Font   font-increse   font-dicrese

नेपाली सिनेमाको औचित्यमाथि एक निर्देशकको बयान (ब्लग)

हिमग्याप लामा 'टासी'

हजार उदाहरण व्यक्त गरेर नेपाली चलचित्रको पृष्ठ केलाइरहनुभन्दा यथार्थलाई स्वीकारेर वर्तमान र वास्तविक नेपाली चलचित्रबारे कुरा गर्नु सान्दर्भिक हुन्छ । मै हुँ भन्ने निर्देशक, निर्माता, कलाकार, विश्लेषक, पत्रकार सबैले नेपाली चलचित्रको अवस्थाबारेमा साँचो कुरा गर्न ढिला भईसकेको छ ।

 



चलचित्रमा आफ्नोपन केही हुँदैन, न त मौलिकपन नै । के साँच्चै हामी नेपाली चलचित्रको मलामी गइरहेका छौ ? हिन्दी र केही अंग्रेजी चलचित्रको जन्ती गएर  खुशी हुने संस्कार बनाउँदैछौ ? नेपाली चलचित्रमा सक्रिय व्यक्ति अर्काको चलचित्र डुवोस्, भनेर कामना गर्दै बस्ने गर्छन् ।  डुबिहाल्यो भने खुशीमा 'चियर्स' गर्ने चलन नयाँ होईन । कुनै सिनेमाले राम्रो व्यापार गरिहाल्यो भने त्यही क्षेत्रको अर्कोलाई मार टाउको दुख्नु नै सिनेमा क्षेत्रको दुर्भाग्य हो । सानो मुलुकको सानो उद्योगमा सक्रिय नै एक अर्काको असफलताक लागि मन्त्र जपेर वस्छन्,भने कसरी समग्र सिनेमा फस्टाउछ ? समस्या हाम्रो मन र मस्तिकष्मा छ ।

अहिले नेपाली सिनेमालाई समयसापेक्ष गराउनेभन्दा पनि जसरी-तसरी एउटा चलचित्र बनाउने अनि मन्त्री, नेता सभासद या समाजमा प्रतिष्ठितलाई  ज्यू-ज्यू गर्दै 'फ्रि'मा हलमा स्वागत गर्ने र  खाजा ख्वाएर  उसैसंग फोटो खिचेर पत्रपत्रिकामा 'न्यूज' हाल्ने प्रवृत्तिले नेपाली चलचित्र उँभो लाग्नेवाला छैन् ।

तीनै व्यक्ति भारतीय चलचित्र हेर्नलाई दुई दिन अगाडि नै टिकट 'बुक' गरेर परिवार र साथीभाइसँग हलमा पुग्छन् । अनि त्यही भवनको अर्को हलमा चलदै गरेको नेपाली चलचित्र नहेरी टिकाटिप्णी गर्छन्  । अझ तीनै उपबुज्रुकहरु सामाजिक संजालमा भारतीय चलचित्रको भद्दा प्रशंसा गरेर नेपाली चलचित्रको आलोचना गर्न पुग्छन् । अब नेपाली चलचित्रको विकास नहुनुमा चलचित्रकर्मी, निर्देशक र निर्माता मात्र कसरी जिम्मेवार हुन सक्छन् ?

छोटो प्रसङ्ग 'भीमदत्त'को । 'भीमदत्त' सिनेमाको निर्देशन मैले गरे । अभिनेता एवं निर्माता नवल खड्काले महान योद्धाको योगदानमा आधारित चलचित्र 'भीमदत्त' बनाउनु पर्छ भन्दै मलाई प्रेरित गरे । नेपाली सिनेमामा यस्ता व्यक्तिमाथि चलचित्र नबनेका बेला मैले पनि अवसरलाई सदुपयोग गरेँ । इतिहासले कुनै दिन भीमदत्तजस्ता वीर योद्धा जन्माएको थियो । जसले नेपाल आमाको अस्मिता बचाउन आफ्नै सेना तयार गर्यो । भारतीय साम्रज्यवादसँग लड्यो ।  गरिबका पक्षमा आन्दोलन गर्यो । यस्ता योद्धाको उचित मूल्याङ्कन गर्न हामी चुक्नु हुँदैन । यस्तै चलचित्रको माग छ भन्ने महसुस गरेर बनायौ 'भीमदत्त'  । तर, खोइ ती योद्धाप्रतिको सम्मान अनि मूल्याङ्कन ?  यदि भीमदत्त पन्त अमेरिका वा भारतमा जन्मिदिएको भए र 'भीमदत्त' चलचित्र अमेरिका वा भारतमै बनिदिएको भए हामी नेपालीहरु हल भर्न दौडने थियौ । नेपाली चलचित्र भवनमा' ब्ल्याक'मा टिकट किनबेच गरिन्थ्यो होला ।

