Font   font-increse   font-dicrese

१५ करोडको बजार -यज्ञश - यज्ञश
१४ फागुन (काठमाडौं)

'सरकारले गतिलो अग्रसरता नलिने हो भने हाम्रो फिल्म उद्योग डुब्छ, हामीले यसरी फिल्म बनाउन सक्दैनौं,' दुई वर्षअघि आफ्नो फिल्म 'उमा'को प्रदर्शन तयारीका बेला निर्देशक छिरिङरितार शेर्पाले भनेका थिए । त्यसयताको दुई वर्षमा फिल्म उद्योग डुबिहालेको त छैन तर वर्षेनी जति संख्यामा फिल्म असफल भएका छन्, लगानीलाई आधार मान्दा ३० करोडभन्दा बढी रकम डुबेको छ ।

 

Photo : Yangesh's facebook



गत दुई वर्षमा मुश्किलले १० फिल्मले आपmनो लगानी उठाएको विवरण वितरकहरुले दिन्छन् । केही चलेका फिल्मलाई उदाहरण मान्ने हो भने फिल्मको प्रचारसहितको खर्च जोड्दा एउटा फिल्ममा सरदर साठीदेखि असी लाख खर्च हुने गरेको पाइन्छ । तीस पैतीस लाखजतिमा बन्ने अधिकांश फिल्मले दसदेखि बीस लाखमात्रै उठाउने गरेको पाइन्छ ।

रमाइलो तथ्यचाहिँ के छ भने यही अवधिमा हिन्दी फिल्मको नेपालमा बजार भने बढिरहेको छ । एक वर्षअघि हिन्दी फिल्म 'धुम ३'ले नेपालमा ७ करोडजति कमाइ गरेको थियो । यो वर्ष आएको 'पिके'ले १० करोडभन्दा बढीको कारोबार गरेको वितरकहरु बताउँछन् । करिब यति नै कारोबार नेपाली फिल्म 'कोहिनुर'ले पनि गरेको छ । यसबाट के देखिन्छ भने नेपालमा फिल्मको बजार निकै ठूलो हुनसक्छ । र, निकट भविष्यमा नेपाली फिल्मले के-के फड्को मार्नसक्छ भन्ने कुरा यही तथ्यांकसँग जोडिएर आउँछ ।

किन अरु फिल्मले 'कोहिनुर'ले जति व्यापार गर्न सकेनन् ? अभिनेता श्रीकृष्ण श्रेष्ठको असामयीक निधनले यो फिल्म हेर्न दर्शक ओइरिएका मानिएको छ । कारण जेसुकै भए पनि फिल्मले दर्शकलाई हलसम्म तान्न सक्ने त रहेछ ! नेपालमा फिल्म हेर्ने मानिस नै नभएको त होइन रहेछ ! सवाल मानिसहरुलाई हलसम्म कसरी तान्ने भन्ने हो ।

अहिलेको स्थितिमा नेपाली फिल्म बजारमा नेपाली फिल्मलेभन्दा धेरै हिन्दी फिल्मले कारोबार गर्दै आएका छन् । आउने पाँच दस वर्षमा केही राम्रा नेपाली फिल्म बन्ने र प्रदर्शन व्यवस्थामा सुधार आउने हो भने नेपाली फिल्मले हिन्दीलाई उछिन्न सक्छन् । ठूला सहरहरुमा बढिरहेका मल्टिप्लेक्सका कारण फिल्मको बक्स अफिस कलेक्सन बढ्ने देखिन्छ । तर, यस्ता हलहरुसम्म दर्शक तान्न सक्ने फिल्मको अभाव हुने हो कि भन्ने खतरा छ । 'अहिले नै हेर्नुभयो भने मल्टिप्लेक्समा धेरै शो दिन मिल्ने कति फिल्म बनेका छन् ? अहिलेजस्तो वर्षमा दुई-तीनवटा फिल्मले मात्रै मल्टिप्लेक्समा राम्रो कमाएर पुग्छ ?' फिल्म वितरकहरु प्रश्न गर्छन् ।

