Font   font-increse   font-dicrese

हिरोइजमबिनाको हिरोगिरी - अनुप बराल - अनुप बराल
२७ भदौ (काठमाडौं)

'नायक' अर्थात् चलचित्रको मुख्य पात्र र 'हिरो' भनिने पात्र एकै हुन् भन्ने मिस कन्फ्युजन देखिन्छ। यी दुवै एकै होइनन्। 'हिरो' शब्दको उत्पत्ति ग्रिकको 'हेरोस'बाट भएको मानिन्छ जसअनुसार कठिन र दुष्कर समयमा पनि आफ्नो आत्मविश्वास नगुमाई बहादुरीपूर्वक कार्य गर्ने या कुनै राम्रो कार्य गर्नका लागि आफ्नै ज्यान उत्सर्ग गर्न पनि पछि नहट्ने व्यक्तिलाई 'हिरो' भनिएको छ। 'हिरोइजम'ले एउटा प्रवृत्तिलाई संकेत गर्छ।

कुनै उपन्यास, कथा, नाटक या फिल्मको मुख्य पात्र जसको सेरोफेरोमा कथावस्तु घुम्छ, त्योचाहिँ 'नायक' हो। नायकलाई प्रचलित अंग्रेजी शब्दमा 'प्रोटागनिस्ट' भनिन्छ। यसैले यहाँनेर के कुरामा स्पष्ट हुनु जरुरी छ भने 'हिरो' र 'नायक' अलग कुरा हुन्। एउटा 'नायक'भित्र 'हिरो'को गुण हुनसक्छ र नहुन पनि सक्छ।

नेपाली सिनेमा आकाशमा थुप्रै अभियन्ता जन्मिए र नायकहरू भए । यद्यपि, यसका नायकहरूको सिनेमायी प्रस्तुति त्यति सबल देखिएनन् जति हुनुपर्थ्‍यो। नायक कस्तो हुनुपर्छ र उसमा कस्तो गुण हुनु जरुरी हुन्छ?
 
यसबारे प्राचीनकालदेखि नै पूर्व र पश्चिम दुवैमा आफ्नै आवधारणा पाइन्छन्। पश्चिममा इसाको ५०० वर्षपूर्व 'हेलनिसटिक' सभ्यताको समय एथेन्समा पहाड काटेर ठूलो एम्फिथिएटरमा नाटक गरिन्थ्यो। त्यति बेला अरस्तुले लेखेको 'पेरी पोएटिक्स'मा नायक कस्तो व्यक्तिलाई बनाउँदा उसको छविले दर्शकमा प्रभाव पार्नसक्छ भन्ने उल्लेख गरेका छन्। अरस्तुको सिद्धान्त त्रासदी 'ट्रेजेडी'को सिद्धान्त हो।

यस सिद्धान्तमा उनी त्रासदीको नायक बनाउँदा पुरुष हुनुपर्नेमा जोड दिन्छन्। 'खलनायक' र ‘बदमास मान्छे'को पतन देखाउँदा दर्शकहरूमा खुसी उत्पन्‍न हुने गर्छ भने आफूलाई मन पर्ने वा प्रशंसा गर्नलायक मान्छेको विपत्ति देख्दा उसप्रति सहानुभूति जाग्छ। तर, नायक बनाउँदा उसका सम्पूर्ण कुरालाई राम्रो नदेखाएर केही चिजको कमजोरी भएको देखाउनुपर्छ भन्ने उनको अभिमत थियो।
 
नायकले नराम्रो कुरा गर्दा उसले अञ्जानवश गरेको देखिनुपर्छ। उसलाई पश्चात्तापमा परेको देखाउनाले उसमाथि दर्शकको सहानुभूति जान्छ जसलाई उनले कथार्सिसको संज्ञा दिएका छन्।उति बेला नाटकमा नायक त्यसलाई बनाइन्थ्यो जो राजा, बहादुर सेनापति, समाजको उच्च स्थानमा बसेका मान्छे आदि हुन्थे।
 
२० हजार मानिस अट्ने रंगशालामा नाटक प्रस्तुत गर्नुपर्ने भएकाले आवाज नियन्त्रण र परसम्म आवाज पुर्‍याउनसक्ने क्षमता भएका व्यक्तिलाई मात्र नायक बनाइन्थ्यो। यता पूर्वीय नाट्यशास्त्रका अभियन्ता भरतमुनिले नाट्यशास्त्रमा नायकका चार प्रकार उल्लेख गरेका छन्।
 