दुर्भाग्य वा सौभाग्य भीमदत्त नेपालमा जन्मे र चलचित्र 'भीमदत्त' पनि नेपालमै बन्न पुग्यो । नेपालमै बनेको चलचित्र भीमदत्त अमेरिका वा भारतका चलचित्र भवनहरुमा प्रर्दशन हुने कुरा त परै छाडौं, नेपालकै चलचित्र भवनमा चलिरहँदा नेपालका आम मानिसहरुले गर्वका साथ शहिद भीमदत्त पन्तले मातृभूमी नेपाल आमाको अस्मिता बचाउन गरेको क्रान्तिका बारेमा केही जान्ने अवसरलाई सदुपयोग गर्नुपर्छ भन्ने भावना पनि हामीसँग भएन  ।

नेपाली पहिचान भएको चलचित्र कुन हो भन्दा हामी के–के लाई छान्छौं ? यो हाम्रो लागि ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ । सबै नेपाली चलचित्र सेन्सर बोर्डबाट पास भएको चलचित्रलाई नेपाली पहिचान भएको चलचित्र हो भन्न मिल्छ कि मिल्दैन ? जस्तै सबै अंग्रेजी भाषा बोलिएको चलचित्रलाई हलिउड चलचित्र मानिदैन ? त्यस्तै नेपाली भाषा बोल्दैमा नेपाली चलचित्र हुन्छ ? अमेरिकन 'फिल्म इन्डष्ट्रि' र 'हलिउड फिल्म इन्डष्ट्रि' फरक भए जस्तो नेपालमा पनि त्यस्तै किसिमको भिन्नता हुनु पर्ने हैन ?

महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१४ सालमा ११० दिनको शिक्षा मन्त्री हुँदा नेपालका स्कूल तथा कलेजमा नेपाली र हिन्दी दुबै भाषामा पढाई हुन्थ्यो र सरकारी कामकाजमा समेत हिन्दी र नेपाली दुबै भाषाको प्रयोग गरिन्थ्यो । भाषा र राष्ट्रियताको विषयलाई लिएर वहाँले नेपाली भाषामा मात्रै पढाई हुनुपर्छ र सरकारी कामकाज समेतमा नेपाली भाषाको मात्र प्रयोग गर्नुपर्छ भन्ने नीति ल्याउनु भयो । आजसम्म पनि हामी त्यही शिक्षा नीति अवलम्वन गरिरहेका छौं । सरकारी तवरको कामकाज समेत नेपाली भाषामै गरिरेहका छौं । आजका मितिमा देबकोटाजस्तै दुुरदर्शी र राष्ट्रभक्ति सञ्चार मन्त्रीको खाँचो छ । जसले भारतीय फिल्मलाई रोक लगाई नेपाली चलचित्र मात्रै प्रदर्शन गर्न अभिप्रेरित गर्नेछन् । तबमात्र नेपाली चलचित्र 'इन्डष्ट्रि'मा सुधार आउनेछ र नेपाली चलचित्रह पनि संसारले खोज्न सुरु गर्नेछ ।

दर्शक चलचित्रैबाटै ठगिएका छन् र चलचित्र पनि नेपाली दर्शकबाटै ठगिन पुगेका छन् । विशेषत: भारतीय  चलचित्रबाट नेपाली चलचित्रको दमन भईरहेको छ । घरघर र हातहातमा निःशुल्क प्रचारप्रसार अनि भारतीय चलचित्रका कलाकारहरु नेपाल भ्रमणमा रहेका बेला नेपाल सरकारले दिने सम्मान र 'मिडिया'ले दिने महत्व यसको प्रमुख उदाहरणको रुपमा लिन सकिन्छ । हाम्रा नेपाली चलचित्रका 'सुपरस्टार'हरुको पारिश्रमिक र 'स्टारडम'को कमजोरी हुनु र भएकाहरुको पनि स्थिर नरहनुले पनि नेपाली चलचित्रप्रतिको बुझाई दिनानुदिन कमजोर बन्दै गईरहेको छ ।

हाम्रा कलाकार अमेरिका वा भारतमा हुँदा त्यहाँको 'न्यूज च्यानल'को त कुरै छोडौं नेपालमै रहेका 'मिडिया'ले पनि चासो नदिनु तर उताका साना वा ठूला कलाकार जो सुकै यता आए पनि 'मिडिया'को 'हेडलाइन' बनिराख्नुले पनि नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा फरक आइरहेको छ । नेपालमा भारतीय  चलचित्रका दर्शक होइन, नेपाली जनता छन् र हाम्रा त दर्शक पनि छैनन्, जनताको त कुरै छाड्दिम् ।

हाम्रा चलचित्र प्रचारप्रसारका लागि हाम्रै साना 'मिडिया'मा लाखौं खर्च गर्नुपर्छ भने भारतीय चलचित्र ठूला 'मिडिया', भारतीय टेलिभिजन च्यानल तथा 'सोसियल नेटवर्क'मा 'फ्रि'मा हेर्न पाइन्छ, जसको थिचोमिचोमा हाम्रा नेपाली चलचित्रहरु दिनानुदिन परिरहेका छन् । हप्तै पिच्छे हलिउडका १ वा २, भारतीय सिनेमा २ वटा, साउथ इन्डियन १ अथवा २ वटा, भोजपुरी १ र नेपाली २ देखि ४ वटा एकै हल र एकै समयमा रिलिज गर्नुले पनि नेपाली चलचित्रको विकासमा हल मालिकह के सोच्दछन् भन्ने प्रश्न उब्जाएको देखिन्छ   ।