फिल्म निर्माण डिजिटल प्रविधिमा गएपछि सानो लगानीमा मौलिक विषयमा फिल्म बनाउने क्रम सुरु भएको मानिन्छ । यस्ता केही फिल्मले सफलता पनि पाएका छन् । झोला, साँघुरो, कबड्डी र टलकजंग भर्सेस टुल्केलाई यसको उदाहरण पनि मानिन्छ । 'यत्तिकै फिल्म बनाएर अब हामीलाई पुग्दैन । यत्तिकै व्यापार गरेर हिन्दी फिल्मलाई उछिन्न सकिदैन,' फिल्म निर्देशक एवं प्रदर्शक भास्कर ढुंगाना भन्छन् ।

ढुंगाना फिल्मको बजार विस्तार बारे चलिआएका विमर्शभन्दा फरक कुरा सुनाउँछन् । उनको भनाई छ, 'यदि हिन्दी फिल्मको बजार नेपालमा १० करोड हो भने त्यति नै गुणस्तरको फिल्म बनाउन सक्ने हो भने नेपाली फिल्मले १५ करोड कमाउन सक्छ ।' यो फुर्मलामा नेपाली फिल्मलाई करको पनि फाइदा छ । विदेशी फिल्मलाई लाग्ने १५ प्रतिशत मनोरञ्जन शुल्क नेपाली फिल्मलाई लाग्दैन । 'यदि हामीले १० करोडको बजार बनाउन सक्ने हो भने एउटा फिल्ममा २ करोड लगाउन जो पनि तयार हुन्छ,' उनी भन्छन् ।

पहिले कथा अनि बजार

यसैसँग आउँछ, बजार बढाउनका लागि के-के गरिनु पर्छ त भन्ने प्रश्न ? यसको उत्तर फिल्म समीक्षक र केही निर्देशकहरुले वर्षौं पहिलेदेखि दिँदै आएका छन् । त्यो हो, फिल्मको विषयवस्तु, स्वादका साथै प्राविधिकरुपमा गुणस्तरमा सुधार । यो सुधारका लागि धेरैजसो निर्माता निर्देशकहरु लगानीलाई अगाडि सार्छन् । 'तीस पैतिस लाखको लगानीमा हिन्दी फिल्मसँग प्राविधिक रुपमा पनि जुध्न सक्ने फिल्म बनाउन सकिदैन,' फिल्म निर्देशक एवं पपर्कन डिस्टिब्युर्टस्का प्रचण्ड श्रेष्ठको भनाई छ । उनी भन्छन्, 'नेपालमा मल्टिप्लेक्सको संख्या बढ्दै जाने र हाम्रो फिल्मको प्राविधिक गुणस्तर घट्दै जाने हो भने त्यसको फाइदा हिन्दी फिल्मलाई नै हुनेछ । हिन्दी फिल्मको बजार विस्तारबाट फाइदा लिनका लागि हामी पनि एक स्तर माथि चढ्नै पर्छ ।'

गत वर्ष 'कबड्डी', 'टलकजंग भर्सेस टुल्के' र 'जेरी'जस्ता फिल्मको सफलतालाई अघि सारेर फिल्ममा लगानीको कुरालाई गौण मान्न थालिएको छ । अझै धेरैले त सानो बजेटमा बनेर पनि तीन करोडको कारोबार गरेको 'चपली हाइट'लाई उदाहरणका रुपमा अघि सार्ने गरेका छन् । फिल्म वितरकहरु यी सफलतालाई अपवाद मान्दछन् । 'यिनका सफलता देखेर मान्छेहरु फिल्म बनाउन अग्रसर हुन्छन् अनि डुब्छन् । यसो हेर्दा यी फिल्म त बल्छी जस्ता देखिन्छन्,' एक फिल्म वितरकले भने ।

फिल्म व्यापारमा भइरहेको करोडौंको घाटा रोक्नलाई फिल्मको बजार विस्तार हुनुपर्छ र त्यसका लागि फिल्मको स्तोरनोति हुनुपर्छ भन्नेमा सबै एकमत छन् । फिल्महरुले भोगिरहेको असफलताको चर्चा धेरै भए पनि फिल्मको गुणस्तरको चर्चा भने कम हुने गरेको छ । 'पहिले बजार अनि फिल्म होइन, पहिले राम्रो फिल्म अनि मात्र व्यापार हो । फिल्म राम्रो नभई बजार बढ्दैन भन्ने कुरा बुझ्नु आवश्यक छ,' फिल्म निर्देशक अनुप बराल भन्छन् ।

