Font   font-increse   font-dicrese

अलेजान्द्रोको ओस्कर अर्थ
यज्ञश

 

यो सिनेमाको कथा हो। यसमा राजनीति घुसेको छ। बजार पैसाको मात्रै चलखेल हुने स्थल होइन, बेलाबेला राजनीतिको पनि रणभूमि बन्छ। यसैले कला र बजारको कथामा राजनीति घुसेको छ।

हुनलाई यो एकजना मेक्सिकन फिल्म निर्देशक अलेजान्द्रो गोन्जालेजको सफलताको कथा हो। यो कथा सुरु हुन्छ दोस्रो विश्वयुद्धबाट। दोस्रो विश्वयुद्धले परिवर्तन गरेको राजनीति र शक्ति सन्तुलनले अमेरिकालाई महाशक्तिका रूपमा स्थापित गर्‍यो। रुसी महासंघको पतनपछि त यो एकछत्र नै भयो। कुनै देश वा विचार महाशक्ति बन्नु भनेको त्यसको सैनिक मात्र शक्तिशाली छन् भन्नु होइन। यसको अर्थ व्यापक हुन्छ। महाशक्तिको भाषा, संस्कृति र विचारसमेत शक्ति बन्न पुग्छन्। यसको उदाहरण हो अंग्रेजी भाषा र हलिउड फिल्म। बेलायतमा भएको औद्योगिक क्रान्ति र दोस्रो विश्वयुद्धमा अमेरिकाको विजयले अंग्रेजी भाषालाई शक्ति प्रदान गर्‍यो। बेलायत र अमेरिकाले संसारभर वास्तविक र भर्चुअल दुवैखाले उपनिवेशहरू कायम गरेपछि त भारतसम्मै अंग्रेजी भाषाको व्यापाक विस्तार भयो। यिनको सट्टा कुनै एसियन वा अफ्रिकी देश शक्तिशाली भएको भए तिनै संस्कृति र भाषाको विस्तार हुन्थ्यो होला। तिनकै छालाको रंग सुन्दर मानिन्थ्यो होला !

अमेरिकी फिल्म उद्योग हलिउडको कथा यसैसँग जोडिन्छ। प्रसिद्ध फ्रान्सेली निर्देशक ज्याँलुक गोर्दाडले हलिउडबारे बोलेका छन्, 'थोरै आदिवासी, केही प्रवासी र धेरै आप्रवासी मिलेर बनेको देश हो। यसको

आफ्नै कुनै सपना थिएन। यी सबैलाई एकीकृत गरी एउटै सपनामा बाँध्ने काम हलिउडले गर्‍यो।' भारतलाई रेलले जोडेको भनेजस्तै अमेरिकलाई हलिउड जोडेको छ भनेर धेरै वर्षदेखि भनिदै आएको छ। -अहिले त भारतलाई पनि बलिउडले जोडेको छ भन्ने गरिन्छ।) हलिउडले अमेरिकालाई जोड्नुका साथै अमेरिकी विचारलाई संसारभर फैलाउन पनि ठूलो योगदान गरेको मानिन्छ। हलिउडलाई थप ग्ल्यामर दिएर संसारभर फैलाउने कामचाहिँ ओस्करले गरेको मानिन्छ।

हलिउडलाई धेरैले अमेरिकाको संक्षिप्त रूप पनि मान्छन्, जसमा पूरै अमेरिकी विशेषता अटाउँछ। संसारभरिीका मानिसहरूको गन्तव्यस्थल अमेरिका बनेजस्तै हलिउड पनि धेरै ठाउँका फिल्ममेकरहरूको अखडा हो। दोस्रो विश्वयुद्धपछि युरोपबाट शक्ति केन्द्र अमेरिकामा सरेपछि थुप्रै फिल्म कलाकार र निर्देशकहरू अमेरिका पलायन भए। चार्ली च्यापलिनदेखि आर्नोल्ड स्वाजनेगरसम्म यस्ता उदाहरण कैयौं छन्। यो कथाको नायक अलेजान्द्रो गोन्जालेज पनि एउटा यस्तै निर्देशक हुन्, जो मेक्सिकोबाट हलिउड छिरेका हुन्। अलेजान्द्रोको कथामा पुग्नुअघि युरोपको अर्को उपकथा।

