसेका सिनेकर्मीलाई यसपटकको बजेटले घात दिलाएको मात्र छैन, बक्सअफिस तत्काललाई टरेको हो कि भन्ने सशंय पैदा गरिदिएको छ । यदि यो ‘कन्सपेरेसी थ्योरी’ सत्य हो भने, सबैले आशा राखेको इ–टिकेटिङ अर्थात बक्सअफिस दूरदराजको मुद्दा बन्न सक्छ । तर, यसो हुन दिनुहुँदैन ।

अहिले बक्सअफिसलाई लिएर दुईखाले धारणा सतहमा छन् । प्रदर्शक संस्था चलचित्र संघले हलहरुको स्तरमा सुधार भएसँगै क्रमशः इ–टिकेटिङ लागु हुने बताएको छ । अर्कोतर्फ चलचित्र विकास बोर्डले यसवर्षभित्रै बक्सअफिस लागु हुने बताउँदै आएको थियो । यी दुई धारणा व्यक्त भैरहेको बेला प्रस्तुत बजेटले बोर्डको योजनामा अवरोध तुल्याएको हो कि भन्ने भान हुन्छ । यदि, संचार मन्त्रालयले आन्तरिक खर्चमै बक्सअफिस बनाउने हो भने, पक्कै यो सुखद कुरा हुनसक्छ ।

संचारमन्त्रीले बक्सअफिस स्थापनाका लागि वर्तमान विकास बोर्डलाई सहयोग अवश्य दिनुपर्छ । फरक राजनीतिक दलको आस्थाकै आधारमा बक्सअफिसजस्तो सिंगो उद्योगको आशामा तुषारापात हुने अवस्था आउन दिनुहुँदैन । किनभने, बजेट पछाडि चलचित्र क्षेत्रमा निराश भाव सम्प्रेषण भैरहेको छ । भीरबाट खस्न लागेको जस्तो महसुस हुने चलचित्रलाई सरकारले सहयोग गर्नुको विपरित, उल्टै बेवास्ता गर्नु जायज होइन । यसले राज्य आफ्नो कला संस्कृतिप्रति कति संवेदनशिल छ भन्ने कुराको बोध गराउँछ । संस्कृतिको प्रवद्र्धन कुनै समुदाय र क्षेत्र विशेषले गर्ने कुरा होइन । राज्यको प्रवद्र्धन र संरक्षण नपाएसम्म कला संस्कृति विकास हुन पाउँदैन । यसपटकको बजेटबाट सरकार सिनेमालाई लिएर हदैसम्मको गैर जिम्मेवार देखिएको छ ।

यस्तो भन्दैमा चलचित्र विकास बोर्डपनि आफन दायित्व र अभियानबाट विमुख हुनु हुँदैन । लगातारका आन्दोलन र संघर्षबाट नेतृत्वमा आएको अहिलेको टीमले सरकारलाई दबाब दिने रणनीति अपनाउनुपर्छ । बोर्डको मूल ध्येय गहन अर्थ लाग्ने र उद्योगको नक्सालाई नै बदल्ने इस्युमा केन्द्रित हुनु जरुरी छ ।

विष्णु शर्मा

1 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.