Font   font-increse   font-dicrese

'हिम्मतवाली' हेरेपछि कमर्सियल हिरोलाई झट्का लाग्छ : रेखा थापा (संवाद)

रेखा थापा समकालिन नेपाली सिनेमाकी अग्रणी अभिनेत्री र निर्मात्री हुन् । उनी निर्देशित, निर्मित र अभिनित सिनेमा 'हिम्मतवाली' रिलिजको तयारीमा छ । नेपाली फिल्मको कन्टेन्ट, मनोविज्ञान र निर्माणमा नारीवादी लहर सिर्जना गर्ने रेखाले मेरोसिनेमासँग धेरै आयाममा रहेर कुरा गरिन् । प्रेम, जीवन, भोगाई, सुखदुख, फिल्म, स्टार, देश र समाजको बारेमा उनी खुलिन् ।

 



हिम्मतवाली किन हेर्ने ?
निश्चयपूर्वक म के भन्न सक्छु भने यसपटकको कन्टेन्ट नयाँ छ । म्यासेज दिने र नयाँ प्रयोगसहितको कमर्सियल फिल्म बनेको छ । अघिल्ला फिल्ममा मैले सँधै हिरो लिइराखेको हुन्थेँ । वर्षौंदेखि हिरो बन्न लालयित केटा मान्छेलाई मैले हिरो बनाउँथे भनेँ यसपटक भने रियल लाइफको हिरो सुदर्शन गौतमलाई मैले लिएको छु । दुबै हात गुमाएपनि उसले सगरमाथा चढ्यो जसलाई फिल्ममा देख्दाखेरी मान्छेले कहिँ कतैबाट पनि असहज महसुस गर्दैन । सामान्य मान्छेले हातले गर्ने क्रियाकलाप उसले खुट्टाले गर्छ । फाइट खेल्छ, रोमान्स गर्छ, गीत गाउँछ । हिरो भन्नेवित्तिकै पुष्ट शरिर भएको, बडी बनाएको र लामो कपाल पालेको भन्ने आम सोच छ तर मेरो सोचाईमा हिरो जो पनि बन्न सक्छ । हात खुट्टै नभएको, आँखा नदेख्ने र कान नसुन्ने पनि यो देशको हिरो बन्नसक्छ । सुदर्शनलाई हिरो बनाउन पाउँदा खुशि महसुस भएको छ । के पक्का हो भने उसको एक्टिङ देखेर सबै व्यवसायिक हिरोलाई एकपटक झट्का लाग्छ ।

तपाईंको नाम जोडिने वित्तिकै हल्ला, गसिप र कन्ट्रोभर्सीको निर्माण हुन्छ । यी कुरा फिल्म चलाउने अस्त्र हुन् या एउटा स्टारका लागि स्वभाविक कुराहरु ?
हिरोइन रेखा थापाका लागि यो स्वभाविक कुरा हो तर कसैकी छोरी रेखा थापाका लागि कठिन कुरा हो । ममाथि गसिप बनाउँदा बहुत चित्त दुख्छ । म मुड अफ भएर बसेको कसले देखेको हुन्छ र हैन ? नजिकका मान्छेले देख्छन् त्यो कुरा । हुन त स्टार भएपछि गसिप बन्नु स्वभाविक होला तर, त्यो कुराले मलाई हिट गरिराखेको हुन्छ । आइ डोन्ट नो । लाइफमा मेरा दुईटा रोल छन् –एउटा हिरोइन रेखा थापा र अर्को सिम्पल रेखा थापा जसलाई बाटोमा हिँड्नुपर्छ । पर्दामा देखिने रेखालाई गाह्रो हुँदैन किनभने त्यो जीवित छैने तर मलाई गाह्रो हुन्छ ।

तपाईं हिरो वा हिरोइनइज्म कुन कुरामा विश्वास गर्नुहुन्छ ? कुन महत्वपूर्ण हो ?

केटा मान्छे हिरो र केटी मान्छे हिरोइन भन्ने कुरा म मान्दिँन । दुर्गा चलचित्रबाट मैले यो मान्यता तोडेकी हुँ । यसबाट नै म हिरो भैसकेकी थिएँ । मुख्य चरित्र जसले हरेक समस्यासँग जुध्छ त्यो नै हिरो हो । चलचित्रको कथामा लैंगिक विभेद हुँदैन । म मान्छे हिरो वा हिरोइन भन्दा पनि क्यारेक्टर हिरो हुनुपर्छ भन्नेमा विश्वास गर्छु ।

तपाईंले निर्माण गरेका पछिल्ला सिनेमाका पात्रहरु विद्रोही, आक्रामक, लडाकु र मातृसत्तात्मक बढी लाग्छन् किन ?