चिमकधमकपूर्ण फिल्म, ठूला स्टार, ठूलो बजेट र ओस्करको चर्चाले हलिउडले संसारभर चर्चा पाउन थालेपछि युरोपको फिल्म बजार पनि हलिउडले खान थाल्यो। जर्मनी, फ्रान्स र इटली युरोपेली फिल्मका मुख्य केन्द्र हुन्। तर, यी सबै ठाउँमा हलिउड फिल्म र स्टारको वर्चस्व बन्न थालेपछि युरोप जुर्मुरायो। पचासको दशकतिर आइपुग्दा युरोपेली फिल्ममा पुनर्जागरण आयो। भित्तेरियो डेसिकादेखि, फ्रन्सँवा त्रुफो, ज्यालुक गोदार्डजस्ता फिल्म निर्देशकहरू नयाँ शैलीका फिल्म लिएर उदाए। युरोपमा केही ठूला फिल्म फेस्टिवलहरू सुरु भए। युरोपेली शैलीका फिल्मको प्रचार र प्रोत्साहनलाई मुख्य उद्देश्य बनाइएका यी फिल्म फेस्टिवलहरू फ्रान्सको क्यान्स, इटलीको भेनिस र जर्मनीको बर्लिन फिल्म फेस्टिवल थिए।

यी फेस्टिवलहरूले सानो खर्चमा बनेका, मानवीय संवेदनाका कथा भन्ने संसाभरिका फिल्मलाई स्थान दिए। ओस्कर अंग्रेजी भाषाको अमेरिकी फिल्मको अवार्ड थियो भने युरोपका यी फेस्टिवलले आपmनो दायरा बढाए। ओस्करभन्दा चाँडै युरोप एसिया आइपुग्यो। पहिलो क्यान्स फिल्म फेस्टिवलमै भारतीय निर्देशक चेतन आनन्दको फिल्म 'निचा नगर' ले पुरस्कार पाएको थियो। ओस्करमा अहिलेसम्म कुनै भारतीय फिल्मले अवार्ड जितेको छैन। 'गान्धी' र 'स्लमडग मिलेनियर' जस्ता बेलायती फिल्ममा काम गरेका केही भारतीयले भने अवार्ड जितेका छन्।

क्यान्स, बर्लिन र भेनिसले जापान, चीन र इरानजस्ता एसियाली देशका फिल्मलाई आफ्नो प्राथमिकतामा राखे। यसैअनुसार यी देशका स-साना फिल्ममेकरहरूले ठूलो नाम कमाए। भारतका सत्यजित रे हुन् वा जापानका अकिरा कुरोसावा वा इरानका अब्बास किरुस्तामी यिनलाई ठूला फिल्ममेकरहरूका रूपमा स्थापित गर्न युरोपेली महोत्सवहरूको भूमिका निकै ठूलो मानिन्छ। यसै वर्ष पनि बर्लिनमा उत्कृष्ट निर्देशकको अवार्ड प्रतिबन्धित इरानी निर्देशक जफर पनाहीले पाए। ओस्करले पनि विदेशी भाषाको फिल्मको विधा मार्फत फैलिने चेष्टा गर्‍यो।

पछिल्लो दशकमा आएर विश्व सिनेमाका यी दुई धारमा केही परिवर्तन देखापर्‍यो। ग्याटको उरुग्वे कन्फरेन्समा प|mान्सले फिल्मलाई सांस्कृतिक उत्पादनको सट्टा व्यापारिक उत्पादन मान्न अस्वीकार गरेपछि ग्याट विश्व व्यापार संगठन -डब्ल्यूटीओ) मा रूपान्तरण भयो। डब्ल्यूटीओले आपmना सदस्य राष्ट्रहरूका बीच फिल्मलाई व्यापारिक उत्पादनका रूपमा फैलाउने काम गर्‍यो। व्यापारिक उत्पादन हुनुको अर्थ यसमा सरकारले अरू सदस्यका फिल्मलाई रोक्न वा कोटा लगाउन पाइँदैन। आफ्ना फिल्मलाई संरक्षणका लागि अग्राधिकार पनि दिन मिल्दैन। यसको फाइदा प्रकारान्तरले हलिउडलाई नै बढी भयो। हलिउडभन्दा अलि कम भए पनि युरोपेली फिल्मले पनि यसको फाइदा उठाए।

