Font   font-increse   font-dicrese

'कबड्डी कबड्डी' पैसा र कला दुबै : रामबाबु गुरुङ (संवाद)

 

रामबाबु गुरुङले हालैको एक चिसो दिउँसो हामीसँग कफि पिए । मंसिर ११ गते सहरमा रिलिज हुने गाउँले कथा ‘कबड्डी कबड्डी’बारे उनी गफिए । ‘अनागरिक’ नामक फिचर फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका गुरुङले डकुमेन्ट्री पनि निर्देशन गरेका छन् । उनको कथामा दर्शकले ग्रामिण समाजको सौन्दर्य, पात्रहरुको संघर्ष र मनोविज्ञान पाउन सक्छन् । ‘कबड्डी’बाट उनले समिक्षा र बक्सअफिसमा पैसा छापे । मेरोसिनेमाको तर्फबाट विष्णु शर्माले गुरुङसँग संवाद गरेका थिए ।

‘कबड्डी कबड्डी’ किन हेर्नुपर्छ ?
अघिल्लो ‘कबड्डी’भन्दा बढी मनोरन्जन दर्शकले यसमा लिन सक्छन् । यसमा उही पात्रहरुको भूमिकाले दर्शकलाई इन्टरटेन गर्छ । क्यारेक्टरले यसअघि जुन इमेज बनाएका छन् त्यसलाई भिन्न ढंगमा देखाइएको छ । समाजमा हुने चुनावको इभेन्ट, पात्रले त्यससँग गर्ने संघर्ष र प्रेमकथा नै ‘कबड्डी कबड्डी’को कथा हो ।

पहिले प्रेम थियो, अहिले राजनीति घुसेको छ । यो आवश्यकता किन परेको हो ?
यसपटक पनि लभस्टोरी नै हो । गाउँमा हुने संसदीय चुनावको बेला हुने प्रेम सम्बन्ध पनि छ । चुनाव छुट्टै पाटो हो । प्रेम छुट्टै पाटो हो । चुनावमा हुने माहौल र गाउँको चुनावमा मैले भोगेको अनुभवले गर्दा फिल्ममा राजनीति समावेश गरिएको हो । मुख्य कन्टेन्ट त लभ नै हो ।

कथा भन्नको लागि मुस्ताङको थकाली समाज नै किन रोज्नुभयो ?
समाजमा आधारित कथाप्रति म आकर्षित हुन्छु । जातजाति, समुदाय, संस्कृति र भौगोलिक विविधताले मलाई आकर्षित तुल्याउँछन् । कुनै समुदायलाई आधारित कथावस्तु ल्याउने हो भने दर्शकले त्यसमा आफ्नोपन महसुस गर्छन् । सबैले मनपराउने र भिजुअल सौन्दर्य पनि हुने भएकाले मुस्ताङ रोजिएको हो ।

धेरैले सहरको कथा भन्छन् । गाउँको कथा भन्नु किन आवश्यक छ ?
कथा जहाँको भनिएपनि, कसरी र कस्तो कथा भन्छ भन्ने कुरा हो । गाउँको कथा भन्दा राम्रो हुने तर, सहरको भन्दा नराम्रो हुने भन्ने होइन । पूर्ण चलचित्रले कस्तो कथा भन्यो र दर्शकले के बुझे भन्ने कुरा महत्वपूर्ण हो ।

दयाहाङ र सौगात मल्लजस्ता हेभिवेट कलाकारलाई कसरी स्थापना गर्नुभयो ?
अधिकांश यसअघि नै बिल्डअप भैसकेका पात्र छन् । यसले सजिलो भएको हो । तर, अघि बढेको कथाअनुसार पात्रलाई कसरी कथा बोकाउने र नयाँ कथामा कसरी घुसाउने भन्ने चुनौति त भयो नै । पात्रको डिजाइनको लागि कसरत गर्नुपरेको थियो ।

तपाईंले उपेन्द्र सुब्बासँग लेखनमा सहकार्य गर्नुभएको छ । लेखनका लागि दुईजनाको आवश्यकता किन ?
म आफूले अनुभव गरेको कुरा भनेको –नेपाली फिल्ममा स्क्रिप्ट कमजोर छ भन्ने हो । स्क्रिप्ट भनेको फिल्मका लागि नक्सा हो । साहित्यको क्षेत्रमा उपेन्द्र सुब्बा आफै एउटा कथाकार हो । कथाकारले नयाँ समाज, नयाँ परिवेश र नयाँ पात्र भोगिरहेको हुन्छ । ती चीजलाई नयाँ ढंगले प्रस्तुत गर्ने खुबी उनीहरुमा हुन्छ । आफैमा एउटा साहित्यकार भएको कारणले पनि उहाँसँगको सहकार्यलाई आवश्यकता ठानेको हो । कथा भन्ने शैलीमा उसको र मेरो विचार नजिक हुन्छ । स्क्रिप्ट लेखन प्रक्रियामा म उसँग सहज महसुस गर्छु ।

‘कबड्डी कबड्डी’ कला हो वा पैसा ?
फिल्म भनेको यस्तो चीज हो, जुन कला पनि हो र पैसा पनि । कलालाई कसरी पैसामा बेच्ने भन्ने कुरा हो यो । फिल्म आफैमा कला त हुँदै हो र सँगै व्यवसायिक पाटो पनि हो ।

कबड्डीको आगामी सिक्वेलको योजना कस्तो छ ? मुस्ताङकै कथालाई निरन्तरता दिनुहुन्छ वा हुँदैन ?

कबड्डी भन्दा अगाडि केही प्रोजेक्ट छन्, त्यसलाई अगाडि लैजान चाहन्छु । कबड्डीको आगामी सिक्वेलमा सायद मुस्ताङ छाडेर अर्को कुनै नयाँ ठाउँ डिजाइन गर्छु होला । तर, सिक्वेल चाहिँ आउँछ ।

टिजर रिलिजपछि धेरैले कबड्डी कबड्डीलाई अघिल्लो फिल्मजस्तै भएको बताएका छन् । के भन्नुहुन्छ ?

त्यसरी विश्लेषण गरिनु राम्रो कुरा हो । एउटा चीज बनाइसकेपछि एउटा सजर्कले दोस्रोपटक बनाउनु खास राम्रो लाग्दैन आफैलाई पनि । अघि प्रश्नमा सोधिएजस्तो यो कुरा, पैसा र कलासँग पनि सम्बन्धित छ । दर्शकले टिजर र ट्रेलरलाई लिएर जुन विश्लेषण गर्नुभएको छ, त्यो सहि कुरा हो र त्यही स्वाद नै पाउनुहुन्छ । पहिलेजस्तो, सिक्वेलजस्तै हो । त्यसबाट टाढा छैन । कथा केही जटिल छ । पात्रहरुले अर्को समयमा भोगेको नयाँ कथा हो । विषयवस्तु पूर्णरुपमा भिन्न छ ।

10 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.