यो नाट्यशास्त्रमा नायक कस्तो हुनुपर्छ भन्ने सूत्र पनि छ। शास्त्रअनुसार नायक धीरललित, धीरप्रशान्त, धीरोदत्त, धीरोद्धत हुनुपर्ने उल्लेख गरिएको छ।भरतमुनिले नायकको गुण दर्शाउँदै भनेका छन्-यिनीहरू आकस्मिक घटना आइपर्दा नहडबडाउने, कुनै किसिमको बाधा अड्चनलाई पार गर्ने र अन्ततः त्यसमा विजय प्राप्त गर्नसक्ने हुन्छन्। भरतले सामाजिक दर्जाअनुसार नायकको वर्णन गरेका छन्।
 
धीरोद्धतहरू जो भगवान्‌हरू हुन्, राजाहरू धीरललित, मन्त्रीहरू धीरोदत्त, ब्राह्मण र व्यापारी धीरप्रशान्त हुन्छन् भनेर उल्लेख गरिएको पाइन्छ। यिनीहरूको गुणबारे असल, चरित्रवान्, सत्यवादी, बलवान्, भलाद्मी अनि शत्रुको कार्यबारे भेउ पाउने खालका हुन्छन् भनिएको छ।
 
...
नायकका विशेषता र गुणबारे भनिएका यी दुई भूगोलको कतिपय अवधारणालाई अहिलेसम्म पछ्याइएको देखिए पनि अहिले यसमा धेरै किसिमका परिवर्तन देखा परेको छ। मध्ययुगीन रंगमञ्च, कमेडिया डेल आर्ते, सेक्स्पेरियन रंगमञ्च हुँदै यथार्थवादी रंगमञ्चसम्म आइपुग्दा नायकका मानकहरू भत्किएका छन् र फेरि बनेका छन्।
 
विशेष गरेर युरोपको औद्योगिक क्रान्तिले ल्याएको परिवर्तनको प्रभावले दृश्य-श्रव्य विधामा ल्याएको परिवर्तन महत्वपूर्ण मानिन्छ।यही बेला क्यामेरा आविष्कार भएको र चल्ने चित्र भएको चलचित्रको विकास भएको थियो। चल्ने चित्रलाई पेरिसमा लुमिएर दाजुभाइले प्रस्तुत गरे।
 
यो सन् १८९५ डिसेम्बर २८ को दिन थियो। उनीहरूले ‘स्टेसनतिर आउँदै गरेको रेल', 'कारखानाबाट बाहिर आउँदै गरेका मजदुर' र ‘बगैंचामा पानी हाल्दै गरेको माली' चलचित्रको प्रदर्शन गरे।

मान्छे जुन घटनामा सहभागी थिए, त्यो घटनाबाट बाहिर बसेर त्यही घटना पर्दामा जस्ताको तस्तै घट्दै गरेको हेर्ने काम मानव इतिहासमा पहिलोपटक भएको थियो । र, विश्व सिनेमाको इतिहासले चार्ली चाप्लिनजस्तो अति सानो कद तर असाधारण प्रतिभालाई नायकका रूपमा देख्‍न पायो।
 
यो त्यस्तो काल थियो जुन समयमा चित्रकला स्टुडियोबाट मुक्त आकाशमा निस्केको थियो। साहित्य, चित्रकला र सिनेमाका विषय राजा महाराजा, सामन्त, कुलिनहरूको घेराबाट निस्केर मध्यमवर्ग या मजदुर वर्गको हुन थाल्यो जो समाजमा क्रमशः एउटा शक्तिशाली वर्ग बनेर उदाउँदै थियो।
 