फिल्मको बजार बढाउन र व्यापार सुनिश्चित गर्नका लागि फिल्मको गुणस्तर राम्रो हुनुपर्छ भन्नेमा सबै एकमत छन् । फिल्मको गुणस्तर भनेको त्यसले लिने विषय, त्यो विषयलाई प्रस्तुत गर्ने शैली, अभिनयदेखि छायाँकन, सम्पादन र ध्वनीसम्मका प्राविधिक कर्ममा निखार हो । 'हामी लामो समयदेखि मौलिक नेपाली फिल्मको कुरा गरिरहेका छौं तर यहाँ त गतिलो व्यापार गर्ने व्यवसायिक फिल्मकै खडेरी छ,' एक फिल्म समीक्षकले सुनाए । राजेश हमालको युग किनारा पुगेपछि अहिले कुनै पनि स्टारका नाममा फिल्म बिक्न छोडेको छ । 'हाम्रो बजार बढाउने हो भने व्यवसायिकरुपमा पनि धेरै व्यापार गर्नसक्ने कर्मशियल हिट फिल्महरु चाहिन्छ,' भास्कर भन्छन् ।

व्यवसायिक रुपमा धेरै सफल फिल्महरुले उद्योगका रुपमा बजारलाई बढाउन मद्दत गर्ने भए पनि नेपाली फिल्मको मौलिक पहिचानको मुद्दा पनि अर्कातिर छ । नेपाली फिल्मको आपmनो शैली र कलाको विकासको खोजी गर्नु पनि निकट भविष्यको अर्को काम हो । संसारभर फैलदों फिल्म बजार, ठूला फिल्म फेस्टिवल र डिभिडीको बजारसम्म पुग्ने गरी नेपाली मौलिक कथाहरुमाथि फिल्म बनाउन सकेको खण्डमा नेपाली फिल्मको बजार पनि विस्तार हुने समीक्षकहरु मान्दछन् । 'हामी बल्ल अलिअलि आफ्नो अनुहारको खोजीमा लागेका छौं, आफ्नो शैली र कलात्मकताको विकास गर्ने काम बाँकि छ,' निर्देशक निश्चल बस्नेत भन्छन् ।

वैकल्पिक स्वाद

बजारलाई शुद्ध व्यापारको अर्थमा मात्र नहेरी, पहुँचको अर्थमा बुझ्ने हो भने, नेपालको आधाभन्दा ठूलो बजार नेपाली फिल्मले पकड बनाउन सकेको छैन । आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने तराई क्षेत्रमा नेपाली फिल्मको बजार लगभग छैनभन्दा हुन्छ । वुटबल, नारायणगढ, विराटनगर र झापाबाहेक तराईका क्षेत्रमा नेपाली फिल्मको खास कमाइ हुँदैन । यी क्षेत्रका विषय र पात्रहरुलाई नेपाली फिल्मले लिने हो भने हिन्दी र भोजपुरी फिल्मको बजार नेपाली फिल्मले लिन सक्छ ।

यस्तै, नेपालमा नेपाली भाषा बाहेकका भाषामा पनि लगातार फिल्म बनिरहेका छन् । गुरुङ, मगरदेखि लिम्बु र नेपाल भाषामा समेत वर्षेनी फिल्म बन्छन् । यी कति फिल्मले नेपालभित्रकै खास क्षेत्रमा त कतिले नेपाल बाहिर हङकङ, बेलायतजस्ता ठाउँमा आफ्नो बजार बनाएका छन् । यी फिल्महरुको बजार र स्वादलाई विस्तार गर्न सके यो नयाँ क्षेत्र खुल्न सक्छ ।

यस्तै डायस्पोरा अर्को ठूलो बजारका रुपमा विकसित भइरहेको छ । युवा उमेरका धेरै नागरिकहरु वैदेसिक रोजगारीमा गएकाले डायस्पोरा नेपाली फिल्मको अर्को बजार बन्दै गएको छ । मलेसियाजस्ता केही ठाउँमा अहिले नै नेपाली फिल्मको डिभिडी बजार बनिरहेको छ । अस्टे्रलियादेखि अमेरिकासम्म हुने 'शो'हरु पनि छन् ।

यसरी हेर्दा आगामि समयमा नेपाली फिल्मको बजार विस्तार गर्न सक्ने र हुनसक्ने प्रशस्त संभावना देखिन्छन् । तर, त्यसको एउटै सर्त छ, फिल्मको गुणस्तरमा सुधार । 'हामीले अहिले बनाइरहेका कति फिल्म त बाहिरको ठूलो फिल्म फेस्टिवलमा देखाउन सकिदैन, प्राविधिक गुणस्तर नै पुग्दैन,' भास्कर भन्छन् ।

