Font   font-increse   font-dicrese

फिल्म क्रेडिटको सार्थकता - दीपेन्द्र लामा - दीपेन्द्र लामा
मेरोसिनेमा, ११ फागुन

फिल्मसम्बन्धी विद्वता छाँट्ने निर्माता, निर्देशक तथा कलाकारको जमात दिनहुँ बाक्लिँदै छ। पूरा संसार आफैँले धानेजसरी गफ दिन्छन् उनीहरू। जब कि धेरैजसोले फिल्मको सुरुवातमा देखाइने 'ओपनिङ क्रेडिट' कस्तो हुनुपर्छ भन्ने नै बुझेका छैनन्।

फिल्ममा क–कसले अभिनय गरेका छन्, उनीहरूलाई क्यामेरामा कैद गर्ने जिम्मेवारी कसले सम्हालेका छन्, उनीहरूले प्रस्तुत गर्ने कथा–संवादमा कसको कलम चलेको छ र सबैलाई निर्देशन गर्ने व्यक्ति को हुन् जस्ता जिज्ञासालाई 'ओपनिङ त्रे्कडिट'ले शान्त बनाइदिन्छ।

दर्शकलाई जानकारी दिनुमात्र 'ओपनिङ क्रेडिट'को उद्देश्य होइन। फिल्मको परिकल्पना र निर्माणदेखि प्रदर्शनसम्मको यात्रामा योगदान दिनेहरूका नामलाई सम्मानजनक स्थान दिनुसमेत यसको उद्देश्य हुन्छ। त्यसैले अभिनय गर्ने कलाकारका नामलाई उनीहरूले निर्वाह गरेको भूमिकाको आधारमा रोलक्रम मिलाएर उल्लेख गरिन्छ। त्यस्तै पर्दापछाडिका टेक्निसियनहरूका नामलाई चाहिँ उनीहरूका विधाको महत्त्वअनुसार अंकित गरिन्छ।

फिल्ममा जुन कलाकारको सबैभन्दा लामो वा केन्द्रीय भूमिका छ, उसैको नामलाई अगाडि लेखिन्छ। पर्दापछाडिका टेक्निसियन वा कलाकारका सन्दर्भमा चाहिँ फिल्मको निम्ति सबैभन्दा महत्त्वपूर्ण विधा मानिने निर्देशनलाई अन्त्यमा राखिन्छ, अर्थात् निर्देशकको नाम अन्त्यमा हुन्छ।

अन्तर्राष्ट्रिय रूपमा प्रचलित यो चलनलाई धेरैजसो नेपाली फिल्ममा अपनाइएको पाइँदैन। कतिलाई 'ओपनिङ क्रेडिट'को रोलक्रमबारे ज्ञान नै छैन त कतिले चाहिँ जानाजान मिच्ने गरेको पाइन्छ। फिल्म निर्माण प्रक्रियामा जो हाबी छ, उसैले रोलक्रम मिचेर आफ्नो नाम 'हाइलाइट' गर्छ।

२०६० को दशकमा राजेश हमालले अधिकांश फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरेका छैनन्। तर, अधिकांश फिल्ममा उनको नाम अरू कलाकारभन्दा अगाडि नै देखाएको पाइन्छ। वास्तवमा राजेश हमाल होइन, फिल्मको केन्द्रीय भूमिका निर्वाह गर्ने अरू कलाकारको नामलाई अगाडि उल्लेख गरिनुपर्थ्यो।

बलिउडमा आमिर खानको नाम र प्रतिष्ठा भव्य छ। उनले सन् २००७ मा 'तारे जमिन पर' फिल्म निर्देशन गरेका थिए। फिल्ममा उनको पनि लामो अभिनय थियो। तर, उनले 'ओपनिङ क्रेडिट'मा आफ्नो होइन, केन्द्रीय भूमिकामा अभिनय गर्ने बालकलाकार दर्शिल सफारीको नामलाई सबैभन्दा अगाडि लेखिदिएका थिए।

नेपाली फिल्ममा अवस्था ठीक उल्टो छ। सुरज सुब्बाद्वारा निर्देशित फिल्म 'बाटोमुनिको फूल'मा गायक यशकुमारले केन्द्रीय भूमिका निर्वाह गरेका छन्। नाम चाहिँ सबैभन्दा अगाडि रेखा थापाको छ। फिल्म क्षेत्रमा यश कुमारभन्दा रेखा सिनियर भएकोले यसो गरिएको हो भन्ने तर्क निर्देशक सुब्बाले दिन सक्छन्।