ट्रेनमा बसेर कतै हिँडिरहेका किसान, आलु खाइरहेका मानिस, देहातका खेत खलिहान, सहरभित्रका भोक र महामारी, वेश्यावृत्ति, स्थानान्तरण र नस्लवादी समस्या, मिलमा काम गर्दै गरेका मजदुर, ब्याले नर्तकी, दैनिक जीवनमा देखिने मान्छेका ससाना कार्यहरू आदि चित्रकला, साहित्यकला र अन्य       श्रव्यदृश्य माध्यमका विषय बन्न पुगे र यसले नायकको पुरानो छवि (राजा महाराजा, बहादुर लडाकु, अत्यन्त धनी र कुलीन, आदर्श मान्छे)लाई भत्कायो।
...
भेत्तरियो देसिकाको 'बाइसाइकल थिफ'मा आफ्नो साइकल हराएपछि जागिर नपाउने डरले साइकल खोज्न हिँड्ने र अन्ततः आफ्नो साइकल नपाएपछि अर्काको साइकल चोरेर हिँड्ने मुख्य पात्र एउटा नयाँ सौन्दर्य बोकेको नायक थियो।
 
आदर्शवादी, एक आयामी चरित्र भएका नायकहरू युरोपिया सिनेमाबाट बिस्तारै गायब भयो र यसको प्रभाव त्यहाँको कला, संगीत साहित्यमा पनि पर्‍यो। यसको धेरथोर असर नेपाली साहित्य र कलाका अन्य माध्यममा नपरेका होइनन्। नेपालमा बनेको पहिलो फिल्म 'आमा'को समयबाट यहाँसम्म आइपुग्दा फिल्म निर्माणको क्रमिक विस्तारले आज ५० वर्ष नाघिसकेको छ।
 
यसबीच हामीसँगै या पछि बनेका अरू देशका सिने उद्योगले आफ्नो मौलिक, कल्पनाशील, कलात्मक र निजत्वले भरिएका सिनेमा बनाएर आफूलाई दह्रो रूपमा उभ्याइसकेका छन्। उदाहरणका लागि इरानी, ताइवान, भियतनाम, टर्की आदिको फिल्मलाई लिन सकिन्छ।
 
उनीहरूले आफ्नो सिनेमामा बनाएको नायकको चरित्र सौन्दर्यमा धेरै नै विविधता भेटिन्छ। तर, हामी बलिउडको मूलधार सिनेमाले निर्धारण गरेको सिनेमाको 'ब्लु प्रिन्ट'को पछाडि लागेर सिनेमायी चेतना विपन्न सिनेमाहरू बनाउँदै आइरहेका छौं।
 
यसको पछाडि हाम्रो आफ्नै राजनीतिक, भौगोलिक, सांस्कृतिक कारणहरू छँदैछन्। साथसाथै भारतीय सिनेमाको 'हेजोमोनिक' प्रभावबाट आफ्नो सिने उद्योगलाई बाहिर राख्न नसक्नु पनि हो। र यो 'हेजोमोनी'को प्रभावले आज यत्तिकै हामीबीच जरो गाडेको होइन, यसका पछाडि लामो समयको गहिरो इतिहास छ।
 
बलिउड मूलधारको सिनेमाहरूको कथा भन्ने शैली र रूपको विकासलाई हेर्ने हो भने उनीहरू रामायण, महाभारत आदि ग्रन्थबाट गाइडेड देखिन्छन्। उनीहरूको सिनेमाको सौन्दर्यशास्त्र भरतमुनिले बनाएको नाट्यशास्त्रद्वारा प्रभावित मानिन्छ जसले सीधै आर्किटिपिकल चरित्रहरूको निर्माणमा जोड दिन्छ। भन्नाले उनीहरू राम्रो नायक देखाउन रामजस्तै र नराम्रो खलनायक भन्न रावणजस्तै या राम्री नायिकाभन्दा सती सावित्रीकै उदाहरण दिने गर्छन्।
 
यो वर्गीकरणले सीधै कि कालो, कि सेतो चरित्र भन्ने भावनाको सानो रङको घेरोलाई मात्र जनाउँछ। के हामीसित अरू रङ हुँदैनन्? कालो र सेतो मिक्स भएर आउने खैरो (ग्रे सेड) पनि त होला नि, हैन र? तर, राज्यले अहिलेसम्म प्रवद्र्धन गर्दै आएका धेरै सिनेमामा यही बलिउडियन प्रभाव देखिन्छ।
 
