Font   font-increse   font-dicrese

कालोपोथी द्धन्द्धलाई पर बसेर भनिएको इमान्दार कथा : मीन भाम (संवाद)

दृश्य कथा वाचक बन्ने सपना पालेर कर्णाली थलो मुगुबाट काठमाडौं हेलिएका ठिटा मीन भाम निर्देशित 'कालो पोथी' जेठ २१ मा रिलिज हुँदैछ । भेनिससहितका विश्वका प्रतिष्ठित फेस्टिभलमा राम्रो समिक्षा बटुलेको यो फिल्मलाई लिएर नेपालमा समेत उत्साह छ । यसैसाता मीनले मेरोसिनेमासँग सम्पादक विष्णु शर्मासँग फिल्म, सिनेम्याटिक ल्यांग्वेज, निर्देशन र चुनौतिका आयामबारे खुलेर कुरा गरे । (अडियोसहित)

 



ट्रेलरको अन्त्यमा दुई बालक पात्रको न्यूड सट्को आइडिया डिजाइन कसरी भयो ?
ती दुई पात्रको जीवन कसरी गाइड भएको छ र त्यसको प्रभाव कसरी भएको छ भन्ने कुराको रिफ्लेक्सन देखाउन सट् रचिएको हो । हातमा लागेको ब्लड सङ्लो पानीमा पखालेको देखाएका छौं । हामीले चाहेर पनि त्यो गर्न सक्दैनौं तर उनीहरुमार्फत देखाउन खोजेका हौं । यो एउटा विम्व हो ।


त्यो सट् देखाउँदा तपाईंलाई नेपाली समाजमा रहेको भल्गारिटी र सेन्सुआलिटीतर्फ ध्यान गयो वा गएन ?
हाम्रो सोच आएको थियो तर, कथावस्तुतर्फ फर्किएर हेर्दा त्यो जायज लाग्छ । त्यो दृश्यमा रगत पखालेको सट् छ । त्यो दृश्यमा लुगा लगाउँदा मलाई ठीक हुँदैन जस्तो लाग्यो । अर्को कुरा, जब हामीले लुगा लाउँछौं, हामीले केही चीजले ढाक्दैछौं भन्ने हुन्छ । बाल मस्तिष्कको निर्दोषपनालाई लुगा लगाएर छोप्दा के अर्थ रह्यो र ।

कालो पोथी किन हेर्नुपर्छ ?
मौलिक नेपाली कथा हो । मासले मन पारिदियोस् भन्ने बहानामा हामीले क्रिएटिभ कम्प्रोमाइज चाहिँ गर्दै गरेका छैनौं । बच्चाहरुको सरल कथा छ । द्धन्द्धकालमा कर्णालीका दुई बच्चाले एउटा कुखुरा जोगाउन गरेको प्रयत्न र उनीहरुले भोगेको परिदृश्यमा कथा छ । प्राविधिकरुपमा अझै हामीलाई चित्त बुझेको छैन । अझै गर्न पाए, राम्रो हुन्थ्यो भन्ने लाग्छ । पोस्टप्रोडक्सन युरोपमा गरेका छौं । टेक्निकल कम्प्रोमाइज पनि छैन जस्तो मलाई लाग्छ ।


फेस्टिभल र प्रतिष्ठित मिडियाले पनि समिक्षा गरे । सुझाव र सल्लाह कस्तो पाउनुभयो ?
फेस्टिभलमा दर्शकसँग अन्तक्रिया हुँदा हामीले पाएको निष्कर्ष थियो –एकदमै पर बसेर द्धन्द्धलाई हेरिएको कथा । कुनै पनि पक्षमा समावेश नभएर तटस्थ बसेर भनिएको कथा । अर्कोतर्फ, एकदमै ‘र’ काम छ तर इमान्दारीपूर्वक भनिएको कथा सुझाव पाइयो । क्रिटिक्स र दर्शकले मनपराउने लडाइँ र द्धन्द्धको कथाभन्दा निकै पर छ । दर्शकले बच्चाको अभिनय र (काँचो) छ भने तर क्रिटिक्सले अर्गानिक बताए ।

द्धन्द्धको मार पुरै देशले खेप्यो । तर, दुगर्म थलो कै कथा भन्नुपर्ने आवश्यकता किन ?
म त्यही ठाउँमा जन्मिए र हुर्किएँ । मैले त्यही ठाउँमा बसेर देखेको परिदृश्य म भित्र उकुसमुकुस भएर बसेका थिए । त्यही चीजलाई यही टाइममा एक्सप्रेस गर्नुपर्छ भन्ने थियो । म अहिले काठमाण्डूमा बस्छु । यहाँको बाहिर दुनियाँ म देख्न सक्छु तर भित्री दुनियाँ देख्न सक्दिँन । त्यो मेरो ब्लड, नेचर र मनमा पनि छैन । यसकारण मैले बनाउन फिल्म कर्णाली र हिमालतिरकै कथा हुन्छन् ।

