Font   font-increse   font-dicrese

श्वेता खड्कासँग यसरी लिए अन्तवार्ता -सुमन खरेल, बीबीसी

 

रेडियोमा बोल्न थालेको पनि ३० वर्ष हुन लागेछ। बाल्यकालदेखिको रहर त्यही थियो। सानो छँदा स्कुल बिदामा होस्टलबाट घर फर्कदा त्यस बेला रेडियो नेपालमा भर्खरै सुरू भएको बिज्ञापन सेवा सञ्चालन गर्नु हुने मेरो बुबा किरण खरेलले कहिलेकाहीं स्टुडियोमा लिएर जानु हुन्थ्यो।

म संधै सोच्थें, एक दिन बुबा जस्तै त्यो माइकमा बोल्न पाए कति रमाइलो हुन्थ्यो। तर बुबा मलाई डाक्टर बनाउन चाहनु हुन्थ्यो। महाराजगञ्ज क्याम्पसमा चिकित्सा शास्त्र पढें। मेरा सहपाठी भगवान कोइराला र बसन्त पन्त अहिले नेपालकै चर्चित डाक्टरहरु छन्। तर, म डाक्टर बन्ने सुनौलो अवसरलाई त्याग्दै, मानविकीतर्फ अध्ययन अघि बढाउँदै २०४२ सालमा महिनाको ५७५ रुपैंयामा रेडियो नेपालमा समाचार पढ्न थालें। लण्डनस्थित बीबीसी मुख्यालयमा काम गरेको पनि २० वर्ष भैसकेछ। भोलि कहाँ के गर्दै हुन्छु, थाहा छैन। तर, आजसम्मको जीवनलाई फर्केर हेर्दा धेरै गुनासो गर्ने ठाउँ छैन।

रेडियोमा बोल्न थालेको पनि ३० वर्ष हुन लागेछ। बाल्यकालदेखिको रहर त्यही थियो। सानो छँदा स्कुल बिदामा होस्टलबाट घर फर्कदा त्यस बेला रेडियो नेपालमा भर्खरै सुरू भएको बिज्ञापन सेवा सञ्चालन गर्नु हुने मेरो बुबा किरण खरेलले कहिलेकाहीं स्टुडियोमा लिएर जानु हुन्थ्यो।

मानिसहरु भन्छन्, धेरै वर्ष एउटै काम गर्दा विरक्त लाग्छ, वाक्क भइन्छ। खै, मलाई त कहिल्यै त्यस्तो अनुभव भएन। ३० वर्षअघि समाचार वाचन गरिरहेको थिएँ। आज पनि भनि रहेछु ‘सुमन खरेलबाट समाचार सुन्नोस्।’ लाखौं श्रोता सामू आफ्नो आवाज बाँड्न पाउँदा धेरै खुसी, आनन्द र सन्तोष पाएको छु।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका श्वेता खड्काले पति वियोगको ६ महिनापछि पहिलो पटक मिडियामा आफ्नै आवाजमा आफ्नो वेदना पोखेकी थिइन्। श्रीकृष्णको असामयिक निधन पछि श्वेता मौन थिइन्। पाँच वर्षको प्रेमपछि भएको बिवाह पाँच साता पनि नपुग्दै चुँडिएको थियो। श्वेता एउटा अनौठो ब्यथासित जुधीरहेकी थिइन्। उनको अवस्था के छ, जीवन कसरी अघि बढी रहेछ र भविष्यको योजना के छ भनि जान्ने चाहना थियो। सेतोपाटी लगायत अन्य संचार माध्यमहरुले पनि उक्त अन्तर्वार्ता छापेपछि प्रतिक्रियाहरुको ओइरो लाग्न थाल्यो।
पहिलो पटक मिडिमामा आएकी स्वेताले यसो भनिन्(अडियोसहित)

प्रतिक्रिया

यो कार्यक्रम सम्बन्धी नेपाली सेवाका फेसबुक पोष्टिङ बाह्र लाख भन्दा बढी मानिससम्म पुगेको थियो, पचास हजार्भन्दा बढीले मन पाएका थिए र एक हजार भन्दा बढी प्रतिक्रिया प्राप्त भएको थियो। ईमेल र फोनबाट प्रतिक्रिया जनाउनेहरु पनि प्रशस्तै थिए। अधिकांशको भनाइ थियो, हामीले आँसु थाम्न सकेनौं। केहीले श्वेतालाई चाँडै चलचित्रमा फर्कन आग्रह गरेका थिए भने अरुहरुले हिम्मत नहार्न अनुरोध गरेका थिए।

प्रतिक्रियाहरुबाट एउटा राम्रो बहसको पनि आरम्भ भएको छ। श्वेतालाई ‘तिमी’ भनेर गरेको संबोधन कतिलाई मन परेन भने अरुहरुले ‘तिमी’ भन्नमा केही हानी छैन भनि प्रतिक्रिया जनाएका छन्। पत्रकार साथीहरु पनि विभाजित छन्।

हो, तीस वर्षको रेडियो पत्रकारिता यात्रामा शायद पहिलो पटक मैले कसैलाई जानेर बुझेर ‘तिमी’ भनि सम्बोधन गरेको छु र त्यसका कारण बताउन चाहन्छु।