म आफै पनि नारी भएकाले महसुस हुन्छ कि नेपालका नारी उत्पीडनमा छन् । पितृसत्तात्मक सोचबाट ग्रसित छन् । पुरुषहरुको हेपाहा सोच र प्रवृत्तिबाट नारीको जीवन कठिन भइरहेको आभाष हुन्छ । यदाकदा म आफै पनि पिल्सिएको मान्छे हुँ, कुनै जमानामा । यो कुरा सहँदै गयो भने एकखालको रोग निम्त्याउँछ । यसकारण मान्छेहरु विद्रोही हुनुपर्छ । त्यो विद्रोहबाट अगाडि बढ्ने कोसिस गर्नुपर्छ । घरभित्रै पनि म बुवाबाट पिल्सिएको मान्छे होइन, बुवाले पुरुषसरह हिम्मत दिएको मान्छे हुँ । फिल्ममा आउनेवित्तिकै मलाई लाग्यो यो पुरुषप्रधान इन्डष्ट्रिलाई तोड्नुपर्छ र हिरोइनको पासपोर्ट साइजको पोस्टर फोटोलाई चेन्ज गर्नुपर्छ । त्यसलाई मैले चिरेर सोलो फोटो बनाएँ । आज हरेक हिरोइनको सोलो फोटो हुँदा मलाई कति गर्व महसुस हुन्छ ।

अभिनेत्री हुँदै निर्मात्री अनि अहिले आएर निर्देशक । एउटा व्यक्तिबाट स्तरिय फिल्म कसरी निर्माण हुनसक्छ ?

एउटा राम्रो कलाकार राम्रो निर्देशक पनि हो । राम्रो निर्माता, राम्रो निर्देशक पनि हो । यहाँ जो पनि आउने पैसा लगाउने अनि निर्माता हुन काम भएको छ । यदि म निर्माता संघमा हुन्थेँ भने यो कुरा रद्द गरिदिन्थेँ । राम्रो निर्माता बन्नका लागि फिल्म सम्बन्धी ज्ञान पर्याप्त हुनुपर्छ । संगीत, अभिनय, निर्देशन, नृत्यको ज्ञान हरेक हुनुपर्छ । एकजना निर्माता आउँछ, ५ लाख लगानी गर्छ, त्यो निर्माता रे, गजबको कुरा । मैले आफै निर्माण गरेको फिल्ममा निर्देशकको कुरा पनि हेरेर अगाडि बढेको छु । यसकारण एउटा राम्रो निर्माता निर्देशक बन्नसक्छ ।

सुदर्शनजीसँगको प्रेमलाई विशुद्ध माया भन्नुभएको छ । त्यसको गन्तव्य विहे हो वा त्योभन्दा पर ?
एकदमै मिल्ने पुरुष पात्र र महिला पात्र बेस्ट फ्रेन्ड हुँदा अपच महसुस हुन्छ । कतिलाई लाग्छ, केटा र केटी साथी हुँदैनन् । मैले जहिले पनि मातृसत्तात्मक कन्टेन्टका फिल्म बनाउँछु त्यसकारण अहिले केटी केटी मिल्दा जमाना शंकास्पद हुने बेला भैसक्यो । थ्यांक गड कि म केटासँग मिलिराखेको छु । लोग्ने मान्छे र स्वास्नी मान्छेले विहे गरेपछि दम्पत्ति बन्छन् नि, अझ त्यो भन्दा उपल्लो स्थान भनेको साथी हो । कतिपय अवस्थामा विहेपछि पनि श्रीमतीले श्रीमानलाई मनको कुरा भन्न सक्दिनेँ । तर, असल साथीबीचको सम्बन्ध ब्रेकअप पनि हुँदैन । सम्बन्ध सुमधुर हुन्छ । विहे गर्नैपर्छ भन्ने मलाई लाग्दैन, बेस्ट फ्रेन्डले विहे गर्छन् र ? यदि भयो भनेपनि कुनै अनौठो नमान्दा हुन्छ । (लामो हाँसो)