बिस्तारै यी दुईको लडाइँ फिल्मको विषय र कलामा भन्दा बढी बजारमा हुनथाल्यो। संयोगले भनौं वा अरू राजनीतिक कारणले करिब यसै समयमा भारत र चीनले तीव्र आर्थिक वृद्धि हासिल गरे र सिनेमाका लागि ठूलो बजारका रूपमा अगाडि आए। डब्ल्यूटीओ गठनकै ताका भारतमा सुरु भएको आर्थिक सुधारले भारतमा फिल्म निर्माणलाई पनि बढायो। आर्थिक वृद्धिले ल्याएको समृद्धिले दर्शकको क्रयशक्तिमा वृद्धि गरेपछि धमाधम युरोपेली स्ट्यान्डर्डका मल्टिप्लेक्सहरू खुल्न थाले। यी मल्टिप्लेक्समा चलाउनका लागि हिन्दी फिल्मले मात्र पुग्थेन। यसमा हिन्दीमा डब भएर हलिउड फिल्महरू आउन थाले। केही वर्षअघिसम्म भारतमा हिन्दी फिल्मले भन्दा बढी हलिउड फिल्मले बढी कारोबार गर्थे। 'टाइटानिक' यस्तै फिल्म थियो।

चीनको भने कथा बेग्लै छ। आर्थिक रूपमा उदार भए पनि राजनीतिक रूपमा पूरै नखुलेकाले चीन हलिउड फिल्मको ठूलो बजार बन्ने क्रममै छ। अमेरिकापछि हलिउडको ठूलो बजार जापान र हङकङ हुन्। तर, लगातारको विश्वसुन्दरी प्रतियोगिता आयोजनाजस्ता केही काम गरेर चीनले पश्चिमसँग जोडिने बाटोको खोजी भने गरिरह्यो।

फिल्म बजारको लडाइँ मुख्य हुन थालेपछि युरोपेली फिल्म महोत्सवहरू पनि भारततिर आकषिर्त भए। यसकै फलस्वरूप 'देवदास' को क्यान्स पि्रमियर र नन्दिता दास जुरीमा पुग्ने अवस्था पैदा भयो। लगातार भारतीय सुन्दरीहरू विश्व सुन्दरी घोषित हुनथाले। यसरी सुरु भएको बजारको यो द्वन्द्वको मध्यस्थता गर्न आइपुगे मेक्सिकन निर्देशक अलेजान्द्रो गोन्जालेज इनारितु।

५१ वर्षिया अलेजान्द्रो मेक्सिकन हुन्। १५ वर्षको उमेरमा उनी सामान बोक्ने पानी जहाज चढेर अफ्रिका पुगे। दुईपटक यस्तो यात्रा गरेपछि मेक्सिको सिटी फर्किएका अलेजान्द्रोले कम्युनिकेसनमा पढाइ पूरा गरे। एउटा रेडियो स्टेसनमा काम गरे। रकस्टारहरूका खुबै अन्तर्वार्ता लिए। छोटा फिल्महरू बनाउन थाले। ठूला मेक्सिकन फिल्मका लागि गीत लेखे र अन्त्यमा 'जेड' नाम गरेको आफ्नो फिल्म कम्पनी बनाए।

सन् १९९९ मा उनले एउटा फिल्म बनाउन सुरु गरे, जसको मेक्सिकन नाम थियो, 'एमेरोस पेरोस'। यसको अंग्रेजी उल्था 'लभ इज अ विच' हुन्छ। स्पेनी भाषाको यो फिल्ममा मेक्सिको सिटीका तीनवटा कथा थिए, जो आपसमा जेलिएका थिए। कुकुर जुधाइ खेलबाट हुने एउटा दुर्घटनाले धेरै मानिसलाई पार्ने प्रभावको कथा यसमा थियो। २००३ मा उनले अंग्रेजी भाषाको फिल्म बनाए, '२१ ग्राम'। सन पेन, नाओमी वाट्स, वेन्सिया डेल टोरोजस्ता स्टारले भरिएको यो फिल्मले उनलाई हलिउडमा स्थापित गरायो। हुन त उनको पहिलो फिल्म 'एमेरोस पेरोस' नै ओस्करमा विदेशी भाषाको फिल्ममा मनोनीत भएको थियो।

२००६ को फिल्म 'बाबेल' ले उनलाई सही अर्थमा स्थापित गरायो। ६ वटा विधामा ओस्करमा मनोनीत यो फिल्मले संगीतमा ओस्कर जित्यो। ब्रड पिट र केट ब्लान्चेटजस्ता ठूला हलिउड स्टारले अभिनय गरेको यो फिल्ममा तीन महादेशका चार देशको कथा छ। एकजना जापानी सिकारीले मोरक्कोको भेडा गोठालोलाई उपहारमा दिएको राइफलबाट चल्ने गोलीले अमेरिकी पर्यटकलाई लागेपछि अमेरिकामा रहेका तीनका परिवार र मेक्सिकन हाउस मेडको जीवनमा आउने झमेलाहरू यसको कथा हो। यो फिल्मले अलेजान्द्रोलाई क्यान्समा उत्कृष्ट निर्देशकको अवार्ड दिलायो। उनी ओस्करमा उत्कृष्ट निर्देशकमा मनोनीत हुने पहिलो मेक्सिकन बने।