र, अर्थतन्त्र

फिल्म टापु होइन । यसैले देशको राजनीति र अर्थतन्त्रसँग यसको गहिरो सम्बन्ध हुन्छ । विषयका लागि राजनीतिक र सामाजिक व्यवस्था तथा व्यापारमा अर्थतन्त्रको ठूलो भूमिका हुन्छ । फिल्म बजारको विस्तारमा पनि देशको अर्थतन्त्रको संकुचन र फैलावटको भूमिका रहन्छ । भारतको उदाहरण लिने हो भने सन् २००३ मा सबभन्दा ठूलो लगानीमा बनेको फिल्म 'देवदास'को बजेट ५० करोड थियो । त्यसको दस वर्षपछि 'रा.वन' बन्दा यसको बजेट डेढ सय करोड पुग्यो । १९९० पछि सुरु भएको आर्थिक सुधारले ल्याएको आर्थिक उन्नतिको फाइदा बलिउडलाई भएको थियो । आर्थिक सुधार र अर्थतन्त्रको विकाससँगै बढ्न थालेको बलिउड फिल्म बजार बढ्दै गएर अहिले भारतभित्रै तीन सय करोडको बन्न पुगेको छ । गत वर्षको हिट फिल्म 'पिके'ले संसारभर गरी करिब साढे ६ सय भारुको कारोबार गर्‍यो ।

नेपाली फिल्ममा लागनी र बजारमा विस्तार हुन नसक्नुका पछाडि अर्थतन्त्रको खराब हालतको पनि भूमिका देखिन्छ । रोजगारी, उद्योग धन्दा र व्यापार व्यवसायका क्षेत्रमा प्रगति हुने हो भने त्यसको असर मनोरञ्जन क्षेत्रमा पनि पर्छ । अस्थिर राजनीति र कमजोर अर्थतन्त्रले अरु क्षेत्रलाई पनि अघि बढ्न तगारोको काम गर्छ ।

फिल्मको संख्या धेरै हुने तर व्यवस्थित बजार नहुँदा त्यसले विस्तारै फिल्मको गुणस्तरलाई कसरी कमसल बनाउँदै लैजान्छ भन्ने उदाहरण अफ्रिकी मुलुक नाइजेरियाको छ । भारतपछि संसारको दोस्रो धेरै फिल्म बनाउने देश नाइजेरियाका फिल्म हलमा प्रदर्शन हुँदैनन् । सस्तो मूल्यमा सिधै डिभिडीमा रिलिज गरिने यी फिल्मले हिट भएको खण्डमा नाफा पनि कमाउँछन् । यस्तो सस्तो रिलिज व्यवस्थाले फिल्मको विषय भूतप्रेम, मायाप्रेम, क्रिश्चियन धर्म प्रचार र बलिउडी नाचगानामा सिमित बनाइदिएको छ । तर, यसको अर्थ फिल्म निर्माणमा कुनै किसिमको छेकवार वा नियन्त्रण हुनुपर्छ भन्ने होइन, बजार व्यवस्थापन गर्नुपर्छ भन्ने मात्रै हो ।

फिल्म व्यापार मात्र नभई कला र अभिव्यक्तिको माध्यम भएकाले यसमा कलात्मकता र वैचारिकताको खोजी पनि गरिन्छ । दर्शकमा वैचारिक हलचल पैदा गर्नसक्ने वा कलात्मकता प्रदर्शन गर्नसक्ने कृतिलाई नै फिल्म इतिहासमा राम्राको उपमा दिइएको छ, धेरै व्यापार गर्नेलाई होइन । यसैले जतिसुकै व्यापारको कुरा गरे पनि यसलाई विषय र कलाले नै निर्देशित गर्छ । यसैले आउने एक दशकमा गतिला विषय र कलात्मक अभिव्यक्तिको खोजी गरेर गतिलो बजार व्यवस्थापन गर्न सके नेपाली फिल्मले आफ्नो बजारमा पकड बनाउनुका साथै विदेशी बजारतिर पनि चिहाउन सक्नेछ ।

साभार : कान्तिपुर दैनिक

1 dislike 43

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.