तपाईंको न्यारेसन के बाट प्रभावित छ ?
खास त्यस्तो केही पनि छैन । सिक्ने कुरामा संसारका धेरै अनि समकालिन स्टाइल पढेँ र बुझेँ हुँला । यस्तो कुरोको युज गर्ने मोडल युरोपमा निकै पपुलर छ । मलाई साथीहरुले पनि अलिकति साना कुरामा केन्द्रित हुन सुझाएका थिए । अहिलेपनि युरोपमा नबोलेरै व्यक्त गर्ने संस्कृति छ । उनीहरु साना चीजलाई सुक्ष्म तरिकाले हेर्छन्, बाउन्ड्री राखेर हेर्ने समाज छैन । तर, हाम्रो पूर्वीय भरत नाट्यम शाष्त्रमा बोलेर बुझाउने चलन छ । यो हाम्रो जीवन र संस्कृतिको भाग पनि हो ।

हामीले उताको संस्कृति र परिवेशलाई पनि ग्रहण अनि पूर्वीय धरातल पनि नछाडिकनै आउनुपर्छ भन्ने लाग्छ । म उदाहरण दिन चाहन्छु : भुकम्पको बेला घर भत्किएर सबै गुमाएकी एकजना भक्तपुरकी बुढी आमाले बीबीसीका पत्रकारलाई गरेको आतिथ्यता मर्मस्पर्शी थियो । आफैले खाने लाउने ठेगाना नभएको अवस्था उनले ती पत्रकारलाई खाना खाने अफर गर्नुभयो । हामी निर्दोष छौं भन्ने प्रमाण हो । क्रिटिक्सले पनि मलाई भने, लास्टमा बाहेक तँ ती सहभागि नै भइनस् र तटस्थ बसिस् । जोगिन खोज्या हो कि भन्दै थिए ।

नेपाली सिनेमाले सुधार्नुपर्ने कुरा के छ ? सेटब्याक कहाँनेर खाइरहेको छ ?
मेरो व्यक्तिगत अनुभव भन्दा, हामीले सुरुमा कथा छनौटमै चुक्यौं मसहित । म अरुलाई दोष लाउँदै छैन । के कथा हामी भन्ने कुरामा हामी अन्यौल बन्यौं । हामी परिवारका अरुलाई के मनपर्छ भनेर खाना पकाउँदैनौं, हामी आफूलाई के मनपर्छ भनेरै पकाउँछौं । हामी सुरुमै चुक्छौं, अरुलाई के मनपर्छ भनेर । अनि स्क्रिप्ट र रिसर्चको कुरामा । दुई महिनापछि फ्लोरमा जान्छ, कथा भर्खरै लेखिँदै गर्छ । यो हामी सबैको दुर्भाग्य हो । म कसैलाई दोष लाउँदै छैन । मेरो आफ्नै दुर्भाग्य पनि सायद यही हो ।

हामी प्रोफेसनल कति छौं भन्ने कुराले पनि अर्थ राख्छ । म कथा र पात्रलाई न्याय नहुन्जेल मैले पनि कतिपय साथीभाईलाई रिक्वेस्ट गर्दिन । चलेका र स्टारकास्ट भएको भए मलाई प्रमोसनमै सहयोग हुन्थ्यो होला । तर, पनि हामी यो कुराबाट गाइड भइराख्या छौं । अर्कोतर्फ, फिल्मको इन्टेसन नै गलत छ जस्तो लाग्छ हाम्रो ।

 

फिल्म के का लागि बनाउने भन्ने कुरा नै अप्ठ्यारो जस्तो लाग्छ । हजारौं सम्भावनालाई त्यागेर रोजिएको पेशा हो यो मेरा लागि । यसमा चुकेँ भने भाँडा माझ्न आउँदा पनि आउँदैन । यो मेरा लागि धर्म र पूजा हो । यसमै मैले न्याय गर्न सकिँन भने कठिन हुन्छ । पैसा नै कमाउने भए, मुगुमा गएर लाखौं तलब खान्थेँ होला । फ्रेन्च र जर्मनी प्रोड्युसरले नागरिकतै लिन अफर गरेका छन् । कम्पनीमा ९ हजार युरोको माग पनि गर्नुभयो तर, फिल्म बनाउने इन्टेन्सनमा मैले कम्प्रोमाइज गरिँन । मलाई पपुलर हुने कुरासँग एकदमै डरपनि लाग्छ । इन्टेसनमा हामी चुकेका छौं ।

प्राविधिक कुरामा हामी चुकेका छौं । इम्प्रेसन पार्नको लागि मात्र हामीले प्राविधिक कुरामा चासो राख्यौं । भन्दै गरेको कथालाई प्राविधिक कुराले कति मद्दत गर्छ भन्नेतर्फ सोचेनौं । हामी अलमलमै चलिरहेका छौं । बजार र सेन्सरसिप हाम्रो अर्को समस्या हो ।

13 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.