यहाँसम्म उनको कथा र भन्ने तरिका उस्तै लाग्छन्। यी तीनवटै फिल्मको केन्द्रमा एउटा सानो घटना छ जसले धेरैतिरका जीवनलाई प्रभावित पार्दछन्। चौथो फिल्ममा आएर उनले आपmनो शैली परिवर्तन गरे र बनाए- 'बिउटीफुल'। संसारकै सुन्दरमध्येको एक सहर बार्सिलोनाको यो कथाका लागि उनले स्पेनी अभिनेता जेभियर ब्राडमलाई मुख्य भूमिकामा चुने र भाषा पनि स्पेनीमै फर्किए। यसको स्टाइल पहिलेका तीन फिल्मको विपरीत थियो। यसमा धेरैतिर हुने घटनाको एउटै पात्रमाथि प्रभाव थियो। ब्राडमले क्यान्समा उत्कृष्ट अभिनेताको अवार्ड पाए। ओस्करमा फिल्म विदेशी भाषाको विधामा मनोनीत भयो।

यहाँसम्म अलेजान्द्रो युरोपेली टाइपका फिल्ममेकर हुन्। हलिउड स्टारहरू लिए पनि उनको कथा र कथा भन्ने शैली हलिउडी हाईफाई नभएर सूक्ष्म खालको छ। चारमध्ये दुई फिल्म अंग्रेजीमा नबनाएर पनि उनले यसको संकेत दिन्छन्। पाँचौं फिल्ममा आइपुग्दा भने अलेजान्द्रो नयाँ तहमा पुगे। यस वर्षको उनको फिल्म 'बर्डम्यान' ले चार ओस्कर पायो। त्यसमध्ये तीन वटा त अलेजान्द्रोकै थिए- निर्देशक, उत्कृष्ट फिल्म र पटकथा।

ओस्करले प्रायः इतिहास वा एउटा व्यक्तिको सफलताको कथाजस्ता फिल्मलाई प्रोत्साहन गर्ने गर्छ। अलेजान्द्रोको 'बर्डम्यान' एउटा अभिनेताको कथा हो। सुरुदेखि नै यसलाई 'ओस्कर मेटरियल' मानिएको त थियो तर यो 'प|mन्ट रनर' भने थिएन। अलि जटिल किमिसको यो कमेडीको तुलनामा 'ब्वाइहुड' लाई ओस्कर फेभरेट मानिएको थियो। यस्तो मानिनुका पछाडि अलेजान्द्रोका पुराना फिल्म र तिनले युरोपेली फेस्टिवलमा पाएको सफलतालाई पनि कारण मानिन्छ।

युरोपका फेवरेट अलेजान्द्रोले ओस्कर जितेर यो द्वन्द्वलाई अर्थहीन तुल्याइदिएका छन्। गत वर्ष पनि ओस्करमा मेक्सिकन अल्फान्सो क्रुसों 'ग्रयाभिटी' का लागि निर्देशकको अवार्ड जितेका थिए। ताइवानका निर्देशक आङ लीले त झन् दुईपटक यो अवार्ड जितिसकेका छन्, एकपटक 'ब्रोकब्याक माउन्टेन' का लागि र अर्कोपटक 'लाइफ अफ पाई' का लागि।

सञ्चारमा आएको क्रान्ति, विश्वव्यापीकरण र फिल्म कलामाथि प्रविधि र व्यापारको नियन्त्रणले बिस्तारै संसारलाई नै एउटा बजार बनाइरहेको छ, जसमा हरेक चीज बिक्छन्। बजारसँगै फिल्मको शैली पनि परिवर्तन हुनु स्वाभाविक हो। फिल्मको कथा वाचनमा युरोपको अमेरिकाको शैली बेग्लै होला तर अब बजारले त्यसलाई छुट्याउन बिस्तारै बन्द गरिरहेको छ।

फिल्म बजारमा नयाँ कथा र शैली लिएर प्रवेश गर्ने पालो अब सायद एयिसाको हो। वा अफ्रिकाको।

(एजेन्सीहरूको सहयोगमा) स्रोत : कान्तिपुर, कोसेली

4 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.