यो त बाघ र बिरालोको प्रतिस्पर्धा  गराए झै हो । यस्तो कुरा सुहाउला ? 'सेन्सर बोर्ड'को लापरबाही, सरकारको नालायक नीति, हलवालाको 'मनोपोली', निर्माता र निर्देशकको तालमेलको अभाव, कलाकारको अज्ञानता, दक्ष प्राबिधिक अभाव, कथा, पटकथा, संवादको खिचडीपन, 'डिष्ट्रिव्युटर्स'को मनोमानी, पत्रकार तथा समिक्षकले राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकतामा राख्ने लगायत यस क्षेत्रसँग सम्बन्धितको मपाईं , अर्धज्ञान र घमण्डका कारणले नेपाली चलचित्रको स्तर गिर्दोछ  ।

हाम्रा नेताले भारतीय चलचित्र हेरे 'हेडलाईन न्यूज'बन्छ।  सोही व्यक्ति राष्ट्रनायक भीमदत्त पन्तको जीवनमा आधारित चलचित्र हेर्न जाँदा 'हेडलाइन' बन्ने कुरा त परै छाडौं को गयो, के भयो चलचित्रमा के थियो भन्ने कुराको समेत अत्तोपत्तो हुदैन ।  चलचित्र भनेको केटाकेटीले चित्र केरमेर गरेको र भाँडाकुटी खेलेको जस्तो होइन । त्यसको पनि आफ्नै 'इथिक' र नियम हुन्छ । तब न चलचित्र, चलचित्र बन्छ । तर, बिना बुझाइमा नाम र प्रचारका लागि बनेका चलचित्रहरुले मिहेनत र खोज गरी बनाएका राम्रा चलचित्रलाई समेत बद्नामी गरिरहँदा 'चेकजाँच' गर्ने सेन्सर बोर्डको आँखा नखुल्नुलाई सरकारी स्तरको अन्धोपन भन्दा कुनै दुइमत नहोला ।

आजसम्म त हामी भारतीय चलचित्रको मात्र शोषणमा परेका छौं । त्यो भन्दा लाजमर्दो कुरा त भारतकै 'साउथ इन्डियन', 'हलिउड' र भोजपुरी चलचित्रमा हिन्दी भाषामा 'ड्रबिङ्ग' गरी ताइ न तुईको चलचित्र मिश्रणलाई प्राथमिकता दिई प्रदर्शन गरिन्छ र नेपाली चलचित्रलाई प्रदर्शन भएको २-३ दिनमै हलबाट हटाउन दवाव दिइन्छ । गोदाम जस्ता हलमा नेपाली चलचित्र लगाउने अनि आधुनिक हलहरुमा भारतीय चलचित्र लगाउने र उनीहरुले नै नेपाली चलचित्र चल्दैनन् भनेर प्रचार गर्ने यो कस्तो देशप्रेम हो ? सरकारी निककायबाट अत्याधुनक हल निर्माणको लागि स्वीकृतिसमेत दिइन्छ । उनीहरुलाई नेपाली चलचित्र अत्याधुनक हलमा लगाउन दवाव दिईंदैन । यस्ता हल भारतीय र हलिउड चलचित्र प्रदर्शन गर्न मात्रै निर्मित हुन्छन् । कसले बुझ्ने नेपाली चलचित्रको पीडा ?

राम्रा चलचित्र नबनेर यस्तो परिणाम आएको हो भन्छन् चलचित्र पण्डित र दर्शक पनि त्यसैलाई समर्थन गर्छन । हो बर्षमा सय माथि चलचित्र बन्ने गर्छन नेपाली चलचित्र । दुई -चार वटाले मात्र आफ्नो लगानी असुल भयो भन्छन् । सबैले भन्ने गर्छन- चलचित्र भनेको मनोरञ्जन र दर्शकाको चाहना अनुरुप भए अवश्य चल्छ । यसो हो भने के ९५ चलचित्र बिना मनोरञ्जनका थिए त ? किन दिइन्छ त यस्ता चलचित्र बनाउन स्वीकृत ?

मान्छे किन चलचित्र जस्तो विधामा लाग्छन् ? किन निर्देशक जस्तो पदलाई खेलाची गर्छन ? त्यसको साटो बरु अरु कुनै क्षेत्रमा लगानी र अध्ययन गरे केही त राहत मिल्ला  । ३ करोड जनसंख्या रहेको नेपालमा ५० हजार दर्शकले हेरे भने पनि लगानी सुरक्षित हुन्छ । यसरी हेर्दा नेपाली चलचित्र हेर्ने दर्शक जम्मा 0.16 भन्दा पनि कम छन् । भने नेपाली चलचित्र 'इन्डष्ट्रि'लाई नै किन निरन्तरता दिने ? (लेखक 'भीमदत्त' निर्देशक हुन् ।)

18 dislike 1

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.