फिल्म वृत्तमा तपाईंलाई फिल्म बिकाउने मान्छे पनि भन्छन् । यदि यो कुरा सहि हो भने फिल्म बिकाउने मार्केटिङको केही त्यस्तो फर्मुला छ ?
भगवान कसम मलाई केही थाहा छैन । सबै कुरा म भगवानप्रति विश्वास गर्ने मान्छे हुँ । यो सबै कुरा मेरो कर्म, लगनशिलता र इमान्दारिताले भएको हो । स्क्यान्डल आफै भइदिन्छ । हिफाजतको टाइममा हरे राम हरे कृष्ण लेखिएको लुगा मैले पब्लिसिटीका लागि लगाएको थिइँन । आफै स्क्यान्डल भैदियो । मेरो फिल्म राम्रो हुन्छ, बिशुद्ध कथा राम्रो हुन्छन् । तर, मलाई फिल्म चलाउन सस्तो पब्लिसिटी आइ डोन्ट निड ।

तपाईंले निर्माण गर्ने फिल्ममा सहरको कथा किन हुँदैन ?
सहरका व्यक्ति यसैपनि विकसित छन् । मानसिक, शारीरिक होस वा सोचमा । तर, गाउँको पुरुष वा महिला पात्र होस् त्यहाँका चीजहरु त्यति विकास भैसकेका छन् । मेरो कर्तव्य पनि यही होजस्तो लाग्छ । सहरमा बसेपनि गाउँमा बसेर जाँतो पिँध्ने कुराको अनुभूति पनि हामीलाई हुनुपर्छ । यो अनुभव पनि हामीलाई हुने हो भने उनीहरुलाई पनि सहज हुन्छ । हलो जोतेको, ढिकी कुटेकोजस्ता कृषिजन्य कामलाई एक्सपोज गरिँदिँदा उनीहरुलाई हौसला मिल्छ । भर्खरै मात्र त सहरको विकास भैराख्या छ, जन्मने वित्तिकै को सहरमा जन्मियो होला र ? तर, धेरै फिल्ममा मैले सहरका युवतीको भूमिका निर्वाह गरिसक्या छु । तर, मैले निर्माण गर्ने चलचित्र देशभक्ति, अन्याय अत्याचारविरुद्ध लड्ने र नारीप्रधान हुन्छ ।

दशकभन्दा बढी लामो सिनेमा करियरमा तपाईंले के पाउनुभयो र के गुमाउनुभयो ?

दर्शकको माया नै मेरो पहिलो उपलब्धी हो । नेपालीहरु मझ मेरो पहिचान बन्यो त्यो नै मैले पाएँ । केही कुरा गुमाएजस्तो लाग्दैन । किनकी, चलचित्र क्षेत्रमा आएर केही गर्छु भनेर लागेको मान्छे हुँ म । फिल्ममा लागेर घर कमाएँ, गाडी कमाएँ, फिल्म निर्माण गर्न सक्षम भएँ त्यो मेरो कमाइ हो नि त । यो चीज यही क्षेत्रले दिएको हो । नेपाली जनताकै पैसा हो । मेरो पैतृक सम्पत्तिले फिल्म बनाएको त होइन । जति पनि फिल्म बनाइराख्या छु, दर्शकको पैसाले बनाइराखेको छु । नर्मल ३० वर्षको केटीले बाहिर बसेर यति धेरै कमाउन सक्दैनथ्यो नि त ।

रेखा थापा फिल्मस र रेखा थापा फाउन्डेसनका निकट योजनाहरु के–के छन् ?
रेखा थापा फाउन्डेसनले निकट भविष्यमै १४ अंचल र ७५ जिल्लामा शैक्षिक सहयोग चलाउँदैछ । जस्तो मैले चारजनालाई यसअगाडि एडप्ट गरिसकेकी छु । अन्यत्र पनि धेरैजनाले पढ्न पाएका छैनन् भन्ने सुनेको छु । उनीहरुलाई मैले वर्षको ८ लाख लगानी गरेको छु, त्यो लगानीले अरु ५ वटा जिल्लालाई पुग्ने रहेछ । सबै जिल्लाका स्कुलमा मैले फन्डिङ गर्दैछु । वर्षमा एउटा फिल्म बनाउने, राम्रो फिल्म बनाउने रेखा फिल्मसको योजना छ । यसबाट नारीको आवाज मात्र गुन्जनेछ । फरक क्षमता भएकाहरुको आवाजको रुपमा हिम्मतवाली आउँदैछ । नेपालका ती २६ लाख अपांगका लागि हिम्मतवाली समर्पित छ । विश्वमै पहिलोपटक हो, अपांग भएको व्यक्ति हिरो भएर खेलेको छ र रोमान्स गर्छ । फाइट खेल्छ । यस्तै यस्तै नयाँ विषयमा फिल्म बनाउँछु ।

76 dislike 42

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.