तपाइँ र तिमी

श्रीकृष्णको निधनपछि श्वेता कुनै पनि मिडियासित बोलेकी थिइनन्। उनीसम्म पुग्नु नैं पहिलो कठिनाइ थियो। काठमाडौं पुगेको केही दिनमा थाहा भयो, उनी त उपचारका लागि अष्ट्रेलिया गैसकिछिन्। श्वेतासँगको कार्यक्रम गर्न नसकेकोमा चुकचुक लागिरहेको थियो। शनिबार बिहान लण्डन फर्कनु थियो। शुक्रबार साँझ खबर पाएँ, श्वेता दिउँसो चार बजे काठमाडौं फर्कंदैछिन्। मलाई सम्पर्कमा राखिदिनेले टेलिफोन नम्बर उपलब्ध गरा पछि साँझ ६ बजे उनको निवासमा पुगेँ।

यात्रा र बिमारीले थकित श्वेता खड्कासित भेट्दा अन्तर्वार्ता लिन चाहन्छु भन्ने साहस जुटाउन सकिनँ। उनका रोइरहेका आँखामा हेरेर कुरा गर्न नैं मुश्किल थियो। केही बेरको सामान्य कुराकानीपछि वातावरण अलि हल्का भयो। आफ्नो कार्यक्रम बारे जानकारी दिएर रेकर्डिङ गर्ने अनुमति मागेँ। उनले अलि अप्ठेरो मानिन्।

मैले श्वेतालाई जसरी पनि मनाउनु थियो। उनको आवाज श्रोतासम्म पुर्‍याउनु थियो। मैले उनको अनुमति लिएर ‘तिमी’ भनि सम्बोधन गरेको हुँ। ‘तिमी’ शब्दमा लुकेको आत्मीयता पोखेर, आफ्नै जिल्लाबासी भएको नाता गाँसेर, मेरो बुबाले उनीहरुको चलचित्र ‘कोहीनुर’ का लागि लेखिदिएको गीतको स्मरण गराएर र त्योभन्दा बढी आफ्नै जीवनका सुस्केरा खोलेर बल्ल उनलाई बोल्न मनाउन सकेँ। पुरै अन्तर्वार्तामा रोइरहेकी श्वेताको मुखबाट शब्द शब्द निकाल्न मलाई ‘तपाइँ’ शब्दले होइन, ‘तिमी’ ले नैं साथ दियो। जति हार्दिकता ‘तिमी’ शब्दमा लुकेको हुन्छ त्यत‌ि नैं दूरी ‘तपाइँ’ मा लुकेको हुन्छ।

मानिस सफलता, उन्नती, प्रगति बाँड्न चाहन्छ तर लाखौं श्रोता सामु आफ्नै आवाजमा हम्मेसी आँसु बगाउन चाहँदैन। भक्कानिंदै सही, अरू दुःखीहरूलाई पनि जीवनमा अघि बढ्न प्रेरणा दिन अन्त्यमा श्वेताले जसरी आफ्नो ब्यथा पोखिन्, त्यसको प्रशंसा गर्नैपर्छ।

जीवनमा अनेकौं अन्तर्वार्ताहरु लिइयो, रेडियो कार्यक्रमहरु बनाइयो। माओवादीहरु शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्ड पहिलो पटक काठमाडौंमा सार्वजनिक भए। त्यसको केही दिनमैं देशविदेशका श्रोतालाई प्रश्न गर्ने अवसर दिँदै रेडियो सगरमाथाको स्टुडियोमा बसी लण्डनको स्टुडियोसँग जोडेर सार्वजनिक भए पछिको प्रचण्डको पहिलो अन्तर्वार्ताको एक घण्टाको प्रत्यक्ष प्रसारण गरेको थिएँ। स्टुडियो भित्रै प्रचण्डका बन्दुकधारी अंगरक्षक थिए।

आज इमान्दारीसाथ भन्नु पर्दा त्यो अवस्थामा “प्रचण्डलाई प्रश्न” बिशेष कार्यक्रम सञ्चालन गर्दा मेरो जति पसिना छुटेको थियो, त्यो भन्दा धेरै नभए पनि त्यतिकै पसिना एउटै श्वेता खड्कासँगको कुराकानीमा छुटेको थियो।

गणतन्त्रको स्थापना पछि ‘भुतपूर्व राजाले भने, प्रधानमन्त्रीले भनेका छन्, उनी भन्छन्’ जस्ता शब्द र शब्दावली केही प्रसारणहरुमा प्रयोग हुने गरेको छ। त्यसमा मेरो विमति रही आएकै छ। चर्को, रुखो र बिझाउने शब्दहरुबाट सकेसम्म टाढा बस्न रुचाउँछु। त्यसमाथि पीडामा रहेकी एउटी बहिनी समानकी श्वेताको आवाज बाहिर ल्याउन ‘तिमी’ शब्दको प्रयोग गर्नु हुन्न भनेर रेडियो पत्रकारितामा कहाँ उल्लेख छ, कसैले बताइ दिए आभारी हुने थिएँ।

अन्त्यमा

अन्तर्वार्ता सकेर फर्कने बेलामा श्वेताका रसाएका आँखा एक चोटी नियाली हेरेँ। त्यहाँ श्रीकृष्णको धमिलो तस्वीर सलबलाई रहेको थियो। शायद त्यसैलाई भन्छन् अनौठो माया…मृत्यु पछि पनि बाँचिरहने अमर माया।

स्रोत : सेतोपाटी

3 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.