यसैले नेपाली सिनेमाको पहिलो फिल्म नायक 'शिवशंकरदेखि शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल'सम्म आइपुग्दा चलचित्रमा नायकको चरित्र निर्माण बहुआयामिक नभएर एक आयामिक देखिन्छन् र स्थूल सतहमा देखिने उनीहरूको रंग-रूपबाहेक चरित्रको गहिराइमा हुने भावनाको सूक्ष्मताचाहिँ गायब नै हुन्छन् र मेलो ड्रामेटिक छन्।
 
जीवनभन्दा ठूला र अतिरञ्जनाले भरिएका चरित्रमा छिर्नुभन्दा पनि आफू कसरी राम्रो देखिन्छु भन्ने कुरामा 'कन्सस' छन् हाम्रा नायक। नायकले पुलिसको भूमिका गर्दा कपाल नकाट्नु, गाउँबाट सहर आएको नायकले एकैचोटि राम्रो मोटरबाइकमा नायिकालाई पछाडि राखेर कुदाउनु, गाउँकी सोझी गरिब केटीको चित्रण गर्दा बाक्लो मेकअप गरेर सुन्दर देखाउने कोसिस गर्नुजस्ता हजार उदाहरण हाम्रो सिनेमामा भेट्न सक्छौं जुन अलकति पनि विश्वसनीय देखिँदैन।
 
हामीले देखेका र पढेका पनि छौं— 'गान्धी' सिनेमा खेल्ने बेलामा यसका नायक बेन किंग्सले आफ्नो शरीरको २० पौन्ड तौल घटाएका थिए र आफ्नो कपाल मुण्डन गर्नुका साथै चर्खाबाट कपास निकाल्न सिकेका थिए। 'द लास्ट अफ द मोहिकन्स' भन्ने फिल्म गर्नका लागि यसका नायक डेनिएल डे लुइस ती खेत र जंगलमा गएर बस्ने गर्थे जहाँ उनले गर्ने चरित्र बस्थ्यो । उनले त्यो भूमिका गर्नका लागि माछा मार्ने, सिकार खेल्ने कुरा सिके।
 
उनी चरित्रमा रहिरहन सुटिङ अवधिभर काँधमा राइफल बोकेरै हि“ड्थे र ‘ग्यांग्स अफ न्युयोर्क'मा उनले आफ्नो चरित्रलाई विश्वसनीय बनाउन न्युयोर्कमा बोलिने लवजमा लगातार अभ्यास गरे। आफूलाई निमुनिया भएको जानकारी पाउँदा पनि तातो कोट लगाउन मानेनन्। उनी सुटिङ अवधिभरि त्यही लुगामा थिए जुन उनको चरित्रलाई भनेर दिइएको थियो।
 
घुमाइफिराई हामीकहाँ ‘सत्यम्, शिवम् सुन्दरम्'को मान्यताले जरो गाडेको देखिन्छ। नाक सुलुत्त मिलेको, ठूला आँखा, अग्लो, ज्यान मिलेको सुुन्दर मान्छेमात्र नायक हुन्छन् भन्नु एक किसिमले मुख्य धारको बलिउडियन लिगेसी हो।

जब कि नेपाल बहुजातीय, बहुभाषीय जनता बसोबास गर्ने देश हो भन्ने कुरालाई चलचित्र बनाउनेहरूले बिर्सनु हुँदैन। नत्र भरतको नाट्यशास्त्रमा निषेध गरेझैं आदिवासी, दलितहरूले आफूलाई कहिल्यै नायक देख्न नपाउने भए।
 
यस्तै सामान्य कद-काँटी भएका राम्रा अभिनय गर्ने अभिनेताहरू नायक हुन कहिल्यै नपाउने भए र चलचित्रमा विविधता पनि नआउने भयो। नायक भनेको त त्यो व्यक्ति हो जसको सेरोफेरोमा कथा घुम्छ। कथाको नायक कुनै अन्य ग्रहको एक्स्ट्रा टेरिटिएल, छिमेकमा बस्ने एउटा कुप्रो बूढो, सामान्य र असामान्य, हेर्दा औसत लाग्ने-नलाग्ने जो पनि हुनसक्छ।
...
प्रताप सुब्बाले निर्देशन गरेको ‘परालको आगो', नीर शाहको 'वासुदेव', तुलसी घिमिरेको 'बलिदान' आदि त्यस्तै सामान्य तर फरक जीवन बा“चिरहेकाहरूका नायकको फिल्म थियो।
 
