Font   font-increse   font-dicrese

फिल्म एक ब्याटल -एक सिनेमा निर्माताको 'भाइबर' बयान

 

हलिउड सिनेमा 'वी ओएर सोल्जर्स'बारे तपाईंलाई थाहा होला । सन् १९५४ को भियतनाम युद्धमा खटिएको फ्रान्सेली सैनिकको संघर्ष भन्ने फिल्मले धेरैको मन छोयो । मन छुनेमा एक थिए निकेश लिम्बु ।

पेशाले बेलायती गोर्खा सैनिक लिम्बुले उक्त फिल्मको कथासँग आफ्नो जीवन महसुस गरे । फिल्मका मुख्य अभिनेता मेल गिब्सनको संघर्षमा आफूलाई देखे अनि उनको मस्तिष्कमा युद्धका दृश्य फिल्मको रिलजस्तै फनफनी घुम्न थाल्यो ।

हालैको एक चिसो बिहानी यी लाहुरे लन्डनबाट मेरोसिनेमासँग भाइबरमा गफिए । फिल्म, हुटहुटी, पत्नी, युद्ध, साथीभाइ र सपनाजस्ता जीवनका अनेक कलेवरका किस्सा उनले सुनाए । ‘किनभने यी कुरासँग मेरो फिल्म क्रेज गाँसिएको छ’ निकेश सुनिए ।

हामी कुरा गर्दैछौं सम्पादन टेबुलमा बन्दै गरेको सिनेमा 'रातो घर' निर्माता निकेशको । ‘हँसिया’का एक साझेदार अहिले रातो घरबाट समाज, राजनीति र दादागिरीको यथार्थ उत्खनन् गर्दैछन् । तक्मे बुढा र सुरज सुब्बा नाल्बोसँग मिलेर निकेशको रातो घरमा इट्टा थप्ने काम भैरहेको छ । रातो रङको अर्थ प्रेम पनि हुनसक्छ अनि सन्त्रास पनि ।

‘ब्याटलमा जाँदा त्यो फिल्म देखाएजस्तै लाग्छ’ १७ वर्षदेखि लाउरे जीवन बाँचिरहेका निकेश सुनिए, ‘घरबाट पत्नीले फोन गर्दा होस वा अप्रेसनबाट घरमा फोन गर्दा होस, सिचुएसन इमोसनल हुन्छ । पत्नी डराउँछिन् ।’ यही कारण हुनसक्छ, निकेश भविष्यमा गोर्खा सैनिकमाथि बायोपिक निर्माण गर्ने सोचमा छन् ।

यो त भयो भविष्यको कुरा । वर्तमानमा उनी नेपाली फिल्म निर्माणको अनुभव बटुल्दै छन् । ‘भविष्यमा सफल निर्माता हुन सक्छु वा सक्दिँन तर,  असल निर्माता बन्ने प्रयास गर्छु’ निकेशले प्रतिबद्धता दर्शाए, ‘रातो घर यसको सुरुवात हो ।’

‘मलाई फिल्म मनोरन्जनमात्र हो भन्ने लाग्दैन, यसले ब्यापक चेतना, शिक्षा र संस्कृतिलाई पनि देखाउनुपर्छ । 'रातो घर'ले हत्या, हिंसा र कालो बजारीलाई देखाएको छ ।’

बन्दुक समात्ने ठिटा कसरी फिल्मप्रति आकर्षित भए ? गुदी थाहा पाउनु रोचक हुनेछ । फोटोग्राफर पिता र ब्युटिसियन आमाको कला एवं बाल्यकालिन झुकावले निकेशमा फिल्मको भूत सवार भयो । बन्दुक अनि ब्याटलले फिल्मप्रतिको लगाव र पागलपनलाई रोक्न सकेन । सायद यसको उपज हुनसक्छ –'हँसिया' र 'रातो घर' ।

निकेशलाई लाग्छ –नेपाली फिल्मले 'ओल्ड स्कुल' बदल्नुपर्छ । ‘डायलग मिलेन अनि एक्टिङ नाटकीय भयो भन्ने गुनासो अहिले यहाँ ब्यापक छ’ उनलाई लाग्छ, ‘सहज डायलग हुनुपर्छ । हामीलाई दृश्यसँग मतलब छैन । रातो घरमा यसलाई प्रयोग गरिएको छ ।’

उनी फिल्मको बिदेशी बजार र लगानीबारे सुनिए । 'हँसिया'को कूल लगानीको ७० प्रतिशत रिकभर बिदेशबाट गरेका निकेश रातो घरको त्यति नै लगानी ओभरसिजबाट उठाउने जमर्कोमा छन् । ‘यो दुस्साहस होइन विष्णुजी’ मेरोसिनेमा सम्पादकसँग उनी खुले, ‘बेलायत, हङकङ, सिंगापुर, बहराइनजस्ता ठूला बजार छन् । सबटाइटल हालेर देखाउँदा पनि राम्रो हुन्छ । हामी हलिउड र बलिउडभन्दा अविकसित अवश्य छौं तर, विदेशले हामीलाई राहत दिनसक्छ ।’

'रातो घर'बाट उनी आशावादी छन् । ‘किनभने मैले राम्रो क्रिउ पाएको छु । म निर्माणमा नयाँ भएर पनि नयाँ महसुस भएको छैन’ नेपाली फिल्मबारे निकेश अघि बढे, ‘हामीले फिल्म कपि त गर्नुपर्छ तर, सेम टु सेम हुनुहुँदैन । विचार पनि फिल्ममा हुनुपर्छ । समाजलाई गाइड गर्ने हुनुपर्छ ।’

उनका ती कुराहरु अहिलेको घरेलु सिनेमाका ज्वलन्त 'इस्यु' पनि हुन् । जसको समाधान हुनु जरुरी छ । रातो घर, बजार र संघर्षको कुरा चल्दा उनी केही नामप्रति आभार देखिए । 'हँसिया' निर्देशक साथी मिलन चाम्स, सानैदेखिका साथी राजकुमार राई, फुपुका छोरा दाई सुरज सुब्बालाई उनले अनेक आभार दर्शाए ।

लाहुरसँगै निकेशको सिनेमा करियर कसरी अघि बढ्छ त्यो त भविष्यले देखाउनेछ । उनी नेपाली सिनेमामा सपना लिएर हामफाल्ने ती निर्माताको एक प्रतिनिधि पात्र हुन् जोसँग 'गोल' छ, जुन त्यही हलिउड सिनेमा 'वी ओएर सोल्जर्स'मा लडिएको युद्धजस्तो ।

20 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.