पर्दापछाडि काम गर्ने कलाकारको रोलक्रम पनि नेपाली फिल्ममा मनपरी पाइन्छ। पर्दापछाडिका नाम उल्लेख गर्दा जुन विधाको नाम अगाडि लेखिन्छ, त्यसलाई कम महत्त्व दिएको मानिन्छ।

सबैभन्दा अन्त्यमा निर्देशक, त्योभन्दा अघि निर्माता अनि लेखकको नाम हुने गर्छ। लेखनलाई तेस्रो महŒवपूर्ण विधा मानिन्छ। तर, रेखा थापाले निर्माण गरेको फिल्म 'काली'मा लेखक शिवम अधिकारीलाई छैटौँ रोलक्रममा उल्लेख गरिएको छ। शिवमलाई भन्दा संगीतकार र गीतकारलाई प्राथमिकता दिएको पाइन्छ।

२०५० को दशकमा बनेका अधिकांश नेपाली फिल्ममा संगीतलाई निर्देशक र निर्मातापछि तेस्रो प्राथमिकतामा राखिएको पाइन्छ। जस्तो, राजकुमार शर्माद्वारा निर्देशित फिल्म 'लक्ष्मीपूजा'मा संगीतकार शम्भुजित बासकोटाको नाम अन्तिम तेस्रोमा राखिएको छ। २०६६ सालको फिल्म 'कहाँ भेटिएला'मा पनि शम्भुजितको नाम तेस्रो अन्तिममा छ।

फिल्ममा संगीतलाई तेस्रो महत्त्वपूर्ण विधा मानिँदैन। संगीतभन्दा लेखन, छायांकन र सम्पादन नै बढी महत्त्वपूर्ण विधा हुन्। त्यसैले विदेशका फिल्ममा संगीतकारभन्दा लेखक, छायाकार र सम्पादककै नामलाई 'हाइलाइट' गरिन्छ।

अत्यन्त प्रशंसित हिन्दी फिल्म 'उडान'मा लेखकको नाम अन्तिम तेस्रोमा राखिएको छ। संगीतबिना फिल्म बन्न सकिन्छ। तर, पटकथाबिना फिल्म बन्दैन। पटकथापछि छायांकन विधा बढी महत्त्वपूर्ण हो।

नयाँ फिल्मकर्मीले पनि यो वरियताक्रमलाई मिचेको पाइन्छ। निगम श्रेष्ठद्वारा निर्देशित 'छड्के' फिल्ममा छायाकार सञ्जय लामाभन्दा कलरिस्ट सुदीप श्रेष्ठको नामलाई महत्त्व दिएर पछाडि राखिएको छ। फिल्ममा कलरिस्टको भूमिका पनि महत्त्वपूर्ण हुन्छ, तर छायाकारको जति चाहिँ होइन।

कहिलेकाहीँ निर्देशकले आफ्नो नाम सकेसम्म दोहोर्‍याएर राख्न खोज्छन्। फिल्म 'धर्मा'मा निर्देशक दीपेन्द्र के खनालले आफ्नो नाम पटकथामा पनि छुट्टै राखेका छन्। जब कि पटकथा तथा निर्देशन भनेर एकैचोटि नाम राख्न सकिन्थ्यो। अरू व्यक्तिसँग मिलेर लेखेको अवस्थामा मात्रै निर्देशकको नाम दोहोरिन्छ।

फिल्म 'कहाँ भेटिएला'मा श्वेता खड्का नायिका नै हुन्। श्रीकृष्ण श्रेष्ठपछि उनकै नाम आउनुपर्ने हो। तर, बीचमा ४२ कलाकारका नाम आएपछि मात्र उनको नाम देखिन्छ। उनको नामलाई नवनायिका भनेर हाइलाइट नै गर्न खोजिएको हो। तर, निर्देशक शिव रेग्मीको ढंग नपुग्दा श्वेताको नाम ओझेलमा परेको छ।

'ओपनिङ क्रेडिट'लाई सन्तुलित बनाउन गाह्रो छैन। तैपनि नेपाली फिल्मकर्मीले यसप्रति किन ध्यान नदिएका हुन्? अचम्म लाग्छ। साभार : शुक्रबार साप्ताहिक

8 dislike 0

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
teenage
Voting Poll
Sorry, voting poll not found.