तर, छिरिङ रितार शेर्पाको ‘मुखुण्डो', नवीन सुब्बाको 'नुमाफुङ', भूषण दाहालको 'कागबेनी', मनोज पण्डितको 'दासढुंगा', प्रशान्त रसाइलीको 'आचार्य', दीपक रौनियारको 'हाई वे', सुवर्ण थापाको 'सुनगाभा', राम गुरुङको 'कबड्डी', निश्चल बस्नेतको 'टलकजंग भर्सेस टुल्के', मेरो निर्देशनमा बनेको 'फिटकिरी' आदि केही त्यस्ता चलचित्र हुन् जसमा नायकत्व नवीन कलेवर र सौन्दर्यमा व्यक्त हुने कोसिसमा छन्।
 
नत्र धेरै फिल्ममा नायकको नायकत्व दुईचारवटा मारधाड, एकदुई आइटम गीत, फूलबारी अथवा डिस्को थेकको नचाइ, पारिवारिक, प्रेमकथा र रोनाधोनामा नै पुगेर सकिएका छन्।
 
पछिल्ला वर्षमा केही यस्ता सिनेमा पनि बनेका छन् जसमा कथा भन्ने पुरानो शैली जस्तै— पारिवारिक कथा, एक्सन, प्रेम गीतलाई एउटै भाँडामा राखेर पकाउने शैलीबाट मुक्त हुने कोसिस गरेको भेटिन्छ। यसले गर्दा नायकको भूमिकामा काम गर्ने शैलीमा परिवर्तन देखा परेका छन्।
 
यो निश्चय पनि नेपाली चलचित्रका लागि सुखद कुरा हुन्। यी नायक आफ्नो भूमिकालाई कसरी सजीव बनाउने, बोल्ने संवादको भित्री अर्थ (सब टेक्स्ट)लाई कसरी प्रभावकारी बनाउने, पात्रको लवज, लवाइखवाइ, सारारिक भाषा आदिमा कसरी काम गर्ने भनेर सोच्छन्।
 
यिनका कामको क्वालिटीले स्पष्ट पारेको पनि छ। दयाहाङ राई, विल्सनविक्रमजस्ता भिन्न रूपरंगका मानिने कलाकारलाई मूलधारे फिल्मले स्वीकार्नु, सौगात मल्लजस्तो साधारण देखिने कलाकार नायकको भूमिकामा देखिनु यसका पछिल्ला उदाहरण हुन्।
 
यसो हुनुमा फिल्म-मेकरहरूको पनि महत्वपुर्ण भूमिका छ। किनभने नेपाली चलचित्रभित्र निजत्व, कल्पनाशीलता, कलात्मकता र कथा भन्नका लागि चाहिने रिसर्चमा काम गरिनुुपर्छ भन्ने बोधले महत्व पाउन थालेको छ।
 
निश्चय पनि आउँदा दिनमा नेपाली नायकका नयाँ आयाम र सम्भावनाका ढोकाहरू खुल्दै जानेछन्। विचार र शिल्पमाथि नवीन कामहरू सुरु हुनेछ। नेपाली सिनेमामा नेपालीपन र नेपाली सिनेमायी भाषाको खोजी हुनेछ। र, नेपाली चलचित्रले नायकको चित्रणमा विविधता र नयाँ सौन्दर्य प्राप्त गर्नेछ।
 
यो सौन्दर्य त्यतिखेर प्राप्त हुनेछ जब हामी हाम्रा सिनेमामा समाजको अन्तरविरोध र समयको कथा आगाडि लिएर आउनेछौं। जब हामीले देखेभोगेका पात्रलाई कल्पनाशील, वैचारिक र रचनात्मक रूपमा फिल्ममा लिएर आउनेछौं, त्यति बेला एउटा असल नायकको जन्म हुन्छ।
 
जब सिनेमाको आलेखमा 'राउन्ड सेप'को चरित्र चित्रण हुनेछ, जुन चरित्रमा भावनाको लम्बाइ, गहिराइ, उचाइ र मोटाइ हुन्छ, त्यसलाई आकार दिनसक्ने रचनात्मक क्षमता भएका निर्देशक अनि त्यो निर्देशकको चाहना बुझ्नसक्ने निपूण कलाकारको जन्म हुन्छ।

23 dislike 1449

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.